Redirecting...

भएन च्छो रोल्पा यात्रा भौतिक मात्र … - sahityapost.com

भएन च्छो रोल्पा यात्रा भौतिक मात्र … - sahityapost.com
Source: shpt

म खोजीमा थिएँ च्छो रोल्पा गर्मी महीनामा जाने साथीहरूको । अग्लो ठाउँमा रहेको त्यस ठाउँ हिउँदमा जान कठिन नै हुन्छ । मे महीनाको अन्तिमसम्म गइएन भने यस पटकलाई माया मारी अर्को सिजन कुर्नुपर्ने हुन्छ भन्ने छटपटी थियो । मिल्ने साथीहरू नजुट्दासम्म जाने कुरा आएन एक्लै । आफ्नो प्रस्तावमा पट्याउन सकिने सम्भावित पात्र सम्झँदै जाँदा विमल, शिशिर र सिंहबहादुरको नाम दिमागमा आयो, र फोन गरेँ । विमल जागिर खाँदाको, शिशिर ओभरसियर पढ्दाको र सिंहबहादुर पूर्वी टिमोरमा जागिरको सिलिसलामा बनेका साथीहरू । विमल र शिशिर म जस्तै इन्जिनियर हुन् भने सिंहबहादुर हुन् सशस्त्र प्रहरीका निवृत्त महानिरीक्षक । मेरो प्रस्तावमा उनीहरू सहमत भए । ‘च्छो रोल्पा नै किन जाने ?’ भन्ने प्रश्न मेरो मनमा आएको थियो । प्रस्ताव गर्दा साथीहरूले सोधे पनि । च्छो रोल्पा हिमताल विगतमा निकै चर्चामा आएको थियो । हिमाली उचाइमा ट्रेकिङ जान यो गन्तव्य आकर्षक छ भन्ने सुनेको थिएँ । च्छो रोल्पा फुटे ठूलो जलउत्पन्न प्रकोप हुन सक्छ भनी विगतमा खुब डर फैलाएको हिमताल हो यो । समाचार सुन्ने, पढ्ने तर यसको नाम थाहा नहुने – यो त हुन सक्ने कुरै थिएन एकताक । यतै उतै च्छो रोल्पा चर्चामा रहन्थ्यो । त्यति विघ्न चर्चित हिमताल जाने नै भएपछि अलि बढी जानकारी त खोज्नै पर्यो । त्यसैले गुगलमा खोजी गर्दा थाहा लाग्यो – च्छो रोल्पा दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका, रोल्वालिङ उपत्यकामा रहेको यो नेपालकै सबभन्दा ठूलो हिमताल पनि रहेछ । समुद्र सतहबाट ४५८० मिटरको उचाईमा रहेको यस तालको उत्पत्ति ५० वर्षअघि मात्र भएको अनुमान गरेका छन् वैज्ञानिकले । सन् १९६३ मा यो हिमताल ०.२३ वर्ग किलोमिटर क्षेत्रफलमा रहेकोमा सन् १९९७ मा लिएको भू-उपग्रहीय नक्सा अनुसार १.६५ वर्ग किलोमिटरसम्म देखिएछ अर्थात् खुबसँग फैलिएछ । गहिरो पनि धेरै नै छ भन्यो गुगलले – १३५ मिटर । यस हिमतालमा १० करोड घनमिटर पानी छ रे । जाने तिथिमिति तय भयो २५ मेदेखि १ जुनसम्म । यात्रा गर्न चाहिने जानकारी युट्युबबाट पनि लियौँ । बसबाट छेतछेतसम्म जाने अनि मोटामोटी ६ दिनको पदयात्रा गर्नु पर्ने । योजना मुताबिक २५ मेमा हिँडियो । काठमाडौंबाट हिँडेको दिन चरीकोट, सिङ्गटी हुँदै छेतछेत ३ बजे पुगियो । छेतछेतमा ओर्लेर भारी मिलायौँ । तामाकोशी खोलामा झुलुङ्गे पुल तरेपछि ढलान गरेको सिंढी रहेछ । विदेशी ८ जना पनि हामीसँगै काठमाडौंबाट आएका; सँगै उकालो लाग्यौं । उनीहरू १९-२१ वर्षका जवान – तीन जना केटी र पाँच जना केटाहरू थिए । तीन नेपाली (दुई केटा र एक केटी) पनि उनीहरूका साथमा थिए । कुराकानीबाट थाहा लाग्यो, उनीहरू चर्चसँग सम्बन्धित थिए र गाउँगाउँमा क्रिस्चियानिटीका लागि काम गर्न आएका रहेछन् । छेतछेतबाट ठाडै उकालो लाग्छ पैदल मार्ग । झन्डै दुई घण्टा हिँडेपछि सिमीगाउँ पुगियो । रामेछापतिरका मानिसले पन्छी शिकार गर्न चाराको लागि सिमी ल्याएका थिए रे । अर्को वर्ष आउँदा अघिल्लो साल बारीमा छोडेको सिमीको बिउबाट उम्रेको झाल खुबै सप्रेछ । सिमी सप्रने गाउँ भएकाले यस गाउँको नाम सिमीगाउँ रहेको भन्ने गाउँलेले बताए । ८ जना विदेशीमध्ये दुई जनालाई त्यो उकालो हिँड्न गाह्रो भैराथ्यो । थाहा भयो, उनीहरू त सिमीगाउँबाट फर्किए छन् । हाम्रो गाइडले एउटा चिया पसलमा बास बस्न सिफारिस गरे । चार जनाले दुईवटा कोठा लियौँ । बेलुकाको खानामा रिकिकुर (आलुको रोटी), तोङ्बा र चाउमिन खायौँ । साथीहरू रिकिकुर पहिलोपटक खान पाउँदा फुरुङ्ग भए, मैले पटकपटक खाएको भए पनि निकै मीठो थियो । साथीहरूसँग तोङ्बा (एक खाले स्थानीय जाड) पनि खाइयो । यो यात्राको पहिलो रात राम्रो भएकाले हामी सबै दङ्ग थियौँ, राम्रोको लक्षिन लाग्यो भनेर; अबको सात दिन पक्कै रमाइलो र सुरक्षित होला भनेर । चार जना साथीहरू मज्जैले गफियौँ । लजकी साहुनी हेल्थ पोस्टमा काम गर्दिरहिछन्, साहु शिक्षक रहेछन् । छोराछोरीलाई काठमाडौं पढाउन राखेका, मिहिनेती र राम्रो सत्कारका धनी रहेछन् । बिहान मिठेफापरको रोटी, अम्लेट र कफी खाएर यात्रा शुरु गर्यौँ । मिठेफापरको रोटी निकै मीठो थियो, मीठोको बखान गर्न शब्द खोज्न धौ होलाझैँ लागेकाले यत्ति नै लेख्छु । यात्रामा खानाको परिकारको महत्त्व कति हुन्छ भनेर भनिराख्नु पर्दैन । दोश्रो दिन हामी चारै जनामा बडो उत्साह, जोस, जाँगर थियो । माथितिर जाने हुँदा बाटो उकालो थियो, एक दुई ठाउँमा यसो झर्नुपर्ने भएमा बाहेक । १७०० मिटरबाट २५०० मिटरमा रहेको सुर्मुची भन्ने ठाउँमा भात खान रोकिने सल्लाह गरिएको थियो । बाटोमा ऐसेँलु, काफल टिप्दै खाँदै अगाडि बढियो । शिशिरले बाल्यकालमा धुम्बाराहीबाट ऐसेँलु, काफल खान कपन जाने गरेको सम्झिँदै निक्कै रमाउँदै खाँदै गरेँ मैले । यो अनुभव बाल्यकालमा गरेको थिइनँ, काठमाडौँ जन्मे पनि बाल्यकाल तराई बितेकाले । ऐसेँलु टिप्न मलाइ झन्झट लाग्थ्यो । शिशिरले ‘दिनेशले ऐसेँलु टिपेर खाँदैन, टिपेर दिनुपर्छ’ भनी एक मुठी दिए । साँच्चै भन्ने हो भने ऐसेँलु त्यसरी अघाउने गरी मुट्ठीभर खाएको पहिलोपल्ट हो । धन्यवाद शिशिर ! सिंहबहादुर, सशस्त्र प्रहरीका निवृत्त महानिरीक्षक हुनाले उनी प्रहरी छँदा खेलेको परेड र व्यायामले गर्दा कसिलो र खाइलाग्दो जिउका, बलियो भएको त भन्नै परेन । हाम्रो भरियाको भारी पनि पालो गरी बोक्दिन्थे उनले, मानौँ हिमाल चढ्ने शेर्पाको जस्तो फुर्ती थियो उनको त्यो उचाइ र उकालोमा पनि । भान हुन्थ्यो – कुनै दिन अग्लो हिमाल नै चढ्ने भएँ भनी सुनाउनेछन् हामी साथीभाइलाई । सन्दर्भ मिलाएर रमाइलो जोक सुन्दै/सुनाउँदै बाटो काटेको पत्तो भएन, शुरुम्ची पुगिएछ । भर्खर दुहेको गाईको दूध रहेछ, हामी त रोमान्चित भयौँ खानलाई । जंगली च्याउ पनि रहेछ तरकारी । मीठो भात खाएर फेरि उकालो लाग्यौँ । तीन घण्टा हिँडेपछि काल्चे भन्ने ठाउँमा रोकियौं सुस्ताउन र कफी पियौँ पनि । बाटोमा नेपाली पदयात्रीहरू ४-५ समूह भेटिए । दुई जना महिला चरीकोटबाट आएका – प्रकृतिको नियमैले कुराकानी लामै भो, तीन जना पुरुष लुभुका – स्वाभाविकै भनौं कुराकानी छोटो भो ! एक पदयात्री त जुत्ताले दुखायो भनेर चप्पल लाएर ओर्लेका । कहाँबाट आएको, कहाँ जाने, कति टाढा, नाम के हो ? भन्ने प्रसङ्ग निकाली-निकाली, कुरो तन्काइ-तन्काइ कुरो गरिन्थ्यो, बाटो पनि काटिने, रमाइलो पनि हुने दुबै थरीलाई । यति कुराकानीले पनि ऊर्जा थपिने रहेछ । सिंहबहादुर यो जिल्लामा डी.एस.पी. हुँदाको प्रसङ्ग निकालेर गफ राम्रै तनकाउँथे, साइनो गाँस्थे । उनी प्रसङ्ग निकाली-निकाली गफ निकाल्थे, हामी थपथाप गर्थौं । यसो गर्दा बाटो काटन सजिलो भैरहेको थियो । यो दिन हामी डोङ भन्ने ठाउँमा झन्डै ४ बजेतिर पुग्यौँ र त्यहीँ नै बास बस्ने सल्लाह भयो । तेस्रो दिन डोङबाट बेदिङसम्मको यात्रा तय गर्नु थियो । गत साल थामेमा हिमताल फुटेर बाढी आउँदा यो भेगमा पनि त्यस्तै हिमताल फुटेर बाढी आएको रहेछ । डोङबाट बेदिङसम्मको बाटो त्यही प्रकोपले साफसँग बिगारेको रहेछ । फलामे पुल त ठाउँठाउँ मर्‍याकमुरुक पारेरे डल्लो पो पारेको देखियो । भिरालो नदी सानो छ भनेर के गर्नु, बडो शक्तिवान पो हुन्छ त ! त्यसमाथि गेग्रानसहित उर्लेर आएको खोलाले त विनाश निक्कै गरेको देखियो । डोङका दुईवटा होटेल बगाएको थियो रे । भेल दिउँसोमा आएकाले जनको क्षति भएनछ । बाटो बिग्रेकाले क्षति लेखाजोखा गर्न तुरुन्त जान नसकिएको जानकारी गराए स्थानीयहरूले । हामी अघि बढ्नु पर्ने रहेछ खोलाको बगर बगर ठूला ठूला ढुङ्गामा टेकेर । लेन्द्रु शेर्पा – हाम्रा गाइडले सम्झाए, “दाइ ढुङ्गाको छेउमा नटेक्नु, चिप्लिन सक्छ; खोला बेतोडले बगेको छ” । अर्थ सहज थियो – यदि ढुङ्गामा चिप्लियो भने खोलाले इहलीला खत्तम पार्न पनि सक्छ । यो त अलि डरमर्दो नै कुरा भयो । लेन्द्रुको नाम सम्झदा म सिक्किमको अन्तिम शासकको नाम सम्झन्थेँ – लेन्डुप दोर्जे । नाम सम्झने मेरो तरिका अर्थात् सूत्र नै भनौँ, आफूलाई याद भैरहेको नाम सम्झने, त्यसबाट चाहिने नामसम्म पुग्ने । नत्र यस खालको नामसँग हाम्रो अभ्यस्तता अलि कम नै हुन्छ नि ! पहिरोले बाटो ठाउँठाउँमा क्षतविक्षत् पारेको रहेछ । वैकल्पित मार्ग पक्रौँ भने हिलाम्मे थियो । हुन त पदयात्राको क्रममा यस्तो आइपर्न सक्छ नै । हामी आराम खोज्न पदयात्रामा निस्केका थिएनौँ, बरु प्रकृतिलाई नजिकबाट आत्मसात गर्न निस्केका थियौँ । यो आफैँमा प्रकृति, अनि प्रकृतिको खेल खेल्दा पारेको डाम नै त थियो । बर्खायाममा त यो पद मार्ग पूरै बन्द होला भनी लख काट्न गाह्रो थिएन । बेदिङ पुग्न लाग्दा हिउँ पहिरो फुटेर गेग्रान बगाएको ठाउँ देखियो । गौरीशंकरको बेस क्याम्प माथितिर छ भनी देखाएको साइनबोर्डले बाटो देखाइरहेथ्यो । यतैतिर स-साना हिमताल छन् भनेर गाइड भाइले जानकारी दिए । हिमतालहरू फुट्ने क्रम गत केही वर्षदेखि सुनिन थालेको स्मरण भयो । जस्तै मनाङमा रहेको गङ्गापूर्ण हिम पहिरो फुटेर मनाङताल पूरै पुरेको आफैँले देखेकै हो । त्यसैगरी सानागाउँमा रहेको वीरेन्द्रताल फुटेको आफ्नै आँखाले लार्के पास गर्दा देखेकै हो । यो कुरा विमललाई सुनाउँदा “अब हाम्रो यात्रा हिमताल भएको ठाउँतिर केन्द्रित गर्नुपर्छ, हिमताल फुट्नु अगाडि नै,” भनेर हँस्यौली गरेका थिए । त्यसो हो भने अर्कोपटक गोक्यो जानु पर्ला भनेर मनमनै गुन्गुनाएँ । हामीले गौरीशंकर गाउँपालिकाका पदाधिकारीको एक हुल डोङबाट बेदिङ जाँदा भेटिए । कुराकानीबाट थाहा भयो, उनीहरू विभिन्न उद्देश्यसहित आएका रहेछन् । कोही योजना जाँच पास गर्न, कोही वृद्धभत्ता बाँड्न, कोही घुमघाम गर्न, याकलाई ब्वाँसोबाट बचाउन पर्खालको घेरा हाल्ने योजना पनि एउटा रहेछ जाँच पास गर्न पर्ने । वृद्धभत्ता बाँड्न बैंकको कर्मचारी पनि आएका रहेछन् । बेदिङमा हामी ५ बजे पुगेका थियौँ । हाम्रो बास गौरीशंकर होटेलमा हुने भयो । यसका साहु जुनबेसी, सोलुखुम्बुका रहेछन् । साहुनी बेदिङकी । साहुनीले तानिछन् साहुलाई – नारीशक्तिको पराक्रम वा अवसरको दोहन । ट्रेकिङको सिलसिलामा भेटघाट भएर घरजम गरेका रहेछन् । कसको भाग्य कहाँ लेखेको छ थाहै नहुने ! मैले चिनेका जुनबेसीका व्यक्तिहरूलाई उनेले चिन्ने रहेछन् । कुराकानीमा यहाँको खानेपानी योजना कादुरी भन्ने संस्थाले बनाउँदै गरेको सुनाए । कादुरी एक जना धनाढ्य व्यक्ति हुन् र नेपालमा उनले धेरै खानेपानी, पुल, साना जलविद्युत बनाएको जानकारी मलाई भएकाले अलि चासो लिएर कुराकानी गरियो । बिहानै ब्रेकफास्ट लिएर नागाउँतिर लाग्ने सुरसार गरियो । पहिले कागती चिया खायौँ । फेरि शेर्पा चिया पनि खाने कि भन्ने प्रस्तावमा सिंहबहादुरको हाजिरजवाफी उत्तरले खुब हँसायो – भर्खर कागतीको अमिलो खाने अनि दूधवाला चिया खाने, अनि दूध फाटेर खाएको नखायै हुन्छ । हो त, धेरैजनाले दूध फाटे फाल्छन्, त्यसबाट के-के स्वादिष्ट र तागतिलो कुरा बन्छ भन्ने थाहा नै छैन । फाटेको दूधबाट पनिर, रसबरी आदि बन्छ भन्ने भेउ नै पाएका छैनन् । त्यही दूध बिग्रेर खेर जाने हदसम्मको चेतको हँस्यौली थियो त्यो । बेदिङबाट गौरीशंकर हिमालको पूर्वीकोणको दृश्य राम्रो देखिने रहेछ । यो कोणमा हिउँको मात्रा कम भएकाले हिमाल पनि सेतो कम कालो बढी देखियो कालो पत्थरले । दुईवटा सँगैका टाकुरालाई कुमार र गणेशभन्दा रहेछन् – शंकर-पार्वतीका छोराको रूपमा । हाम्रो बासका साहुसँगको कुराकानी र बिहान गौरीशंकर हिमाल, अनि गुम्बा अवलोकन गरियो । सम्झिल्याउँदा दु:ख गरेर त्यहाँसम्म पुगेको उपलब्धिपूर्ण नै रह्यो बेदिङ बसाइ । अब आजको हिँडाइ बेदिंगबाट नागाउँसम्म हो – जम्मा ३/४ घण्टा मात्र । नागाउँलाई नै त्यस दिनको बास बनाउने हाम्रो योजना छ । विमल र सिंहले थरिथरिका हँस्यौली, ठट्यौली गरे, सुनाए, यसो गर्दा बाटो काटिएको पत्तैसम्म भएन । शिशिरले पुलिसको तालिम गर्दा १० माइल दौड प्रसङ्ग सुनाए । प्रशिक्षकले थाकेका प्रशिक्षार्थीलाई दौडन हौसला दिन कि गर्लफ्रेन्ड सम्झिनु कि “टेस्टिकल” सम्झनु भन्थे रे । सिंहले थप्दै भने – हामीलाई त “This is my rifle, this is my gun, this is for fighting this is for fun” भन्दै गीत गाउन लाउँथे अनि दौड पूरा गर्थ्यौँ । विमल, सिंह र शिशिर एउटै क्लासमा पढेका स्कुले साथी भएकाले ठट्टा निक्कै हुन्थे । हिमाली क्षेत्रका बासिन्दामा बौद्ध धर्मावलम्बीहरू निकै नै हुने हुँदा नागाउँ नजिक पनि एउटा गुम्बा रहेछ – डाँडामाथि । गुम्बा क्षेत्रमा पुग्दा विमलको घडी अचानक ब्लैक-आउट भएछ – राडार जाम भएपछि घडिले सिग्नल नपाएको होला भन्ने लख काटियो । पक्कै त्यो ठाउँमा अदृश्य शक्ति भएको हुनुपर्छ भन्दै ९० मिनेट लगाएर गुम्बाको दर्शन गर्न गयौँ । चट्टान खोपेर बनाएको सा-साना कोठामा बुद्धका मूर्ति थिए । त्यस्तो ठाउँमा तीन महीना गुप्त बास बसेर ध्यान गर्न विदेशबाट समेत मान्छे आउने गरेका भन्ने जानकारी पाइयो – अदृश्य शक्ति भएरै होला नि । हामीले पनि ३० मिनेट जति ध्यान गर्यौँ । निक्कै आनन्द को अनुभूति भयो । गुम्बाका प्रमुख लामा गुरु भेटिएँ । मैले मेरो परिचय काठमाडौंको टुँडिखेलमा रहेको महाँकाल भैरव मन्दिरको पुजारी भनेर दिएँ । त्यो परिचयले मलाई ती गुरु लामाले सम्मानपूर्वक नमस्कार गरे । फूर्ती गर्न ढाँटेको होइन, म पुजारी खलकको नै हुँ । यहाँ स्मरण गर्न मन लाग्यो । महाँकाल भैरव देउतालाई हाम्रा पुर्खा शाश्वतवज्र वज्राचार्यले दसौं शताब्दीमा लिच्छवि राजा गुणकामदेवको पालामा त्यही (सैनिक मञ्चको छेउमै) स्थानमा प्रतिस्थापन गरेका थिए । महाँकाल भैरव तिब्बतबाट काशीतर्फ तीर्थका लागि आकाश मार्गबाट जाँदै गरेको देखेर शाश्वतवज्र वज्राचार्यले तन्त्रमन्त्रको शक्तिले तानेर प्रतिस्थापन गरेको तथ्य कतै लेखिएको एवम् जनश्रुतिको रूपमा रहेको छ । तिबेतियनहरू तथा नेपालको हिमाली क्षेत्रका बासिन्दाहरूले महाँकाल भैरवलाई एक शक्तिको प्रतीक मान्छन् भने हिन्दुहरूले शिवको एक अवतारको रूपमा पुज्छन् । विमल र म निकै लामो कुरा गर्दै गयौँ । मैले महाँकाल भैरवको पुजारीको प्रसङ्ग निकालेँ र आफू बाल्यकालमा पालो बस्दाको अनुभव सुनाएँ । जापानमा वज्राचार्यहरूको विशेष सम्मान हुन्छ रे । उनले थपे, “एउटा पाँच तारे होटेलमा एउटा ‘सुइट’ कोठामा एकदम तर्साउन आउने रे । जो पनि डराउने, सुत्न नमान्ने । वज्राचार्यहरू तान्त्रिक भएकाले नामैले पनि भूत भाग्छ भन्ने सुनेका रहेछन् होटलका साहुले । एकजना जापानमै बस्दै गरेका वज्राचार्यलाई त्यो महँगो कोठामा एक वर्ष फोसामा सुत्न दिए रे । एक वर्षमा त भूत भागेछ । भूत नलाग्ने भएपछि महँगो ‘सुइट’ कोठा चकाचकको हुने भैगयो, साहुका लागि सुनको अण्डा दिने कुखुरा बनिहाल्यो ।” यसरी वज्राचार्यहरू विशेष सम्मान आर्जनको कारण बताउँदै मलाई त महाँकाल देवताको पूजामा समर्पित हुन पो सुझाए निष्कर्षमा । कुरा गर्ने सिलसिलामा शिशिरले उनका स्वर्गबासी पिताजीले दिएको अर्ती सुनाए, “आफूलाई चित्त नबुझेको कुरा भए पनि कहिलेकहीँ चुप्प लाग्नु, प्रतिक्रिया नजनाउनु, यसमै भलो हुन्छ ।” यो कुरा मनन तथा अवलम्बन गर्दा उनलाई जीवनमा पटकपटक जाती भएको भने । यस्तै यस्तै कुरा गर्दै त नागाउँ पुगिएछ । बासका लागि छानियो जोसेफ फुर्वा होटेल । साहुनी रहिछन् डिकी । उनको जिउडाल मुस्तन्ड खेलाडीको जस्तो । मैले प्वाक्क भनिहालेँ, “तपाई त ट्रेल रनर जस्तो देखिन्छ नि !” बताइन् – केको ट्रेल रनर मात्र, उनी त सगरमाथा चढिसकेकी रहिछन् । भित्तामा सगरमाथा आरोहणको प्रमाणपत्र नै शोभायमान रहेछ । खाना र बास सन्तोषजनक नै थियो, मात्र थियो शौचालयको कमी – १० जना पाहुना, एउटा शौचालय ! बिहानमा पालो पर्खनु पर्ने । भोलिपल्ट बिहानै ६ बजे ब्रेकफास्ट खाएर च्छो रोल्पा तालतिर लाग्यौँ । ढिलो भयो भने हिमाल कुहिरोले ओढ्छ भनेर चाँडै हिँड्नु पर्ने ठान्यौँ । त्यताका अनुभवीहरूले पनि बताए । शुरुको आधा बाटो निकै मज्जाको थियो, तर्पाएँ खालको, घाँसे मैदान, थरिथरिका फूल फुलेका, दूधकुण्ड र च्छो रोल्पाबाट आएको खोलाको कलकल आवाज, दायाँ र बायाँ पत्रपत्र परेको ठाडो चट्टाने भीर विशिष्ट खालको भूगोल, मनै लोभ्याउने । साँच्चै भन्ने हो भने यस्तो भूगोल अवलोकन गर्न जता पनि पाइन्न, काठमाडौँबाट ३/४ दिनको बाटो आएपछि मात्र भेटिएको छ । यहाँसम्म सबै आउन सक्दैनन् फोटो हेरेर चित्त बुझाउनुपर्छ । त्यसैले त्यस्ता वर्गलाई फेसबुकबाट यो अनुपम दृश्य दर्शन गराउनु पर्ला भनेर बाटोभरि फोटो खिच्दै गयौँ । ताल पुग्न झन्डै एक घण्टाको हिँडाइको नाक ठोकिने उकालो रहेछ । उकालोमा गति मन्द हुने नै भयो, सास फेर्न गाह्रो तर अक्सिजन बढी चाहिनाले स्वाँ स्वाँ पनि हुने नै भयो । हिँडेको झन्डै तीन घण्टामा बल्ल च्छो रोल्पा ताल पुगियो, हामीले गन्तव्य बनाएर हिँडेको ठाउँ । आकाश नीलो, तालको पानी भने कन्चन, नीलो नभएर ढुङ्गाको कण घुलेको कारण – दूधेदूधे रङ्गको । ताललाई श्वेत पोशाकका हिमाली शिखरहरूले पहरेदारी गरेझैँ वरिपरि खडा ! यस लेखनीका पाठकहरूलाई पक्कै सम्झना छ – च्छो रोल्पा फुटेर कुनै बेला महाविनाश गर्न सक्छ भन्ने डरले यसको पानीलाई अलि-अलि निस्कन दिनुपर्छ भनी पानी निकासका लागि आयोजना बनाएर काम भएको थियो । अहिले पनि यदि यो ताल फुटे बर्बाद नै गर्छ भनेर तल्लो भेगीय जनतालाई सूचित गर्ने प्रणाली पनि स्थापित गरिएको सुनिएकै हो । त्यसैले तालको पानी निकास कसरी गरिएको छ भनेर हेर्ने उत्सुकता जाग्यो, र त्यतैतिर लागियो । नियालेर हेर्दा पानी निकासका लागि एउटा ठूलै कुलो बनाइएको रहेछ । कुलो हुँदै पानी निस्कन पाएपछि पानीको सतह घट्ने भैहाल्यो । यो हेर्दा के भन्न सकिन्छ भने, यदि हिमपहिरो नै आए पनि यो तालको पानी निस्कने राम्रै निकास भएकाले ताल नफुट्ला, तर प्रकृति वा दैवको कुरो – हिमपहिरो निकै ठूलो भयो भने जोखिम नै नहोला भन्न कसले नै सक्ला र ! त्यहाँ पुगेपछि गन्तव्य छिचोलेको खुशीमा म ‘च्छो रोल्पा – च्छो रोल्पा’ भन्दै नाचेर भिडियो खिच्न थालेँ । विमललाई ध्यान गर्न मन लागेछ । सिंहले छाती देखाएर फोटो खिच्न थाले । शिशिर चाहिँ थर्मसको तातो पानी पिउन थालेछन्, छाती न्यानो पार्न । चार जनाको छुट्टाछुट्टै ताल, यही नै होला हर व्यक्ति फरक-फरक हुन्छ भन्ने सत्य उजागर भएको, निर्बन्ध र खुशी वा अन्य मानसिक संवेगको अतिरेकमा प्रकट भई नै हाल्ने ! एकछिनमा सबै एकै ठाउँमा जम्मा भई सँगै छौँ भन्ने प्रमाणका लागि सामूहिक फोटो खिच्यौं ताकि तुरुन्त नै फेसबुकमा पोस्ट्याउन पाइयोस् । निकैबेर त्यो तालको पूर्वी छेउबाट पारीको बाटो हेरेर माथि टाशी लाप्चा पास/भन्ज्याङ जाने बाटोबारे विचार गरेँ । त्यो बाटो तीन दिन हिँडेपछि मात्र सोलुखुम्बुको थामे निस्किने रहेछ । पास झन्डै ५८०० मिटरको उचाइमा छ रे । टाउको घुमाएर पूर्वबाट उत्तरतिर हेर्दा उत्तुंग पहाडमा हिउँ श्वेतवस्त्रधारी झैँ देखियो । उत्तर पश्चिममा चाहिँ गौरीशंकर हिमाल र दूध कुण्ड । पश्चिममा नागाउँ र त्यसभन्दा अघिको फाँट निक्कै सुन्दर पो देखियो । यो फाँटलाई रोल्वालिङ उपत्यका भनिने रहेछ । मौसम सफा थियो – बादल निशेष रहेको नीलो आकाश । झन्डै ९० मिनेट बसेपछि फर्कने मतो मिल्यो । घडीले साढे दश बजाएको रहेछ । सिरसिरे हावा चल्न थालेको थियो । फर्कंदा बाटोमा लेन्द्रु मेरा गफ पार्टनर बने । उनी सोलुखुम्बुको तान्तिङ भन्ने ठाउँका रहेछन् । कास्कीमा पनि छ तान्तिङ गुरुङले आफ्नो आदि थलो मान्ने । दुई ठाउँको नाम कसरी मिल्यो – म खोजी पस्न भ्याइनँ, भोलिका दिनमा सकूँला कि ! रत्नाङ्गेबाट उनको गाउँ जाने बाटो देखिने रहेछ । श्रीमती कोरियामा मजदुर काम गर्छिन् रे । तीन दाजुभाइमा लेन्द्रु कान्छो, माहिलो पनि पर्वतारोहीको सहयोगी भएर सगरमाथाको शिखरसम्म नै पुग्थे रे । गत वर्ष सगरमाथा चढ्दै गर्दा आफूसँग गएको एक विदेशी पर्वतारोहीले अशक्त भई मस्तिष्क ठीक नभएको अवस्थामा ८००० मिटरको उचाइमा धकेलेछन्, दाजु लडेर ठहरै भएछन् । उचाइले मानिसमा के-के परिवर्तन ल्याउने पनि थाहा पाइयो, घटना दु:खद भए पनि ! पानी परेको थियो त्यस राति पनि । लेकमा पानी परेको बेला जुका सलबलाउने नै भए । विघ्नै स्याउँस्याउँ लागेका त थिएनन् तैपनि एउटाले चाहिँ टोकी छाड्यो मलाई । त्यति टोकाइलाई यस ठाउँको सम्झना मान्नै पर्यो । सुनेको छु – जुकालाई टोकाएर शरीरमा रहेको विषाक्तता कम गर्ने उपचार पद्धति पनि छ रे । अचम्म भनेको त्यो बेला लाग्छ मानिसलाई जुन कुरा उसले जानेको, सोचेकोभन्दा निकै फरक हुन्छ । एक्लो मान्छे पदयात्रामा आएको देख्दा मलाई पनि त्यस्तै लाग्यो । दुईजना भेटिए त्यस्ता व्यक्तिहरू । एक युवती र एक युवक । अझ युवती एक्लै देख्दा त आफैँलाई डर लाग्ने, त्यस्तो जंगलको बाटो, खोला त्यस्तै उर्लेर आउन सक्ने, पहिरो, हिलो अनि मान्छेको पनि त के भर, एकलासको ठाउँमा ! नेपालको पदमार्ग सापेक्षितरूपमा सुरक्षित नै मानेर होला त्यसरी एक्लै महिलाले भ्रमण गर्ने आँट गरेको । त्यो बाटोमा भेटिएको युवकसँग छोटो छलफल गर्यौँ हामीले । कुरैकुरामा उनले देश बिग्रनुमा पुरानो पुस्ता हामी लगायतलाई दोष दिए । तर उनलाई भने हामीले सार्वजनिक ठाउँमा धूमपान गर्न हुन्न भनेर सम्झाउन पर्यो । यस्तै हो – अरुको आङको जुम्रो देख्नेले आफ्नो आङको भैंसी नदेख्ने उखानको साक्षातीकरण ! त्यो भाइ पड्कास्ट पनि चलाउँदो रहेछ । विमललाई काठमाडौँका नदीनाला सफा राख्ने भन्ने विषयमा आफ्नो ज्ञान बाँड्न निम्ता पनि दिएका थिए । मानिसहरू फरक प्रवृत्तिका हुन्छन् भनेर थाहा भए तापनि पदयात्रामा जाँदा त्यो अझ टडकारो रूपमा मैले महसुस गर्ने गरेको छु । कस्ता-कस्ता सोचाइ हुन्छन् आजभोलिका पुस्तामा भन्ने उदाहरण हामीले साटासाट गर्यौं । दुई जना साथीलाई परेको कुराले त स्तब्ध नै बनायो । अमेरिकामा बस्दै गरेका छोराछोरीले आफ्नो बुबाप्रति कृतज्ञ हुन आवश्यक छैन, तसर्थ आफ्नो सोचाइ नलाद भन्दै यस्तो भने रे, “मलाई तपाईँले जन्माउँछु भनेर जन्माएको होइन, म त तपाईँहरूको रोमान्सको प्रतिफल मात्र हो ।” “आफ्नो रवाफका लागि तपाईँले हामीलाई पढाउनु भो, छोराछोरीले पनि गाडी चढेका छन् भनेर गाडी किनिदिनुभएको हो,” र यस्तै बुबाआमाको हरेक काम नितान्त स्वार्थप्रेरित भनेर रहेका तर्क गरे रे । विचरा तीमध्ये एक जना साथी त्यस्तो प्रतिवाद सुनेपछि अमेरिकाबाट फर्केर काठमाडौँमै बस्न थाले भने अर्का साथी त काठमाडौँमै रहेकाले फर्कनुको सट्टा अब नजाने निर्णयमा पुगे । समष्टिमा हरेक कुराको विश्लेषण अर्को पक्षको कोणबाट पनि गर्नुपर्छ भन्ने सहमतिमा पुगियो । च्छो रोल्पा – एक हिमताल र त्यसको पैदल यात्रा छोटो अवधिमा हुन सक्ने ठानेर शुरु गरेको यात्रा प्रकृतिको नजिक पुग्ने उपाय त बन्यो नै बाटामा भेटिएका मानिसहरू, नयाँ परिकार र चलन तथा सहयात्री चार जनाबीच भएका गफ बडो रमाइलो र सम्झिरहने खालको बन्यो । भमण रिट्रित जस्तो पनि भयो । आ-आफ्नो विगतलाई सिंहावलोकन गर्ने र भौतिक जगत र अध्यात्मको तारतम्य मिलाउने अवसर पनि भयो । आजसम्मका यात्राबाट मैले जे आशा गरेर यात्रा गर्छु, त्योभन्दा धेरै र कहिलेकहीं फरक अनुभूतिसहित यात्रा टुङ्गिने गरेका छन् । The post भएन च्छो रोल्पा यात्रा भौतिक मात्र … appeared first on साहित्यपोस्ट.