Redirecting...

चिनीको सट्टा सक्खर प्रयोग गरेर चियालाई बनाउन सकिन्छ स्वास्थ्यवर्द्धक - www.sutranews.com

चिनीको सट्टा सक्खर प्रयोग गरेर चियालाई बनाउन सकिन्छ स्वास्थ्यवर्द्धक - www.sutranews.com
Source: sutr

काठमाडाैं । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले चियालाई स्वादिलो मात्र नभई स्वास्थ्यवर्द्धक बनाउने चिनीको सट्टा सक्खर प्रयोग गर्न सुझाव दिएका छन्।डा. अनिलका अनुसार सेतो चिनी पूर्ण रूपमा प्रशोधित वस्तु हो, जसमा क्यालोरीबाहेक भिटामिन, मिनरल्स वा फाइबर केही पनि हुँदैन। यसको निरन्तर प्रयोगले मोटोपना र मधुमेहजस्ता दीर्घकालीन रोगको जोखिम बढाउँछ। यसको विकल्पमा गुँडको प्रयोग निकै लाभदायक हुने उनको भनाइ छ। ‘गुडमा एन्टिअक्सिडेन्ट, क्याल्सियम, म्याग्नेसियम, आइरन, पोटासियम र भिटामिन-बी कम्प्लेक्स जस्ता शरीरलाई आवश्यक पर्ने खनिज तत्त्वहरू पाइन्छन्,’ डा. अनिल भन्छन्। चियापत्ती र गुँड दुवैमा एन्टिअक्सिडेन्ट हुने भएकाले तातो पानीमा यी दुईको मिश्रणले स्वास्थ्यमा दौब्बर फाइदा पुर्‍याउने उनले बताए। यद्यपि, गुडमा पनि क्यालोरी हुने भएकाले यसलाई पनि सन्तुलित मात्रामा नै प्रयोग गर्नुपर्ने उनको सुझाव छ। ग्यास्ट्रिकको समस्या र पाचन प्रणाली चिया पिउँदा ग्यास्ट्रिकको समस्या हुने गुनासो धेरैको हुन्छ। यसको समाधानका लागि पनि गुड उपयोगी हुनसक्छ। डा. अनिलका अनुसार गुँडले पाचन प्रणालीलाई सुधार गर्न मद्दत गर्छ। ‘यदि तपाईंलाई चियाले ग्यास्ट्रिक गराउँछ भने चिनीको सट्टा गुड राखेर पिउँदा यो समस्या कम हुनसक्छ,’ उनले भने। दुध चियामा पनि चिनीको सट्टा गुड राखेर पिउन सकिने उनले बताएका छन्। जाडोमा कागती, अदुवा र मरिचको प्रयोग चियामा अन्य प्राकृतिक मरमसला मिसाउँदा त्यसले औषधीको काम गर्ने डा. अनिलको तर्क छ। विशेषगरी जाडो मौसममा वा घाँटी दुखेको बेला चियामा कागती र गुड मिसाएर पिउनु फाइदाजनक हुन्छ। कागतीमा भिटामिन-सी र रोग प्रतिरोधात्मक क्षमता बढाउने तत्त्व हुन्छ। त्यस्तै, चियामा अदुवा र मरिच राख्दा यसले ‘एन्टि-इन्फ्लामेटरी’ को काम गर्छ। यसले श्वासप्रश्वास प्रणालीलाई बलियो बनाउनुका साथै घाँटीको संक्रमण र ‘सोर थ्रोट’ (Sore throat) मा राहत दिन्छ। शरीर अनुसारको चिया/कफी छनोट ग्रीन-टी र कफी स्वास्थ्यका लागि राम्रो मानिए पनि यो सबै व्यक्तिका लागि उपयुक्त नहुन सक्छ। डा. अनिलका अनुसार कसैलाई ग्रीन-टी खाँदा रिङ्गटा लाग्ने वा कफी खाँदा रक्तचाप र मुटुको धड्कन बढ्ने समस्या देखिन सक्छ। ‘कुनै खानेकुरा आफ्नो शरीरलाई सुट गर्छ कि गर्दैन भन्ने कुरा व्यक्ति आफैँले विचार गर्नुपर्छ,’ डा. अनिल भन्छन्, ‘यदि कुनै चिया वा कफीले अप्ठ्यारो महसुस गराउँछ भने त्यसलाई रोक्नु नै बुद्धिमानी हुन्छ।’ आफ्नो शरीरको प्रतिक्रिया बुझेर मात्र चिया वा कफीको प्रकार र मात्रा निर्धारण गर्न उनले सुझाव दिएका छन्।