देउवा–ओलीबीच खटपट भएकै बेला भारतीय विदेश सचिव नेपाल आउँदै, सत्तापलट होला ? - bishwokhabar.com
काठमाडौं– भारतीय विदेश सचिव विक्रम मिस्री भदौ १ गते नेपाल भ्रमणमा आउने भएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिनेछन् । परराष्ट्र मन्त्रालयका अनुसार सचिव मिस्रीको भ्रमण प्रधानमन्त्री ओलीको प्रस्तावित भारत यात्रा तयारीसँग सम्बन्धित छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले मिस्रीको भ्रमणबारे पुष्टि गरे पनि सटीक मिति चाँडै सार्वजनिक गरिने जानकारी दिए । भ्रमणका क्रममा मिस्रीले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा लगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । स्मरणीय छ, सचिवमा नियुक्त भएको केही समयमै मिस्री अघिल्लो वर्ष नेपाल आएका थिए । त्यो भ्रमणलाई उनले ‘परिचयात्मक’ भनेका थिए । त्यतिबेला पनि उनले ओलीलाई भारत भ्रमणको निम्तो दिने चर्चा चलेको थियो । तर, अन्ततः उनी भेटघाटमै सिमित भई फर्किएका थिए । यो पटक भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर मिस्री नेपाल आउन लागेका हुन् । जसअनुसार ओलीको भारत भ्रमण निश्चित भइसकेको र मिति मात्र घोषणा गर्न बाँकी रहेको बताइएको छ । यहीँबेला प्रमुख सत्तारूढ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र सत्तासाझेदार दल एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच खटपट बढेको छ ।