बर्दिया घटनाबारे सत्यतथ्य छानविन गर्न समिति गठन - arthasanjal.com
Source: sanj
काठमाडौं । बर्दियाको बढैयाताल–४ कि एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको विषय छानबिन गर्न समिति गठन भएको छ । गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो । गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानविन गर्न समिति गठन गर्ने निर्णय गरेको बताए । समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रुपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने गरी समितिलाई आदेश दिइएको छ। यसै घटनाको सत्यतथ्य बुझ्न भन्दै प्रधानमन्त्री सुशिला कार्कीले पनि गृहमन्त्री अर्याललाई निर्देशन दिएकी थिइन् ।