सुमनले हङकङमा खेल्ने - nagariknews.nagariknetwork.com
नेपाली अल्ट्रा रनर सुमन कुलुङले हङकङमा आयोजना हुने ट्रान्सलान्टाउ रेसमा प्रतिस्पर्धा गर्ने भएका छन्। हङकङमा आगामी नोभेम्बर १४ देखि १६ तारिखसम्म ट्रान्सलानटाउ रेस हुँदै छ। जहाँ सुमनले ८० किलोमिटर दूरीको रेसमा प्रतिस्पर्धा गर्ने भएका हुन्। उनी सोमबारै राति नै हङकङ प्रस्थान गरिसकेका छन्। केही समयअघि स्पेनमा सम्पन्न वर्ल्ड ट्रेल एन्ड माउन्टेन च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका सुमनले एसियाली धावकहरूमध्ये राम्रो प्रदर्शन गरेका थिए। नेपाल एड्भेन्चर रनिङ फेडेरेसनका अध्यक्ष एकेन्द्र कुँवरले अन्तर्राष्ट्रिय ट्रेल रेसहरूमा सुमन कुलुङले उत्कृष्ट प्रदर्शन गरिरहेको र हङकङमा पनि लय जारी राख्ने विश्वास व्यक्त गरेका छन्। सुमनले पहिलोपल्ट वर्ल्ड ट्रेल रनिङ एन्ड माउन्टेन च्याम्पियन खेल्दा राम्रो अनुभव भएको र धेरै कुरा सिक्ने अवसर पाएको बताए। उनले हङकङमा हुने रेसमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।अल्ट्रा रनर सुमनलाई अस्ट्रियाको सिग्रिड फाउन्डेसनले प्रायोजन पनि गरेको छ। सुमन पर्यटक गाइडको रूपमा काम गर्दा सन् २०२२ मा फाउन्डेसनका पदाधिकारीसँग भेट भएको र त्यसपछि उनी सम्पर्कमा पुगेका थिए। सुमनको मेडिकल जाँच गर्दा विश्वका शीर्ष धावकभित्र उनी पर्ने सम्भावना देखिएको भन्दै सहयोग गरेको फाउन्डेसनले जनाएको छ। सुमन हाल अस्ट्रियामा ट्रेल रनिङ अभ्यासका साथै काम पनि गर्दै आएका छन्। उनी त्यहाँ स्कीलगायत खेलहरू पनि अभ्यास गर्नेछन्। सुमनले वर्ल्ड च्याम्पियनसिपलगायत विभिन्न देशमा हुने अल्ट्रा रेसहरू प्रतिस्पर्धा गर्दै आएका छन्। उनीसँगै फाउन्डेसनकी संस्थापक डा. सिग्रिड स्वार्जेनबाकर र पेट्रा नोकर पनि हङकङ गएका छन्।