आफ्नो पार्टीका उपाध्यक्ष पक्राउ परेपछि हर्क साम्पाङले भने ‘प्रतिसोध भन्ने कुरो छ’ - www.sutranews.com
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टी गम्भीर विवादमा तानिएको छ। पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामालाई प्रहरीले काठमाडौंको कपनबाट पक्राउ गरी पाँचथर पठाएपछि विवादमा तानिएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार पाँचथरमा दर्ता विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार रहेका लामालाई मंगलबार नियन्त्रणमा लिइएको हो। सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार विश्वक्रान्ति, कुमार र देवराज लामा भनेर चिनिने ५० वर्षीय लामा लामो समयदेखि प्रहरीको खोजी सूचीमा थिए। प्रहरीका अनुसार लामा २०८१ भदौ १४ गते पाँचथरमा भएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा मुद्दा खेपिरहेका थिए। उक्त विस्फोटमा एक बालिकाको मृत्यु भएको थियो भने दुई जना गम्भीर घाइते भएका थिए। यही घटनापछि उनी फरार रहेका थिए। हाल पाँचथरमा दर्ता अर्को विस्फोटक मुद्दा विचाराधीन अवस्थामा रहेको भेटिएपछि सीआईबीले उनलाई थप अनुसन्धानका लागि पाँचथर पठाएको जनाएको छ। यसबारे प्रारम्भिक प्रतिक्रिया दिंदै मेयर हर्कले भने प्रतिसोध भएको बताए। सामाजिक संजालमा उनी लेख्छन् ‘के भएको हो, सो बुझेर जानकारी दिनेछौँ। कुरा बुझ्दा क्रान्तिको बेलाको कुरा भन्ने सुन्दैछु। प्रतिसोध भन्ने आको छ प्रारम्भिक।’