ट्रम्पको 'गाजा शान्ति योजना'माथि इजरेल र हमासले अप्रत्यक्ष वार्तालाई निरन्तरता दिने - www.bbc.com
Reuters इजरेलले कैयौँ सातादेखि गाजा सिटीमा कारबाही चलाइरहेको छ गाजामा जारी युद्ध अन्त्य गर्नका निम्ति अमेरिकी शान्ति योजनाबारे ठोस सम्झौतामा पुग्ने उद्देश्यले इजरेल र हमासबीच सुरु भएको अप्रत्यक्ष वार्ताले इजिप्टको शर्म अल-शेख सहरमा मङ्गलवार पनि निरन्तरता पाउने भएको छ।त्यस्तो वार्तामा हमासको नियन्त्रणमा भएका सबै इजरेली बन्धकको रिहाइका लागि उल्लेख्य सङ्ख्यामा प्यालेस्टिनी बन्दीहरू मुक्त हुने "आधार तयार गर्नेतर्फ" केन्द्रित रहेका प्यालेस्टाइन तथा इजिप्टका अधिकारीहरूले बीबीसीसँग बताएका छन्।इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आफूले "आगामी दिनहरूमा" बन्धकहरूको रिहाइको घोषणा हुने आशा गरेको शनिवार बताएका थिए। सोमवार अधिकारीहरू बीच भेटघाट भइरहँदा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा संवाददाताहरूसँग "सम्झौता हुन सक्ने राम्रो मौका रहेको र त्यो दीर्घकालीन हुने" बताएका थिए। 'आउँदा दिनहरूमा' बन्धक रिहाइको घोषणा हुने नेतन्याहूको आशागाजामा बमबारी रोक्न ट्रम्पको आग्रह, हमास र इजरेलले के-के भने? हमासले 'शान्ति योजना'का केही प्रस्तावबारे सहमति जनाएको छ तर कतिपय महत्त्वपूर्ण मागहरूबारे प्रतिक्रिया दिएको छैन। त्यसमा हमासको निरस्त्रीकरणदेखि गाजामा उसको भावी भूमिकासम्मका विषय छन्।उक्त छलफलको निकट रहेका एक प्यालेस्टिनी अधिकारीले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार अप्रत्यक्ष वार्ताको पहिलो सत्र सोमवार अबेरसम्म चलेको थियो। त्यसले मङ्गलवार पनि निरन्तरता पाउने छ।वार्ताको दोस्रो दिन इजिप्ट र कतारका अधिकारीहरूले इजरेल र हमासका प्रतिनिधिमण्डलसँग भिन्दाभिन्दै छलफल गर्ने छन्। मङ्गलवार हमासको नेतृत्वमा दक्षिणी इजरेलमा आक्रमण भएको दुई वर्ष पूरा हुन्छ। सन् २०२३ को अक्टोबर ७ मा भएको उक्त हमलामा लगभग १,२०० जना मारिनुका साथै २५१ जनालाई बन्धक बनाइएको थियो।घटनाको प्रत्युत्तरमा इजलेलले गाजामा सैन्य कारबाही थालेको थियो। उक्त कारबाहीमा त्यसयता १८,००० बालबालिकासहित ६७,१६० जना मारिएको उक्त क्षेत्रमा स्थित हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। ट्रम्प र नेतन्याहूबीच 'सहमति' भएको भनिएको गाजाबारे 'नयाँ योजना'का मुख्य कुरानेतन्याहूलाई वेस्ट ब्याङ्क गाभ्न 'अनुमति नदिने' ट्रम्पको भनाइ उक्त घटनाको दुई वर्ष पुगेको सन्दर्भमा दिइएको वक्तव्यमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले ट्रम्पको योजनाले "एउटा अवसर प्रदान गरेको र सङ्घर्षको अन्त्यका निम्ति उक्त मौका छोप्नुपर्ने" बताएका छन्।यूकेका प्रधानमन्त्री सर किअर स्टार्मरले पनि "मध्यपूर्वमा शान्ति स्थापना गर्नेतर्फ अमेरिकाले गरेको पहल" को स्वागत गरेका छन्।एक उच्च इजरेली सुरक्षा स्रोतका अनुसार प्रारम्भिक वार्ता केवल बन्धकहरूको रिहाइबारे केन्द्रित हुने छ र उक्त चरण पूरा गर्न हमासलाई केही दिनको समय उपलब्ध गराइने छ। इजरेलले गाजामा नरसंहार गरिरहेको विश्वका अग्रणी विज्ञहरूको भनाइयूकेले दियो प्यालेस्टाइनलाई औपचारिक मान्यता वार्ता किन महत्त्वपूर्ण EPA इजरेली कारबाहीमा परी अहिलेसम्म गाजामा ६७,००० जनाभन्दा बढीको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ यी छलफलहरूलाई युद्ध सुरु भएयताकै परिणाममुखी हुन सक्ने र यसले सङ्घर्ष अन्त्य गर्ने बाटो पहुँचयोग्य भए नभएको निर्धारण गर्न सक्ने ठानिएको छ।अमेरिकी विशेषदूत स्टीभ विट्कफ, ट्रम्पका ज्वाइँ जेरड कुश्नर र कतारी विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी पनि वार्तामा सहभागी छन्।ट्रम्प र नेतन्याहू सहमत भएको उक्त बीसबुँदे योजनामा तत्काल सङ्घर्ष समाप्त गर्ने र हिरासतमा लिइएका सयौँ गाजाका बासिन्दाको रिहाइको बदलामा ४८ बन्धक रिहा गर्ने लगायतका प्रस्ताव छन्। बन्धकहरूमध्ये २० जना मात्रै जीवित रहेको ठानिएको छ।उक्त योजनामा दुवै पक्ष उक्त प्रस्तावमा सहमत हुनासाथ "गाजा स्ट्रिपमा तत्काल पूर्ण सहायता पठाउने" समेत उल्लेख छ।त्यसका साथै गाजाको शासनमा हमासको कुनै भूमिका नहुने भनिएको छ जसले प्यालेस्टिनी राज्यको सम्भावनालाई खुलै राखेको छ।तथापि एक साताअघि उक्त योजना सार्वजनिक भएपछि नेतन्याहूले प्यालेस्टिनी राज्यबारे आफ्नो लामो समयदेखिको अडान दोहोर्याउँदै एउटा भिडिओ वक्तव्यमा भनेका थियो, "सम्झौतामा उक्त कुरा लेखिएको छैन। हामीले प्यालेस्टिनी राज्यको कडा विरोध गर्ने बताएका छौँ।"उक्त प्रस्तावबारे प्रतिक्रिया दिँदै शुक्रवार हमासले बन्दी आदानप्रदानका सर्तहरू पूरा भएको खण्डमा "ट्रम्पको प्रस्तावमा उल्लिखित साटफेरको तरिकाअनुरूप सबै जीवित र मृत इजरेली बन्दीहरू मुक्त गर्न" सहमति जनाएको थियो।गाजाको भविष्य र प्यालेस्टिनीहरूको अधिकारसँग सम्बन्धित प्रस्तावमाथि "राष्ट्रिय ढाँचाअन्तर्गत" छलफल भइरहेको र हमास पनि त्यसको हिस्सा रहने उक्त वक्तव्यमा भनिएको छ।ट्रम्पको प्रस्तावलाई अस्वीकार गर्न सक्ने वा जटिल सर्तहरू राख्न सक्ने ठानेका कैयौँ प्यालेस्टिनीहरूले शान्ति योजनाबारे हमासको प्रतिक्रियालाई अप्रत्याशित भनेका छन्।सोमवार वार्ता सुरु हुनु अघिसम्म पनि गाजा सिटीमा इजरेली बमबारी जारी थियो।ती कारबाहीमा गएको २४ घण्टामा २१ प्यालेस्टिनी मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।