नेतृत्वका लागि सोमबार निर्वाचन‚ यस्तो छ तालिका - nepalnews.com
काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशन काठमाडौँमा चलिरहेको छ। एमालेको केन्द्रीय निर्वाचन आयोगले आइतबार बेलुकी ७ बजेदेखि १ पुससम्मको तालिका सार्वजनिक गरेको छ। महाधिवेशनको शनिबार उद्घाटन भए पनि आज (आइतबार) देखि भृकुटीमण्डपमा बन्दसत्र चलिरहेको छ। एमालेमा संस्थापन केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने देखिएको छ। आजको बन्दसत्रमा पोखरेलले आफ्नो छुट्टै अवधारणापत्र राखेका छन्। बन्दसत्रको सुरुमा अध्यक्ष ओलीले धारणा राखेपछि पोखरेललाई बोल्न समय दिइएको थियो। पोखरेलले बन्दसत्रमा यसअघि सार्वजनिक भएको र अध्यक्ष ओलीलाई बुझाएको अवधारणापत्र वाचन गरे। महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान हुनेछ। निर्वाचनको कार्यतालिका पनि सार्वजनिक गरिएको छ। कार्यतालिकाअनुसार आइतबार बेलुकी ७ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। सोमबार बिहान साढे १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जनाएका छन्। सोमबार दिउँसो साढे २ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन‚ साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने बेलुकी ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। १ पुसको बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ। हेर्नुहोस् यस्तो छ निर्वाचन तालिका :