Redirecting...

कोशी प्रदेशमा हर्क साम्पाङ ठूला दलका लागि चुनौती बन्ने सम्भावना उच्च - bishwokhabar.com

कोशी प्रदेशमा हर्क साम्पाङ ठूला दलका लागि चुनौती बन्ने सम्भावना उच्च - bishwokhabar.com
Source: bsbk

काठमाडौं– कोशी प्रदेशमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लिएर राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । यसपटकको निर्वाचनमा कोशीमा परम्परागत ठूला दल कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, राप्रपाका लागि धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी मुख्य चुनौतीका रूपमा उदाएको छ । जेनजी आन्दोलनपछि वैकल्पिक राजनीतिको बहस चर्कंदै गएको कोशी प्रदेशमा साम्पाङको सक्रियताले चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने पक्का भएको छ । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि प्रधानमन्त्रीको दाबी गर्दै राष्ट्रिय राजनीतिमा उदाएका हर्क साम्पाङलाई सत्ता र मन्त्रीपरिषद् सदस्यमा समेट्न नसकिएपछि उनले निर्वाचन आयोगमा श्रम संस्कृति पार्टी दर्ता गराइ संगठन विस्तार र चुनावी तयारी तीव्र पारेका छन् । कोशी प्रदेशका सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, धनकुटा, उदयपुर, भोजपुर र, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, खोटाङ जिल्लामा पार्टीले चुनावी सभा सम्पन्न गरिसकेको छ। ती सभाहरूमा देखिएको भिड, युवाको सहभागिता र जनताको उत्साहले आगामी निर्वाचनमा साम्पाङ ठूला दलहरूका लागि मुख्य चुनौती बन्ने संकेत देखिएको राजनीतिक विश्लेषकहरू बताउँछन् । श्रम संस्कृति पार्टीको कार्यक्रममा देखिएको भिड केवल नयाँ अनुहारप्रतिको आकर्षण मात्र नभई पुराना दलप्रतिको निराशाको अभिव्यक्ति भएको हर्कका समर्थकहरूको भनाइ छ । कांग्रेस, एमाले र माओवादी केन्द्रबीच विगतमा भएका गठबन्धन र एकीकरण प्रक्रियाबाट असन्तुष्ट बनेका कार्यकर्ता तथा समर्थकहरू श्रम संस्कृति पार्टीतर्फ आकर्षित हुन थालेका छन् । विशेषगरी धरानमा श्रमदान अभियान सञ्चालन गरेर देखाएको छविले साम्पाङलाई फरक पहिचान दिएको उनीहरूको भनाइ छ। गत निर्वाचनमा कोशी प्रदेशमा एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा र जसपाले प्रतिनिधिसभा तथा प्रदेश सभामा सिट जितेका थिए। तर जेनजी आन्दोलनपछि स्थापित राजनीतिक दलप्रति असन्तुष्टि बढ्दै जाँदा नयाँ दल खोल्ने क्रम तीव्र बनेको छ । यसले मत विभाजन हुने र चुनावी नतिजा कुन पक्षमा जान्छ भन्ने विषयमा अन्योलता सिर्जना गरेको राजनीतिक विश्लेषकहरू बताउँछन् । राजनीतिक विश्लेषकका अनुसार पुराना दलहरूले जनताको अपेक्षाअनुसार काम गर्न नसकेकाले नयाँ राजनीतिक शक्तिहरू उदाउँदै गएको छन् । आगामी निर्वाचनमा पनि कुनै दलले स्पष्ट बहुमत ल्याउन नसक्ने सम्भावना देखिएकाले स्थायी सरकार गठन गर्न चुनौतीपूर्ण रहेको छ। यसले देशको राजनीतिक स्थायित्व र समग्र शासन प्रणालीमा थप प्रभाव पार्ने बताइएको छ । पार्टीका अनुसार कोशी प्रदेशका सोलु र ओखलढुंगाबाहेक सबै जिल्लामा आमसभा सम्पन्न भइसकेको छ । काठमाडौं, चितवन र हेटौंडामा गरिएको सभामा समेत उल्लेखनीय जनसहभागिता देखिएको छ। यस आधारमा पार्टीले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ राम्रो सिट जित्ने दाबी गरिएको छ ।