निगालो होटलले सेयर जारी गर्ने - ehimalayatimes.com
काठमाडौं । निगालो होटल लिमिटेडले साधारण सेयर जारी गर्न निष्कासन तथा बिक्री व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्रमा निगालो होटलतर्फबाट अध्यक्ष टिकाराज बराल र मुक्तिनाथ क्यापिटलतर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गर्नुभएको हो । उक्त अवसरमा चार्टर्ड एकाउन्टेन्ट अनिल पौडेलको पनि उपस्थिति रहेको थियो । नगरकोटमा अवस्थित परम्परागत तथा सांस्कृतिक शैलीको वास्तुकला झल्किने उक्त चारतारे होटलले जारी पुँजीको २५ प्रतिशत बराबरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार निगालो होटलले परम्परागत हेरिटेज अनुभव र आधुनिक आतिथ्य सेवामार्फत् फरक पहिचान स्थापित गर्ने लक्ष्य लिएको छ । परियोजनामार्फत् पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । सञ्चालनको अन्तिम चरणमा रहेको होटलमा ६८ प्रिमियम कोठा (सुइटसहित), तीनवटा बैंक्वेट हल, तीनवटा रेस्टुरेन्ट, बार, पौडी पोखरी, स्पा, जिम, ध्यान कक्ष, कफी सप, संगीत क्लबलगायत विभिन्न विश्वस्तरीय सुविधा रहनेछन् । साथै, भविष्यमा उक्त क्षेत्रकै पहिलो क्यासिनो सञ्चालन गर्ने योजना पनि दीर्घकालीन रणनीतिमा समावेश गरिएको छ । सेयर निष्कासनपछि निकट भविष्यमा पोखरा, काठमाडौं र चितवनजस्ता प्रमुख शहरहरूमा सेवा विस्तार गर्ने दीर्घकालीन योजना रहेको कम्पनीका अध्यक्ष बरालले बताउनुभएको छ । करिब एक अर्ब रुपैयाँ लगानी रहेको होटल आगामी चार महिनाभित्र सञ्चालनमा आउने बताइएको छ ।