जापानमा नेपाली पुस्तक र गीत सार्वजनिक - sahityapost.com
जापान । फुजिनोमिया महानगरपालिकाको सभाहलमा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष प्रवेशको अवसरमा दुई नेपाली कार्यक्रम सम्पन्न भएका छन्। कार्यक्रममा स्रष्टा रिता महर्जन ऋतुको नियात्रा कृति ‘म्हगस्य खनागु देय् (सपनामा देखेको देश)’ तथा नेपाली म्युजिक भिडियो “यो मन त जहाँ गए नी” सार्वजनिक गरिएको हो। कार्यक्रममा फुजिनोमिया महानगरपालिकाका मेयर हिदे ताडा र नेपाली चलचित्रका नायक राजेश हमालले नेपालभाषामा लेखिएको नियात्रा कृतिको संयुक्त रूपमा सार्वजनिक गर्नुभएकाे थियाे । उक्त कृतिमा स्रष्टा महर्जनले केही समयअघि गरेको जापान भ्रमणका संस्मरण समेटिएको छ। जापानमा विगत चार दशकदेखि बसोबास गर्दै आएका प्रा. ई नरेश महर्जनको संयोजन तथा Fujinomiya Association for International Relationsको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा फुजिनोमिया महानगरका मेयरसहित मन्त्री, सांसद तथा उच्च पदस्थ व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ। सो अवसरमा सार्वजनिक गरिएको म्युजिक भिडियोमा नायक राजेश हमालको मुख्य भूमिका रहेको छ भने यसको निर्माण नरेश महर्जनले गर्नुभएकाे हाे । उक्त गीत युट्युबमार्फत हेर्न सकिने जानकारी निर्माता महर्जनले दिनुभएकाे छ ।