कार्बन तटस्थ पोखरा निर्माण गर्ने लक्ष्य - nagariknews.nagariknetwork.com
पोखरा महानगरपालिकाले पञ्च वर्षीय नगर ऊर्जा योजना सार्वजनिक गरेको छ । पोखरा महानगरपालिकाले २०८२–८६ को पञ्च वर्षीय नगर ऊर्जा योजना मंगलबार सार्वजनिक गरेको हो । ऊर्जा योजना दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजना अन्तर्गत जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था (जिआईजेड), वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, विन्डपावर नेपाल प्रालि र युरोपियन युनियनको सहयोगमा पोखरा महानगरपालिकाको सहरी योजना आयोगले तयार गरेको ऊर्जा योजना पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले सार्वजनिक गरेका हुन् । यो पञ्च वर्षीय योजना पूर्ण रुपमा कार्यान्वयन गर्न कुल एक अर्ब ३३ करोड ३० लाख ८२ हजार लाग्ने अनुमान महानगरको छ ।यस योजनाले दक्ष र दिगो ऊर्जामार्फत समुन्नत पोखराको परिकल्पना गरेको छ भने ऊर्जा स्वच्छता र दक्षतामार्फत कार्बन तटस्थ पोखरा निर्माण गर्ने लक्ष्य लिएको छ । योजनामा घरायसी तहमा स्वच्छ र दक्षतासहित नवीकरणीय ऊर्जाको उत्पादन तथा उपयोगलाई प्रभावकारी बनाउने, व्यवसायमा परम्परागत तथा आयातित इन्धन न्यूनीकरण गर्दै ऊर्जा दक्षतासहित नवीकरणीय ऊर्जाको उपयोग बढाउने नीति लिएको छ । त्यस्तै, उद्योगहरूबाट हुने हरित गृह ग्याँस उत्सर्जन न्यूनीकरण गर्दै नवीकरणीय ऊर्जा उपयोग र दक्षता अभिवृद्धि गर्ने तथा वातावरण संरक्षण र आर्थिक समृद्धिका लागि नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता नीति र शैक्षिक अभियानहरू मार्फत दिगो अभ्यासहरूमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।योजनामा आवासीय क्षेत्रमा ऊर्जाको वितरणलाई नियमित, भरपर्दो र प्रभावकारी बनाउने, परम्परागत ऊर्जा उपयोगलाई न्यूनीकरण गर्दै नवीकरणीय र हरित ऊर्जाको विविधीकरण गर्ने, सन् २०२९ सम्म पोखरा महानगरका प्रत्येक घरमा विद्युतीय चुल्होको पहुँच सुनिश्चित गर्ने, व्यवसायीक क्षेत्रमा हरित अर्थतन्त्र विकासको लागि ऊर्जा दक्षता अभिवृद्धि गर्ने, परम्परागत र खनिज इन्धनको खपतलाई कम्तीमा २५ प्रतिशतले कम गर्ने, औद्योगिक क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जाको उपयोग विस्तार गर्ने, उद्योगहरूको ऊर्जा दक्षता प्रवर्द्धन गर्ने र अन्तर विषयगत क्षेत्रमा लक्षित समुदायमा ऊर्जा दक्षता र पहुँच वृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन र नगर ऊर्जा योजनाको सफल कार्यान्वयनलाई समेटिएको छ ।नगर ऊर्जा योजनाका लक्ष्य तथा उद्देश्यहरू हासिल गर्न ऊर्जा दक्षता प्रविधिहरू लागु गर्दै ऊर्जा वितरण पूर्वाधारको स्तर वृद्धि गर्ने, नवीकरणीय ऊर्जामा सहुलियत तथा अनुदान प्रदान, खनिज इन्धन खपत र ऊर्जा दक्षताका लागि नवीनतम पहलहरू गर्ने, ऊर्जा दक्षता सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन र समावेशी ऊर्जा नीति र नियमहरूको निर्माण तथा कार्यान्वयन गर्ने रणनीतिहरू अवलम्बन गरिने जनाइएको छ । त्यसबाहेक महानगरको ग्रामीण क्षेत्रका घरहरूमा सुधारिएको चुल्हो प्रवर्द्धन, सहरी क्षेत्रमा विद्युतीय चुल्होको प्रयोगमा प्राथमिकता, नवीकरणीय ऊर्जा उत्पादन क्षमतामा वृद्धि, ऊर्जा दक्षता सुधार लगायतका कार्यहरूलाई योजनाबद्ध ढङ्गले व्यवस्थित रूपमा सम्पादन गर्ने नीति पनि योजनाले लिएको छ ।नगर ऊर्जा योजना सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले वि.स. २१०० सम्ममा “समुन्नत पर्यटकीय पोखरा” निर्माणको लक्ष्यसहित पोखरा महानगरपालिका कार्बन तटस्थ सहर निर्माणको अभियानमा लागिरहेको बताए । किफायती, भरपर्दो, दिगो र आधुनिक ऊर्जामा सबै नागरिकहरूको पहुँच सुनिश्चित गर्ने दिगो विकासको विश्वव्यापी लक्ष्य अनुरूप महानगर भित्र स्वच्छ ऊर्जा र ऊर्जा दक्षतामा जोड दिने उद्देश्य सहित नगर ऊर्जा योजना निर्माण गरिएको उनको भनाई छ ।मेयर आचार्यले पोखराको कार्बन तटस्थता लक्ष्य र समृद्ध पर्यटकीय पोखरा निर्माणका लागि समग्र ऊर्जा स्थितिको अध्ययन सहित सम्भावित योजनाहरूको पहिचानका लागि नगर ऊर्जा योजना २०८१–८६ तयार गरिएको बताए । उनले भने,‘यसले महानगरको ऊर्जा दक्ष प्रविधिहरूको एकीकरणसँगै किफायती, स्वच्छ र भरपर्दो ऊर्जा विकासका लागि उल्लेखनीय योगदान गर्ने विश्वास छ ।’ ऊर्जामा नगरवासीहरूको पहुँच अभिवृद्धि, स्थानीय आर्थिक विकासमा टेवा र दिगो विकासका लक्ष्यहरू हासिल गर्ने दिशामा नगर ऊर्जा योजनाले सघाउने उनले बताए ।ऊर्जा विशेषज्ञ डा.नारायणप्रसाद चौलागाई, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा.नारायणप्रसाद अधिकारी, पोखरा महानगरपालिका प्रवक्ता तथा पोखरा २५ का वडाध्यक्ष मोतीलाल तिम्सिना, पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनहर कडरिया लगायतले नगर ऊर्जा योजनाले समग्र महानगरको ऊर्जा व्यवस्थापनमा स्पष्ट नीतिगत मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे ।