भिरबाट राति घरमा ढुङ्गा खस्दा चार घाइते - nagariknews.nagariknetwork.com
गएराति सर्केगाड गाउँपालिका–४ सर्केगाड बजार बस्ने दनबहादुर रावतको दुई तले कच्ची घरमा भिरबाट अचानक ढुङ्गा खस्दा घरभित्रका चार जना घाइते भएका छन्।सर्केगाड गाउँपालिका-८ राहदेउ घर भई सर्केगाड-४ बस्ने दनबहादुर रावतको घरमा भाडा गरी बस्ने सुन्दरलाल विककी श्रीमती २८ वर्षीया सरिता विक, सर्केगाड गाउँपालिका-४ रायागाउँकी २१ वर्षीया लालसरा विक, लालसराकी छ वर्षीया छोरी रेविका र सर्केगाड - ८ की प्रवीणा विक घाइते भएका जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी शङ्कर खड्काले बताए।“सरिताको दाहिने गाला र दाहिने हातमा चोट लागेको छ। उनको जिल्ला अस्पताल हुम्लामा उपचार हुँदै छ। लालसराको टाउकोमा र उनकी छोरीको निधारमा चोट लागेको छ। प्रवीणाको पनि टाउकोमा चोट लागेको छ”, उनले भने।राति घरमाथिको वनबाट ढुङ्गा खस्दा घरका चार जना घाइते भएका जनाउँदै सूचना अधिकारी खड्काले सरिताको उपचार साया स्वास्थ्य चौकीमा हुन नसकेपछि उपचारका लागि जिल्ला अस्पताल लगिएको बताए। उनका अनुसार अन्य तीन जनालाई सामान्य चोट लागेकाले उपचार पनि घर फर्काइएको छ।सो बस्ती माथिबाट ढुङ्गा खस्ने जोखिममा पर्दै आएको छ। बजारमाथि ढुङ्गाको भिरालो वन भएकाले जोखिम रहँदै आएको हो। यसअघि पनि सो स्थानमा ढुङ्गा खस्दै आएको स्थानीय प्रकाश शाहीले बताए।