बाराबाट कडा चुनावी प्रतिस्पर्धाको संकेत: पूर्व मन्त्री किशान श्रेष्ठसँग भिडन्त गर्ने घोषणा - www.onlinepana.com
बारा । आगामी प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नं. ४ बाट राजनीतिक माहोल तातिँदै गएको छ। जन्जी नेपालका संयोजक तथा सामाजिक अभियन्ता कृष्ण मोहन सहनीले पूर्व मन्त्री किशान श्रेष्ठलाई प्रतिकार गर्दै प्रत्यक्ष चुनावी भिडन्त गर्ने घोषणा गरेपछि स्थानीय राजनीति थप रोचक बनेको छ। सहनीले लामो समयदेखि जनआन्दोलन, सामाजिक न्याय, किसान अधिकार तथा युवाको सवालमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनले बारा क्षेत्र नं. ४ का जनताले विगतका प्रतिनिधिबाट अपेक्षित विकास र सुशासन नपाएको दाबी गर्दै यसपटक परिवर्तनको आवश्यकता रहेको बताए। “बारा क्षेत्र नं. ४ का किसान, युवा र आम नागरिकको आवाज सदनसम्म पुर्याउन म मैदानमा उत्रिएको हुँ,” सहनीले भने, “अब पुरानै अनुहार र पुरानै शैलीले जनताको समस्या समाधान हुँदैन।” पूर्व मन्त्री किशान श्रेष्ठ प्रभावशाली नेता मानिँदै आए पनि उनको कार्यकालप्रति असन्तुष्टि बढ्दै गएको सहनीको आरोप छ। उनले भ्रष्टाचार, बेवास्ता र जनतासँगको दूरीका कारण अब जनताले नयाँ विकल्प खोजिरहेको दाबी गरे। राजनीतिक विश्लेषकहरूका अनुसार सामाजिक अभियन्ताको रूपमा परिचित कृष्ण मोहन सहनीको उम्मेदवारीले बारा क्षेत्र नं. ४ मा कडा प्रतिस्पर्धा सिर्जना गर्ने निश्चित देखिन्छ। विशेषगरी किसान, युवा र परिवर्तन चाहने मतदातामाझ उनको प्रभाव विस्तार हुँदै गएको बताइन्छ। आगामी निर्वाचन नजिकिँदै जाँदा बारा क्षेत्र नं. ४ मा हुने यो चुनावी भिडन्तलाई चासोका साथ हेरिएको छ। The post बाराबाट कडा चुनावी प्रतिस्पर्धाको संकेत: पूर्व मन्त्री किशान श्रेष्ठसँग भिडन्त गर्ने घोषणा appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).