Redirecting...

२४ सै घण्टा लेकसाइड खोल्ने पहल आफ्नै लागि घातक - nagariknews.nagariknetwork.com

२४ सै घण्टा लेकसाइड खोल्ने पहल आफ्नै लागि घातक - nagariknews.nagariknetwork.com
Source: ngrk

२०८० कात्तिक २२ मा उच्च अदालत पोखराले पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घण्टा खोल्न दिनु भनेर अन्तररिम आदेश गर्यो। लेकसाइडमा कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय कास्कीको नाममा अदालतले आदेश दिएको थियो। गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुदा नं. २५ मा काठमाडौंका पर्यटकीय क्षेत्र ठमेल, दरवारमार्ग सहित पोखराको लेकसाइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रमा २४ सै घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने बताइएको थियो। तर, त्यो कार्यान्वयन नभएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीलाई विपक्षी बनाएर रिट परेपछि अदालतले उक्त आदेश दिएको थियो। आदेश पाएपछि पर्यटन व्यावसायीले लेकसाइड २४ सै घण्टा खुला हुने भन्दै प्रचारप्रसार पनि गरेका थिए। कतिपय व्यावसायीलाई उक्त आदेशले राती अबेरसम्म व्यवासाय संचालन गर्न साथ मिलेको थियो। अदालतको आदेश मात्र नभई गण्डकी प्रदेशका मुख्यमन्त्रीहरुले पनि पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घण्टा खोल्न व्यवासायीलाई अनुरोध गरेका थिए भने सुरक्षा निकायलाई सुरक्षा प्रवन्ध गर्न निर्देशन पनि दिएका थिए। सबैको चाँसो र प्रशासनको ताकेतासँगै लेकसाइड २४ सै घण्टा खुलेको प्रचार भयो। तर, अहिले त्यही प्रचार व्यावसायीका लागि नै बोझ बनेको छ। पर्यटकले २४ सै घण्टा खुल्ने भनेर मध्यरातमा पनि सेवा माग गरेपछि व्यावसायीलाई व्यवस्थापनको सकस बनेको छ। सीमित व्यावसायीले मात्र त्यसको लाभ लिएको, तर बहुसंख्यक व्यावसायीले त्यो प्रावधानका कारण सकस खेप्नुपरेको व्यावसायीको भनाई छ। त्यसबाहेक रात्रीकालिन व्यवासायका कारण पछिल्लो समय सुरक्षा चूनौति थपिएको पनि उनीहरुको भनाई छ।होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन, ‘पोखरा २४ सै घण्टा खुल्ने भन्ने विषय प्रचार गरेर भ्रम फैलाइएको छ। लेकसाइडको रात्रीकालिन व्यावसाय २४ सै घण्टा खुल्ने भन्ने विषय अहिले पोखराको पर्यटनका लागि नै घातकसिद्ध हुन पुगेको छ।’ विभिन्न सरोकारवाला निकाय मिलेर बनाइएको ४२ बुँदे आचारसंहिता पालना गर्न सक्ने व्यावसायीले मात्र २४ सै घण्टा व्यवसाय खोल्न पाउने व्यवस्था रहेपनि सिंगो लेकसाइड र पोखरा रातभरि खुल्ला भन्ने हल्ला र भ्रम चलाइएको उनले बताए। ‘पोखरा रातभरि खुल्ला भन्ने फैलिएको भ्रमका कारण कतिपय आन्तरिक पर्यटकले राति दुईबजे पनि खाना अर्डर गर्ने गरेका छन,’ उनले भने, ‘मध्यरातमा जुनसुकै बेला भित्रिएका पाहुनाले सेवा माग गर्दा दिन सक्ने अवस्था छैन। सेवा नदिन पनि भएन। सेवा दिनका लागि अतिरिक्त कर्मचारी व्यवस्थापन गर्न सकस छ।’ रातीको समयमा पनि कर्मचारी राखेर व्यवासाय संचालन गर्ने हो भने व्यावसायीले तीन सिफ्टमा कर्मचारी व्यवस्था गर्नुपर्ने उनले बताए। ‘आठघण्टाको दरले कर्मचारी परिचालन गर्नुपर्छ। नत्र रातभरि सेवा दिन सक्ने अवस्था छैन,’ उनले भने, पर्यटकहरु रातभरि खुल्ला भनेको होइन, भनेर गुनासो गर्छन, हामी सेवा दिन सक्दैनौ।’ पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घण्टा खोल्ने व्यवस्थाले पोखराको पर्यटनमा कायापलट हुन्छ जस्तो गरि उ बेला प्रचार गरिए पनि अहिले त्यस्तो केही नभएको उनले बताए।उनका अनुसार रात्रीकालिन व्यावसाय संचालन गर्नका लागि कास्की प्रशासन र व्यावसायी समेत मिलेर आचारसंहिता बनाएपनि त्यो पालना भएको छैन। ‘अनुगमन गर्ने भनिएपनि भएन। पूर्वाधार बिना यत्तिकै लागु गर्न सकिने अवस्था थिएन, तर जर्बजस्ती लागु गरिएको त्यो प्रावधानले व्यावसायीलाई साथ मिलेन,’ उनले भने, ‘व्यवस्थित भनियो, तर, झनै लथालिंग भएको छ।’ पोखरा घुम्न आएका पाहुनाले लेकसाइड सबै खुल्ने भन्ने बुझेकोले व्यावसायीमाथि दवाव थपिएको अध्यक्ष सुवेदीले बताए। ‘डान्स र डिस्कोमा रमाएर मध्यरातमा होटल फर्केका पाहुनाले होटलमा आएर खाना अर्डर गर्दा व्यावसायीलाई सकस बन्यो। पोखरा २४ सै घण्टा खुल्ला हो भनेर मध्यरातसम्म खुल्ने भनेर बुझियो,’ उनले भने, ‘हुन त होटलले त कुनैपनि बेला सेवा दिन सक्छन। तर, होटलमा बास बसेका पाहुन घुम्न निस्कने र मध्यरात मातेर फर्केपछि ती पाहुनालाई राती सेवा दिन सहज छैन। पहिल्यै जानकारी दिएर व्यवस्थापन गर्नु फरक कुरा हो।’ पर्यटकीय सेवा २४ सै घण्टा आवश्यक नभएको उनले बताए। ‘पुरानो निर्णयलाई लागु गर्न सक्ने अवस्था नभएपछि यसलाई पूर्नमुल्यांकन गर्नुपर्ने उनले बताए। ‘अहिले २४ सै घण्टाको लाभ आधादर्जन डिस्को र क्लवले लिएका छन। तर, अरु कसैलाई लाभ छैन,’ उनले भने, ‘केही व्यवासायीले त्यो बेला नबुझेका कारण यो समस्या थपिएको हो। आचारसंहिता लागु भएको लामो समय बितिसक्दा अहिलेसम्म एकपटक पनि अनुगमन भएको छैन।’ होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि ४२ बुँदे आचारसंहिता पालना गर्दै एउटाले व्यावसाय गर्दा अर्काेलाई बाधा नपुग्नेगरि व्यावसाय संचालन गर्ने भनिएपनि पालना नभएको बताउँछन। उनका अनुसार अदालतले लेकसाइडलाई २४ सै घण्टा खोल्नु भनेर आदेश दिएपछि स्थानीय प्रशासनको संयोजनमा ४२ बुँदे आचारसंहिता बनाएको थियो। त्यसले लेकसाइडलाई व्यवस्थित गर्ने भनिएको भएपनि हुन नसकेको उनले बताए।‘अरुलाई असर नपर्नेगरि २४ सै घण्टा संचालन गर्ने भनिएको हो। तर, अहिले त्यो वातावरण छैन। मध्यरातमा मोटरसाइकलको डरलाग्दो आवाज निकालेर गुडाउने गर्दा स्थानीलाई असर परेको छ। बालबालिका, वृद्धवृद्धा देखि पाहुना सुत्न पाएका छैनन,’ पराजुली भन्छन, ‘हुन त यो आचारसंहिता लागु गर्दा पहिले पनि सबै सरोकारवाला खुसी थिएनन। तर, एकपटक प्रयास गरौं भनेपनि कार्यन्वयन गरिएको हो। व्यवस्थित तरिकाले संचालन गर्ने भनिएपनि हुन सकेन।’ लेकसाइड पछिल्लो समय अशान्त बनेको उनले बताए।‘रातीमा मोटरसाइकलको डरलाग्दो आवाज सुनेका बिदेशीले बिहान उठेर डरत्रासको कुरा गर्छन। जुन अपेक्षाका साथ २४ सै घण्टा खोल्ने भनिएको हो। तर, व्यवासायले लाभ लिएनन,’ उनले भने, ‘अनुगमन पनि भएन। व्यावसायीमा अनुशासन पनि भएन। अब परिमार्जन गर्नुपर्छ। अब लेकसाइड २४ घण्टा खोल्न आवश्यक छैन।’रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका पूर्व अध्यक्ष नरेश भट्टराई पनि पोखरालाई पर्यटकीय राजधानी बनाइएको र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पाहुना आउने अपेक्षासहित यो पहल थालिएपनि अनुगमन कतैबाट नभएकोले अहिले समस्या परेको उनले बताए।‘पछिल्लो समय त सुरक्षा चूनौति झनै बढेको छ । २४ सै घण्टा खोल्ने भनेपछि मान्छे राती अबेरसम्म खाना खोज्ने भए। तर, व्यवस्थापन गर्न सहज भएन,’ उनले भने, ‘कतिपय व्यवासायीले व्यवस्थापन गरेका छन। तर, सीमित व्यावसायीले मात्र प्रभावकारी तरिकाले व्यवासाय संचालन गरे । धेरैतिर समस्या बढेको छन। त्यसैले यसलाई पुर्नबिचार गर्ने बेला भएको छ।’ भविश्यमा अन्तर्राष्ट्रिय उडान पर्याप्त भएर पाहुना थपिएको अवस्थामा संचालन समय बढाउन सकिने उनले बताए। ‘राती २ बजेसम्म मात्र गर्ने की भन्नेमा व्यवासायीले चाँसो लिएका छन। अहिलेसम्म व्यवस्थापन नै भएन। कसले के गर्ने भन्ने नै भएन। सुरक्षा चूनौती थपिएको छ,’ भट्टराईले भने।