Redirecting...

पाटनमा एक साँझ  - sahityapost.com

पाटनमा एक साँझ  - sahityapost.com
Source: shpt

भूगोलमा खोजेर कहाँ भेटिँदो रहेछ र अतीत । तर पनि पुगिरहन्छु अतीतको त्यो स्वर्णिम कालमा । कति शक्तिशाली र सुरम्य छ भूगोलविहीन संसार । चुम्बकले फलामका कणलाई चपक्क तानेझैँ तानिरहन्छ अतीतको गुरुत्वाकर्षणले मलाई । भूगोलविहीन त्यो संसार कति प्रिय लाग्छ । अमीट छाप बनेर हाँसेको छ मेरो रोम रोममा । इतिहास कति अमूल्य हुन्छ । विगत सबैको स्मरणीय हुन्छ । रोचक हुन्छ । तर कसै कसैको पीडादायी हुन पनि सक्छ । मलाई मेरो अतीत सुरक्षित राख्न कुनै भूगोल चाहिँदैन अब । म मेरो भूगोलको विनिर्माण गर्छु साहित्यको संसारमा । भूगोलको त निश्चित मूल्य निर्धारण हुन्छ । अमूल्य छ भूमिविहीन मेरो संसार । स्मरणको लोकलाई न कसैले खोस्न सक्छ । न कसैले आँखा लगाउन सक्छ । तेरो र मेरोभन्दा कति हो कति माथि छ मेरो अतीत । अखण्ड छ मेरो राज्य । कसैलाई भाग लगाउनु पर्दैन मेरो संसार । अशं लाग्दैन अतीतमा । पूर्ण संसारमा रमण गर्छु बारम्बार । छैनन् त्यहाँ इखालु नजर । हक दावी गर्न आउँदैनन् आफन्ती । निर्बन्ध घुम्छु म मेरो अतीतमा । स्वच्छन्द छु । निर्भय छु । स्वतन्त्र छु । परम आनन्दमा छु । किञ्चित क्षोभ छैन अब मलाई । राजाको होस् या रकंको, अतीत त अविस्मरणीय नै हुने रहेछ । हृदयको दर्पणमा छचल्किन्छ अतीत । छोरीहरूसँग पोखिन्छु स्मृतिदंशले । स्मृतिको धूमिल छायाले बोलाइरहन्छु अतीत प्रेमीलाई । मलाई पनि बारम्बार बोलाउँछ उसले । अझ चाडपर्व र उत्सवको समयमा ज्यादै हावी हुन्छ ऊ । दशैं, तिहार र छठमा हृदयले धेरै नै खोज्छ अतीत । वर्तमानसँग दाँज्छ विगत । कृत्रिमता क्षणिक हुने रहेछ शायद । हृदयलाई नछोइ जान्छ कैयौँ भङ्गाला समय । समय त नदी रहेछ, बहिरहन्छ वर्तमान बोकेर निरन्तर । मौलिकता चिरस्थाइ हुँदो रहेछ र त थपक्क बस्दो रहेछ सतिसाल भएर हृदयभरि । त्यसैले होला आजको समय खोज्दैछ मौलिकता । आफ्नोपन । माटोसँगको सम्मोहन । हो, मलाई अतीतको दशैँ र तिहारले धैरै नै बोलाउँछ । हृदयभरि मुस्कुराउँछ अतीतकै जमरा । निधारभरि टल्किन्छ आस्थाको रातो टीका । उसैगरी झुल्छ तिहार भएर सप्तरङ्गी टीका । विश्वासको गोडा झुल्छ लिङ्गे पिङको माथि माथि । सौभाग्यको नयाँ लुगाले स्पर्श गर्छ बारम्बार । हृदयको आँगनभरि डुल्छ आफ्नै बाल्यकाल । माटो, खेत, खल्यान, पाखा, पहरा, नदी किनारा सबै सजीव भएर बग्छन् कलकल । फूलबारीभरि दौडिन्छन् मेरा हात, टिप्नलाई मखमली र सयपत्री । भरिन्छ डाली गोदावरी र चाँगेँसहित । देउसी र भैलोको संङ्गीत गुञ्जिन्छ अलौकिक । यसरी मौसम अनुसार आइदिन्छ मेरो अतीत हरघडी । यो वर्ष पनि आयो वर्तमानमा छाया भएर अतीतकै चाडपर्व । छोरीहरू हुर्किए । ठूला भए । निकै वर्ष भयो बाल्यकाल छोडेर वर्तमानमा हिँडेको । तर पनि छोड्दैन मेरो मन अतीतमा डुल्न । असोज २३, २०८१ बडादशैँको छैटौँ दिन छ । माता कात्यायनीको पूजाआजा धुमधामले सम्पन्न हुँदैछ घरमा । सासू आमा बडो लगनका साथ पाठ गर्दै हुनुहुन्छ चण्डी । रौनक छाएको छ शारदीय वातावरणको । आरती गर्ने समय शङ्ख फुक्न बोलाउनुहुन्छ सासूआमा ! कोसिस गर्छु उत्कृष्ट तरिकाले शङ्खनादको । ससुराबा भन्नुहुन्छ काइदाले बजायौ तिमीले शङ्ख । तारिफ सुनेर मक्ख पर्छु । साँझको आरतीमा पनि बजाउनुपर्छ शङ्ख । भान्सामा केही घण्टा हराएर सबैको पेटपूजामा लाग्छु । भाँडा माझेर पारिला घाममा राखिदिन्छु । सूर्यको ताप र प्रकाशले टलल्ल टल्किन्छन् भाँडाकुँडा । हृदय प्रफुल्ल हुन्छ । किताब पढ्ने लत बसेको छ । आराम मिल्छ केही पढ्दा अनि लेख्दा । तर दशैंमा किताब मात्र समातेर बस्नु पनि भएन । परिवारसँग बसेर सिनेमा हेर्ने योजना बनाउँछु । अनि नेपाली सिनेमा खोज्छु युटुबमा । हिजो र अस्ति पनि श्रीमान् सँगै बसेर हेरेँ केही उत्कृष्ट नेपाली सिनेमा । आज ‘जारी’ हेर्ने योजना छ । तर छोरीहरू बजार जाने सल्लाह गर्दैछन् । कान्छी छोरी भन्छे, “मामु र बाबा पनि जानुपर्छ हामीसँग घुम्न ।” म भन्छु, “नानी हो, तिमीहरू जाओ हामी घरै बस्छौँ । बाहिर गएर के खानु ? घरमै म पकाउँछु मीठो मीठो परिकार ।” जेठी छोरी विद्यार्थी नै छ । आफ्नो पकेट मनीको खातिर गर्छे सानोतिनो काम । कति नै छ होला र पैसा तर पनि भन्छे, “बाबा ! आज म खर्च गर्छु । हिँडिस्यो । मीठो आइसक्रिम खुवाउँछु । कोरियनले बनाएको स्वादिष्ट किमबाप पनि खुवाउँछु ।” म हतारिँदै भन्छु , “नानी भो ! भो !! तिमीहरू जाओ, घुम, खाओ । हामीलाई त्यसै आनन्द आउँछ ।” तर मान्दैनन् दुवै छोरीहरू । जिद्दी गर्छे कान्छी छोरी, “हजुर के कलमका साथीहरूसँग मात्र घुम्ने ? बल्लतल्ल दशैँ आएको छ । अरूको गाउँ छ, हाम्रो गाउँ पनि छैन । कति हेरेर बस्नु किताब । खुरुक्क हिँडिस्यो, नत्र हामी पनि नजाने ।” अँध्यारो हुन्छ कान्छीको अनुहार । “अरूको गाउँ छ, हाम्रो गाउँ छैन ।” छोरीका शब्द मर्मभेदी भइदिन्छ । अनि बन्द गर्छु टि.भी., कपाल नुहाएकी थिइनँ आज । छोरीहरूको खुशीमा खुशी हुन नुहाउँछु कपाल । आमाबाबालाई खाजा ठिक्क पारेर हामी हिँड्छौँ पाटनतिर । भाटभटेनी, झम्सिखेल, लाबिम मल र पाटन दरबारलाई गन्तव्यमा राखेका छौँ । जेठी छोरी भन्छे, “बाबा ! मामु ! मैले भनेकी छु सबै थोक म गर्छु त्यहाँ बीचबीचमा पैसा कति हो भनेर मलाई किचकिच नगरिस्यो है । आनन्दले चील भएर हिँडिस्यो ।” हामी दुवैजना छोरीलाई आश्वस्त पार्छौँ । हृदय पनि आनन्दित भएको छ । छोरीहरू हामीलाई रमाउन कर गर्छन् । जिम्मेवारीको भारी पर राख्न सल्लाह दिँदै छन् । उनीहरूसँगै उनीहरूकै उमेर सापट लिएर हिँड्न कर गर्छन् । खुशी भएर हामी पनि उनीहरूकै उमेरमा हिँड्छौँ । साँच्चै हो रहेछ, छोरी सौभाग्यले पाइन्छ । हाम्रो अभिभावक भएर छोरीहरू अगि लागेका छन् । किनमेलमा हामीलाई सहभागी गराएका छन् । उनीहरूकै रहरको छ आज बजार । छोरीहरू भन्छन्, “हजुरहरू पनि आनन्दले के के चाहिन्छ किनिस्यो ।” तर आमाबाको मन के मान्थ्यो र हेरिहाल्थ्यो मूल्यको स्टिकर । छोरीहरूका आँखा छलेर केही चीज हामीले पनि छनौट गर्यौँ । त्रिपुरेश्वरको भाटभटेनीमा छौँ । किनमेल सकिएपछि नानी भन्छे, “अब हिँड्दै थापाथली जाऔँ, त्यहीँबाट गाडी चढ्नुपर्छ । दमकल चौक झरेर हामी पहिले हेस्टमा जान्छौँ । जहाँ कोरिन खाना खान सकिन्छ । मेरी मामुलाई किमबाप मनपर्छ हैन त ! डोकीडोकीको भन्दा मीठो हुन्छ । त्यसपछि हामी सिल्क आइसक्रिम खान मिथिला थालीसँगै रहेको ठाउँमा जान्छौँ ।” जेठी छोरीको पछिपछि हामी हिँडेका छौँ । त्रिपुरेश्वरको प्रतीक्षालय नजिकै पान पसल रहेछ । सुवास सरलाई पनि कताबाट आज पान खाने रौस चल्छ । मीठा पान खाँदै हिँडेका छौँ । सडक छेउ छेउ । थापाथली पुगेर चढ्छौँ सफा ट्याम्पो । केही समय पछि हामी दमकल चोक ओर्लिन्छौँ । छोरीहरूको योजना अनुसार पहिले हामी ‘हेस्ट’ कोरियन खाना खाने होटलमा छिर्छौँ । अहो ! कति स्पष्ट बोलेका कोरियन भाइले नेपाली । त्यति साँगुरो ठाउँलाई पनि कति व्यवस्थित राखेको । सफा पनि उस्तै छ । शान्त छ वातावरण । सेवा पनि चुस्त रहेछ । सिँढी उक्लिएर हामी एकतला माथि जाँदैछौं । वरिपरि देख्छु प्रेमिल जोडीहरू । कोही साथीहरूसँग पनि आएका छन् । युवायुवतीहरूको नै आगमान ज्यादा छ । आमाबालाई लिएर त मेरा छोरीहरू मात्र पो आएका छन् त । सबैजना आ-आफ्ना प्रेमी-प्रेमिकाको काँधमा टाउको अड्याएर रमाएका छन् । खाएका छन् । म हेर्छु पल्याकपुलुक । छोरी मलाई आँखा तर्छे । अरूलाई त्यसरी नहेर्नू भनेर इसारा गर्छे । नानीहरूले केक पनि मगाएका छन् । निकै स्वादिष्ठ लाग्यो केक पनि । क्वाप्ल्याक्क खान्छु एक टुक्रा । झ्यालतिरको टेबुलमा चारैजना बसेका छौँ । घाम ह्वात्तै हामीलाई पोल्न आइपुग्छ । झ्यालको तुना तान्छु घाम छेक्न । तानिँदैन त्यो पर्दा । खोई कताबाट देखिन् कोरियन आमैले मैले झ्यालको पर्दा लगाउन नसकेको । उनी तुरुन्त आएर त्यही तुना तानतुन पारेर घाम छेकिदिन्छिन् । घामको ज्योति मत्थर भयो अनि हामी किमबापमा रमाउन थाल्यौँ । कोरियनहरूको व्यापार देखेर म सोच्न विवश हुन्छु, यिनीहरूको व्यापार कति उत्कृष्ट । कत्रो विश्वास आफूप्रति । साँच्चै आफूप्रतिको विश्वास नै रहेछ प्रगतिको आधार । सिप र लगनले मनलाई गति दिन्छ । शायद पूजा गर्छन् यिनीहरू आफ्नो पेशालाई । बडो तन्मयताका साथ लागेका छन् सबै परिवारै । हेस्टको मेचमा बसेर म पुगेकी छु आफ्नै घर गुर्जुधारा । जहाँ आजभन्दा १५ वर्ष अगाडि तीनजना कोरियन पाहुनाहरू आएका थिए । ती पाहुनाहरूलाई स्मरण गरेकी छु अहिले । अनुहार पनि मिलेको मिलेको झैँ लागेर आयो । कोरियनहरू प्रायः उस्तै उस्तै लाग्छन् मेरा आँखालाई । तिनीहरूले नाम पनि नेपाली राखेका थिए । एउटीको नाम मुन थियो । अर्कीको चन्द्रमा । कोरियन दाइ पनि सँगै थिए । निकै मिलनसार र हँसिला कोरियनहरू । हाम्रै घरमा १५ दिनसम्म बसे । जानेबेला मलाई एउटा रातो पर्स दिएर गई चन्द्रमाले । आज पनि त्यो पर्स नयाँ नै छ । कस्तो अचम्म कतै पाप्रा पनि गएको छैन यत्रा वर्ष । अर्को कालो पर्समा चाहिँ केही द्रव्य राखेर पनि दिएका थिए । मेरो सेवा देखेर होला कोरियनहरूले कोसेली पनि टन्न दिएर गएका थिए । तर मैले त्यो कोरियन खानाहरू, त्यो रातो लेदो, रातो झोल र किम खान नजानेर मिल्काएकी थिएँ । आज त्यही कोरियन खाना बडो स्वाद लिएर हेस्टमा खाँदैछु । “समय समय कि बात है भाइ !” भन्दैछ मेरो मन । त्योबेला मेरो घर निकै अव्यवस्थित थियो । घरमा एउटा फ्रिज पनि थिएन । कमोटसम्म नभएको एक तल्ले घर । तातो पानीको व्यवस्था, आकाशको फल । गतिलो ग्याँस स्टोभ थिएन, ओभन हुने त झन् कुरै भएन । भर्खरै काठमाडौँमा घर बनाएर सम्पन्नशाली भएकी मलाई कोरियनहरूको आँखाले निकै दीनहिन देखे । फ्रिज घरमा नहुनु उनीहरूलाई आश्चर्यजनक भएछ । छक्क परेछन् । मेरो काठमाडौँको आधुनिक जीवनशैली त ढुङ्गेयुगको पो लागेछ उनीहरूलाई । मेरो घर र म त उनीहरूका लागि म्युजियम जस्तो भएछ । हातैले लुगा धुने, भाँडा माझ्ने । पीठो मुछ्ने । कोरिया गएपछि दिदीलाई भन्थे रे, “तेरो बहिनी निकै कमजोर रहिछ, त्यसलाई एउटा फ्रिज किन्ने पैसा पठाइदे है । हामी पनि सहयोग गर्छौँ ।” निकै दिनसम्म हामी हाँस्यौँ । अझ हामीले तर्क दिएका थियौँ फ्रिज नहुनुको कारण, “काठमाडौँ चिसो छ तरकारीहरू बाहिरै राखे हुन्छ । फ्रिजको आवश्यकता नै पर्दैन हामीलाई त ! तर आज मुनले मलाई सोधी भने म के भन्दी हुँ ! अहिले त मसला र बेसारमा पनि चिल्सा लाग्दैन भनेर डिप फ्रिजमा घुसार्ने गर्छु । आखिर उनीहरूका लागि हाम्रो आधुनिक घर पुरानो भयो तर पनि त्यो किसिमको अफ्ठ्यारोमा पनि बस्न त हाम्रै घरमा बसे । एक दिन त निकै हाँस उठ्ने घटना घट्यो । चन्द्रमा ट्वाइलेट पसिछन् । केही समय पछि मुन पनि पसिन् । म भान्साबाट सुन्दैछु उनीहरूको गुनगुन । केहीबेर पछि दाइपनि छिरे ट्वाइलेटमा । म छक्क परेकी छु । लौन किन पसे त तीनैजना एक्कैचोटि ट्वाइलेट । निकै बेर धारा खोलेका छन् । हाँसेका छन् । वादविवाद हुँदैछ । घनिभूत छलफल हुँदैछ ट्वाइलेटमा । विमर्श लामो भएपछि मैले नै जिज्ञासा राखेँ । मलाई देखेर मुन अलि असहज मान्दै भन्छे , “ट्वाइलेटमा फ्लस भएन । जाम भयो ।” उनीहरूलाई बाहिर जान अनुरोध गर्दै म ट्वाइलेटमा पसेँ । राम ! राम ! कुन दिनको ऋण खाएकी रहेछु यिनीहरूको । पीरो, सुख्खा र सेजवाइन खाएर अरट्ठिएको आची त तरबार भएर ठाडो परेर उत्तिमाथि उभिएको । मलाई वाकवाकी लागेर मर्नु भयो । अब के गर्ने अतिथि देवता हुन् भनेको छ । उता दाजु भाउजू पढ्दैछन् कोरियामा । कति सहयोग गर्छन् उता । हे ईश्वर ! विदेशी पाउना । कति खान सकेका पीरो । मैले गोर्खाली ठानेँ आफूलाई । कम्मर कसेँ । त्यो मानव मलको तरबारे आक्रमणलाई भाटाले परास्त्र पारेँ । मैदानमा लडाएर किचिमिचि पार्दै पानीको धारा खन्याएँ धूलिट्याम पारेँ । पूरै ट्वाइलेट सफा पार्न मलाई करीब एक घण्टाभन्दा बढी लाग्यो । आखिर अन्नको बिद्रूप रूलसँगको युद्धमा मेरै जित भयो । नुहाएर पनि निकै दिनसम्म दिङमिङ लाग्यो । उनीहरू फ्रिज नभएकोमा बडो चिन्तित भएर कोरिया फर्किए । मैले हातले पिठो मुछ्दा होस् या रोटी पकाउँदा, खिच्थे भिडियो । कोरियनमा के के भन्थे भन्थे । साउथ कोरियामा भिनाजु पी.एच्.डी. गर्दै हुँदा नेपाल घुम्न आएका कोरियन पाहुनाहरू व्यापारका लागि स्थलगत भ्रमणमा आएका थिए शायद । पछि नेपालमै आएर व्यवसाय गरे । लगनखेलमै खोलेका थिए होटल । आफ्नो देशको मौलिक खाना नेपाल भित्र्याएर यस्तो तहल्का मच्चाएका छन् कोरियनहरूले । युवा पुस्ताले भरिएको छ यो दुईतल्ले होटल । काममा वफादारीता र इमानदारीता भयो भने भूगोलले पनि रोक्न नसक्दो रहेछ परिश्रम । अब त किमबाप युवापुस्ताका लागि नेपालमा पहिचान नै भइसक्यो । संस्कृति नै बनिसक्यो किमबाप । हेस्टको टेबुलमा बसेर मेरो हृदयले कल्पियो । हामी नेपालीहरू पनि बाहिर मुलुकमा गएर यसरी नै सेल रोटी, अर्सा, अनर्सा , ढकनी बनाएर लोकप्रियता हासिल गर्न सक्छौँ होला त ? मेरो सोचमग्न अनुहारलाई कैद गर्दैछे जेठी छोरी । अब हामी मिथिला थालीको मुखैमा पुगेका छौँ । स्मरण गर्छु सेफ सन्तोष साहलाई । हामी अहिले आइसक्रिम चाख्दैछौँ । थरी थरीका बडो सुस्वादु छ आइसक्रिम । सिल्क रे ब्रान्डको नाम । सबैले डबल कोन खाँदैछौँ । बडो प्रितिले । अचम्म लाग्यो, आइस्क्रिमको स्वाद फलफूलको मिश्रणले छुट्टै स्वादिलो छ । नानीलाई सोध्छु मूल्य, मरिगए भन्दिनँ । रिसाउँछे, “चुप लागेर खाइस्यो है किचकिच नगरिस्यो” भन्छे । मेरो मन सोच्छ, पक्कै तीन चार सय पर्यो होला । निकैबेर बस्छौँ । झम्सिखेलको सिल्क स्टेसनमा । फोटो खिच्न ठूलो क्यामरा पनि बोकेकी छ छोरीले । ख्याच्च ख्याच्च पार्छे एङ्गल मिलाएर । मन निकै प्रसन्न भएको छ । छोरीको रोजाइ निकै मन परेको छ । जिब्रो दङ्ग परेको छ । हाम्रा गोडाहरू अब लबिमहलतिर लम्किएका छन् ।