एमाले-केपी ओलीको नेतृत्वमा नयाँ पुस्ताको पार्टी तयार हुँदै : माधव ढुङ्गेल - janatatimes.com
काठमाडौं, मंसिर १९। नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले पार्टी रूपान्तरणको आधार ‘अनुभवी नेतृत्व’ र ‘नयाँ पुस्ताको क्षमता’को संयोजनमा रहेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले एमालेलाई आधुनिक युगको अपेक्षा अनुसार पुनर्संरचना गर्न ‘दुई पुस्ताको समन्वय’ अपरिहार्य रहेको टिप्पणी गर्नुभएको छ । उहाँका अनुसार नयाँ पुस्ताले जिउँदो आकाङ्क्षा’ बोकेको, स्वप्न देख्न सक्ने, आधुनिक विज्ञान–प्रविधिको गति समात्न सक्ने तथा आवश्यक सीप भएका युवाहरूको प्रतिनिधित्व गर्नुपर्नेछ । साहसी, सक्षम र परिपक्व नेतृत्वको साथमा जीवन र जगतको कथा बुझ्ने, आधुनिक युगको गति पक्रन सक्ने नयाँ पुस्ताको प्रतिनिधि पार्टीलाई चाहिएको उहाँको धारणा छ । सचिव ढुङ्गेलले अनुभवी नेतृत्व र नयाँ पुस्ताको संयोजनले नै पार्टीलाई रूपान्तरणको बाटोतर्फ अघि बढाउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँका अनुसार यस्तो संयोजनले ‘आशाका नयाँ किरणहरू प्रवाह गर्ने’ र पार्टीप्रति जनता तथा कार्यकर्तामा नयाँ विश्वास जगाउनेछ । उहाँले एमालेलाई ‘केपी शर्मा ओलीको नेतृत्वमा नयाँ पुस्ताको पार्टी’का रूपमा प्रस्तुत गर्दै पार्टीभित्रको नेतृत्व हस्तान्तरण, संरचनागत सुधार र सोचको आधुनिकीकरण आवश्यक भएको बताउनुभएको छ । उहाँले लेख्नु भएको छ, ‘जिउँदो आकाङ्क्षा बोकेको, स्वप्न द्रष्टा एउटा साहसी, सक्षम र परिपक्व नेतृत्वको साथमा जीवन र जगतको कथा बुझेको, आधुनिक युगको गति पक्रन सक्ने, आवश्यक सिप सहितको नयाँ पुस्ताको प्रतिनिधि चाहिन्छ, यी दुईको संयोजनले पार्टीले रूपान्तरणको बाटो पक्रिन्छ, आशाका नयाँ किरणहरू प्रवाह गर्छ, एउटा विश्वास जागृत गरिदिन्छ, केपी ओलीको नेतृत्वमा नयाँ पुस्ताको पार्टी-एमाले ।’