Redirecting...

‘नेपाली वर्णमालाका वर्णहरू’ र शर्माको भाषिक चिन्तन - sahityapost.com

‘नेपाली वर्णमालाका वर्णहरू’ र शर्माको भाषिक चिन्तन - sahityapost.com
Source: shpt

नेपाली भाषाको चिन्तन परम्परा अहिलेसम्म पनि कायम रहेको छ । अझै पनि नेपाली भाषाका विभिन्न पक्षबारे अध्ययन र वादविवाद चलिरहेको छ । यो क्रम नेपाल र भारतका विभिन्न नेपाली साहित्यिक-भाषिक संस्थानहरू यस दिशातर्फ अझैसम्म अग्रसर छन् । नेपाली भाषा चिन्तन परम्परामा मुकुन्दशरण उपाध्याय, शिवराज आचार्य हुँदै दार्जीलिङका शिवराज शर्मा पनि एक प्रमुख हुन् । शर्माले दार्जीलिङमा बसेर नेपाली भाषिक चिन्तन लेखन गरी जीवन बिताएका हुन् । उनले नेपाली व्याकरण लेखन र अध्ययनमा जीवन बिताए । उनी ठेट नेपाली भाषा र संस्कृत दुवैको गहिरो ज्ञान भएका व्यक्ति थिए । उनका प्रकाशित व्याकरणका पुस्तकहरूमा ‘जोर कि बिजोर? ‘विकास प्रक्रिया नेपालीका सर्वनाम र अव्यय शब्द……’ ‘माध्यमिक नेपाली व्याकरण र रचना’, ‘पूर्वोत्तर माध्यमिक नेपाली व्याकरण र रचना’, ‘नेपाली वर्णमालाका वर्णहरू र मेरा अन्य लेख’ आदि हुन् । यीबाहेक कक्षागत स्तरअनुसार केही नेपाली व्याकरण पुस्तक पनि प्रकाशित गरेका छन् । शर्माले जीवनभरि नेपाली व्याकरण पुस्तक लेखे, दार्जीलिङको टर्नबुल स्कुलमा नेपाली व्याकरण पढाए, पुस्तक पसल चलाए, प्रकाशन संस्था खोलेर नेपाली भाषा र साहित्को सेवा दिएका छन् । उनके केही मान-सम्मान र पुरस्कार पनि पाएका थिए । अहिलेको घडीमा नेपाली भाषाको यथावत् रूपलाई खल्बल्याउने र बचाउने होड चलेजस्तो छ । नेपालको सर्वोच्च न्यायालयले पुरानो रूप नै यथावत् राख्ने निर्णयात्मक आदेश सुनाएर नेपालमा त्यो भाषिक विवाद केही मत्थर भएको छ भने ठीक त्यसकै केही महिनापछि सिक्किमको हाइकोर्टले पनि यता भारतमा प्रचलित नेपाली भाषा वर्ण र वर्तनीको यथारूप राख्नुपर्ने, पाठ्यक्रमलाई सच्याउन पर्ने आदिजस्ता आदेश दिएपछि यता भारतमा पनि भाषिक विवाद मत्थर भएको छ । दुवैतिरको भाषा विवादको प्रकृति उस्तै छ । यद्यपि दार्जीलिङका शिवराज शर्माले २०११ तिर नै “नेपाली वर्णमालाका वर्णहरू र मेरा अन्य लेख” भन्ने पुस्तक गरिसकेका छन् । यो पुस्तक भाषिक अध्ययनका निम्ति उत्तिकै उपयोगी र सहायकसिद्ध छ । भाषामा क्रान्ति कि विकास ? कतिपय अध्येताहरूले नेपाली भाषाका बारेमा आफ्नो विद्वता देखाउन केही न केही नयाँ कुरा देखाउन चाहन्छन् । दुई–चार भाषा विज्ञानका पुस्तक पढेपछि आफूले बोल्दै आएको सिकेर आएको भाषालाई नै आफ्नो विचार थोप्न पुग्छन् । भाषा परिवर्तनशील वस्तु हो । यो समयमा स्वतः परिवर्तन हुन्छ । परिवर्तनलाई विकास मान्न सकिन्छ । यद्यपि कसैले यो भाषालाई म यसरी लेख्छु भनेर आफ्नो विचार थोप्नु र अरूलाई पनि थोप्नु लाउनु उचित होइन । भाषाविज्ञानका सिद्धान्त पढेर आफ्नो भाषालाई पनि त्यही साँचामा हाल्नु उचित होइन । सस्युर, हकेट, चम्स्की, ब्लुमफिल्ड, सपिर, बेञ्जामिन हुउर्फ, पिङ्कर, डेभिड क्रिस्टल, रोमन ज्याकब्सन आदिका भाषावैज्ञानिक सिद्धान्तअनुरूप हामीले प्रयोग गर्दै आएको भाषालाई ढाल्नु हुँदैन । भाषिक व्यवस्थाका वर्ण, व्याकरणिक कोटीहरू, पदयोग-पदवियोग, आगन्तुक शब्द प्रयोग आदि जस्ता क्षेत्रमा विभिन्न मत र वाद-विवाद चर्किरहेका छन् । यतिसम्म कि मुलुक न्यायलयहरूले समेत आदेश दिएका छन् । भाषिक सुधारका नाममा हाम्रा परम्परागत वर्ण र व्याकरणिक प्रणालीमाथि भाषा विज्ञानको प्रभावमा आएर बिथोल्ने गरेको देखेर दार्जीलिङका शिवराज शर्मा उद्विग्न छन् । ‘नेपाली वर्णमालाका वर्णहरू र मेरा अन्य लेखहरू’ नामक पुस्तकमा शिवराज शर्माले संस्कृतको ऋक्प्रातिशाख्य र नेपाली वर्णमालाका आधारमा आफ्नो अध्ययन प्रस्तुत गरेका छन् । यस पुस्तकको लेखनको पृष्ठभूमि भने गान्तोकमा आयोजना भएको नेपाली भाषाको हिज्जे र शब्दावली मानकीकरण माथिको चार दिवसीय सङ्गोष्ठीबाट उब्जिएको प्रतिक्रिया स्वरूप यस पुस्तकको सिर्जना भएको छ । नेपाली वर्ण व्यवस्थाको अध्ययनमा यो पुस्तक महत्त्वपूर्ण छ । यसमा प्रतिपाद्य विषयहरूलाई अध्ययन गर्दा मुख्य गरी दुई पक्ष पाइन्छन्- वर्ण विचार र व्याकरण विचार । पुस्तकमा लेखकले आफूले अध्ययन गरेको संस्कृत र नेपाली व्याकरणलाई नेपाली पाठकसामु प्रस्तुत गरेर आफ्नो मत अघि सारेका छन् । यसमा शर्माले गान्तोकमा आयोजित नेपाली वर्णमाला सङ्गोष्ठीमा उठान गरिएका मुख्य गरी तीनवटा पक्षमा आफ्नो आपत्ति जनाएका छन्- वर्णमाला, वर्तनी र व्याकरणिक । उनले कतिपय नेपालीमा प्रयोग भइरहेका वर्णलाई नेपाली वर्णमालाबाट हटाएका विरोध गरेका छन् । भाषा परिवर्तनशील वस्तु हो भन्ने कुरा सत्य हो । यसको परिवर्तन ज्ञात-अज्ञात रूपमा दैनिक रूपमा भइरहेको हुन्छ । यद्यपि भाषा परिवर्तनशील हो भन्दै जानीजानी परिवर्तन गर्नु उचित हुँदैन । भाषाको परिवर्तन Evolution बाट हुनुपर्छ तर Revolution होइन । हामीले प्रयोग गरिरहेको वर्णलाई अब चाहिंदैन रहेछ भनेर परित्याग गर्नु उचित होइन । त्यस्ता नचाहिने भनेका केही वर्ण चाहिने नै हुन् । जस्तो तलथोप्ली ड़ ढ़ चाहिने हुन्, प्रयोग भइरहेका छन्, प्रयोग गर्दा प्रयोक्तालाई अपठ्यारो परेको छैन । त्यसैगरी पञ्चम वर्णका रूपमा रहेका ङ ञ ण न म पनि आफ्नो आफ्नो वर्णसित सम्बन्धित छन्, तिनलाई प्रयोग गर्दा प्रयोक्तालाई पनि सजिलो परेको छ । शिवराज शर्माका मतमा नेपालीमा ‘ड़, ढ़’ अस्तित्वमा रहेका वर्ण हुन् । नेपाली वर्णमालामा यी दुई वर्णलाई हटाउनु हुँदैन । उनका अनुसार ऋक्प्रातिशाख्यको उद्धरण दिएर भनेका छन्- एकै पदका दुई स्वरका बीचमा रहको ड र ढ को उच्चारण गर्दा जिब्रो मूर्धा भन्दा अलि मनि रगडिइ ड़ ढ़ यस्तो उच्चारण हुन्छ । जस्तो जड़ (ज-को अ र ड को अ –का बीचमा रहेको रहेको हुँदा ड़ो भयो) । गेड़ो- गे को ए र डो-को ओ-का बीचमा रहेको हुँदा । गड़बड़ साँढ़े (साँ-को आ र ढे-को ए-का बीच रहेको ढ) आदि । दुई स्वरभित्र नपरेका ड र ढ-को ड र ढ नै उच्चारण हुन्छ, थोप्लो लाग्दैन । जस्तो डालो, डोको, डमरू, ढाल, ढिकी, ढक्की आदि । दुई स्वरभित्र परे तापनि एकै पदभित्रका छैनन भने थोप्लो लागेर ड़ र ढ़ हुँदैनन् । जस्तो निडर नि डर, दी पद मिली बनेको) बिडम्बना । यस पनि अर्ध-स्वर हुनाले त्यससित जोडिएका विकल्पले ड़ –ढ़ हुन्छ । जस्तो गड़्याङ-गुड़ुङ, गँड्यौला-बढ्यो- बढ़्यो आदि । चन्द्रविन्दुयुक्त दीर्घ स्वरदेखि परतिर रहेको ड – ढ विकल्पले ड़ – ढ़ हुन्छ । जस्तृ जाँड़, चाँड़ो, काँढ़ो, सिँढ़ी, पिँढ़ी आदि । यसैगरी पुस्तकमा प्रत्येक स्वरवर्ण र व्यञ्जनवर्णहरूको उत्पत्तिस्रोत, मूल संस्कृत र नेपालीमा प्रयुक्त हुने नाम, प्रत्येकको प्रयोग, उच्चारण स्थान, उच्चारण अवस्था, प्रयत्न आदिबारे वर्णन गरिएको छ । यसमा प्रत्येक वर्णसित सम्बद्ध पञ्चम वर्णको अवस्थानबारे गहन अध्ययन गरिएको छ । वर्णको अध्ययन गर्ने क्रममा अयोगवाह, दवासविन्दु अथवा विसर्ग आदिको अवस्थान र प्रयोगबारे पनि अध्ययन गरिएको छ । उनले मूलस्वर र सन्धिस्वर गरी स्वरवर्णहरू ११ वटा, क-देखि मसम्मका स्पर्श व्यञ्जनवर्णहरू २५ वटा, अन्तःस्थ व्यञ्जनवर्णहरू य र ल व गरी ४ वटा, ऊष्म व्यञ्जनवर्णहरू- श, ष, स, ह गरी ४ वटा, अयोगवाग-अनुस्वर र विसर्ग गरी २ वटा, संयुक्त व्यञ्जनवर्णहरू क्ष, त्र, ज्ञ गरी ३ वटा नेपालीको एउटा मात्र अनुच्चारित ऋ वर्ण १ वटा गरी जम्मा ५० वटा वर्णहरू रहेका छन् । उनले माहेश्वर सूत्रहरूमा संस्कृत व्याकरण र नेपाली व्याकरण फर्मुलामा पाणिनीका चौध सूत्रलाई पनि संक्षिप्त रूपमा चर्चा गरेका छन् । पुस्तकमा सन्धि प्रकरणबारे गहन अध्ययन गरेका छन् शर्माले । सन्धिका पद्धति, प्रकृति, प्रकारबारे प्रकाश पार्दै पारेका छन् । संस्कृतका सन्धिका झय् वर्ण, खर् वर्ण र चर् वर्णको उल्लेख गरी तिनका अवस्थाको चर्चा गरेका छन् । यसमा स्वरवर्णका पनि सवर्ण र असवर्ण, तिनलाई केलाउने संस्कृतको सूत्र, व्य़ञ्जन सन्धि भेदोपभेदक केलाउँदै तिनको सोदाहरण प्रयोग देखाएका छन् । पदप्रकरणमा सुबन्तपद र तिङन्तपदबारे संस्कृतको पाणिनीको सूत्रसहित व्याख्या गरेका छन् । लेखकले उठाएको आपत्तिमा अर्को हो नेपाली व्याकरणमा लिङ्ग व्यवस्थामा नपुंसकलिङ्गलाई हटाउँदा रहेका छ । पुलिङ, स्त्रीलिङ र नपुंसकलिङ्गलाई मिलाएर क्रियापदका आधारमा मात्र पुलिङ र नपुंसकलिङलाई एउटै मानी स्त्रीलिङ र स्त्रीलिङ्गेतर भनी अवैज्ञानिक वर्गीकरण गरेकामा अपत्ति गरेका छन् । केही भाषाविज्ञानी विद्वानले लेखेको व्याकरणमा नेपाली लिङ्ग व्यवस्थालाई गडबडी गरी नपुंसकलिङ नै हटाउने दुष्प्रयास गरेकामा आक्रोशको भाव व्यक्त गरेका छन् । हरि रूखबाट खस्यो भन्दा ‘को खस्यो ? र फल रूखबाट खस्यो भन्दा ‘के खस्यो ? भन्दा पुलिङ र नपुंसकलिङ छुट्टाउन नसकेको कुरा उल्लेख गरेका छन् । यसैगरी सङ्गोष्ठीमा प्रस्ताव भएको कालको दुई वर्गीकरण- भूतकाल र अभूतकाल गरिएको छ । यसमा क्रियाको रूप एउटै हुन्छ भन्ने आडमा वर्तमान काल र भविष्यत् काललाई एउटै ठानेर अभूतकाल भन्ने उटपट्याङ किसिमको वर्गीकरण गरेको देखेर शर्माले घोर आपत्ति गरेका छन् । भाषाविज्ञानका आडमा हाम्रो समाजले मान्दै आएका व्याकरणिक व्यवस्थालाई खलबल पार्ने प्रयास गरेकामा शर्माले घोर खण्डन गरेका छन् । उनका अनुसार हाम्रो भाषाको वर्ण र वर्तनी व्याकरणिक व्यवस्था आफ्नै छ । हाम्रो भाषाको मूल आधार संस्कृत भए पनि लोकप्रचलित व्यवस्था पनि उत्तिकै महत्त्वपूर्ण छ, त्यसलाई खल्बल्याउनु हुँदैन भन्ने तर्क प्रस्तुत गरेका छन् । गान्तोकमा आयोजित सङ्गोष्ठी निर्णय गरिएको अर्को व्याकरणिक पक्ष के भने संयुक्त क्रियालाई लिएर आपत्ति गरेका छन् । उनका अनुसार संयुक्त क्रियालाई जोडेर नै लेख्नुपर्दछ । जस्तो ‘गरिदिइहाल्नुभएछ’- यसमा चन्द्रिका व्याकरणका अनुसार संयुक्त क्रिया जोडेर लेख्नुपर्दछ । संगोष्ठीले ‘खाई’ ‘दिई’ ‘हाल्यो’ भन्ने अवैज्ञानिक पदवियोगको निर्णय गरिएको कुरा उल्लेख गरेका छन् । यस पुस्तकमा नेपाली शब्दभण्डारबारे पनि गहन अध्ययन प्रस्तुत गरेका छन् । उनले नेपाली शब्दभण्डारको स्रोत, प्रकार, प्रकृति आदिबारे चर्चा गरेका छन् । उनका अनुसार नेपाली भाषाको शब्द ढिकुटीमा दुई किसिमका शब्द छन्- मौलिक र आगन्तुक । मौलिकमा पनि तत्सम, अर्धतत्सम र तद्भव शब्द रहेका हुन्छन् । आगन्तुक शब्दमा पनि भारोपेली र अभारोपेली गरी दुई भेद छन् । यसमा मूलसंस्कृतबाट, संस्कृतबाट प्राकृत हुँदै आएका शब्दहरू, संस्कृतबाट लिइएका केही नेपाली धातुहरू, संस्कृतबाट प्राकृत हुँदै आएका केही नेपाली धातुहरू, फारसी भाषाबाट आएका शब्दहरू, अरबी भाषाबाट आएका शब्दहरू, अरबी र फारसीका योगबाट बनेका शब्दहरू, उर्दूबाट, हिन्दीबाट बङ्लाबाट, अङ्ग्रेजी भाषाबाट, तुर्केली भाषाबाट, भोट-बर्मेली परिवार वा नेपालका विभिन्न प्रान्तीय भाषाबाट आएका शब्दहरू तथा अन्य भाषाबाट आएका शब्दहरू, अनुकरणमूलक शब्दहरू गरी वर्गीकरण गरेका छन् । अङ्ग्रेजीबाट जस्ताको तस्तै आएका शब्दहरूलाई पनि तत्सम र केही अदलीबदली भएर आएका शब्दलाई तद्भव मानेका छन् । भोट-बर्मेली परिवार वा नेपालका केही भाषाहरू जस्तै नेवारी, मगराती, गुरूङ, तामाङ, किराती, तिब्बती आदिबाट आएका केही शब्दहरूको सूची प्रस्तुत गरेका छन् । उनले नेपाली शब्द ढिकुटीबारे आफ्नो विचार बालकृष्ण पोखरेलको विचारलाई आधार लिएका हुन् भन्न सकिन्छ । यस पुस्तकमा शब्दनिर्माण पद्धतिलाई निकै गहन अध्ययन गरी प्रस्तुत गरिएको छ । नेपाली शब्दनिर्माण प्रक्रियामा यसका विधि, भेदोपभेद प्रस्तुत गरिएको छ । नेपाली शब्दनिर्माणमा मूल शब्द, यौगिक शब्द, प्रातिपादिकमूल शब्द, उपसर्ग, परसर्ग, समास, द्वित्व प्रक्रिया आदिबारे सोदाहरण अध्ययन गरिएको छ । शब्द निर्माण पद्धतिबारे पुस्तकको आधाभाग जति अर्थात् त्रिहत्तर पृष्ठ खर्चेर आफ्नो अध्ययन प्रस्तुत गरेका छन् । लेखकले यस पुस्तकलाई आफुले भाषावैज्ञानिक परिचय भनेर तोक लाए पनि यो पुस्तक मूलतः भाषाशास्त्रीय अध्ययन गरिएको छ । यसमा संस्कृत व्याकरण कौमूदी, हेमराज पाण्डेयको गोरखाभाषा व्याकरण चन्द्रिकालाई मूल आधार लिएका छन् । शिवराज शर्माको नेपाली वर्णमालाका वर्णहरू पुस्तकलाई एउटा व्याकरणिक पुस्तक मान्न सकिन्छ । यद्यपि यसमा लेखकीय वैयक्तिक आक्रोशमय भाव प्रकट हुनाले यसलाई मानक व्याकरण पुस्तक मान्न भने सकिन्न । यसकारण यसलाई पाठ्यपुस्तकका रूपमा लिनसकिन्न । यद्यपि नेपाली भाषाको सङ्गोष्ठीका नाममा नेपाली वर्ण र व्याकरणलाई खलल पुर्‌याएकामा आफ्नो सैद्धान्तिक र भाषाशास्त्रीय भाषिक ज्ञानलाई नेपालीभाषीलाई खण्डन गर्ने अभिप्रायले प्रकाशमा ल्याएका हुन् । यस हिसाबले उनी नेपाली भाषाप्रति इमानदार र भाषाप्रेमी हुन् मान्न सकिन्छ । आफुले जानेको र पाए ज्ञानलाई सदुपयोग गरेका छन् । उनका अनुसार एक दुई सेमिनार गर्दैमा, वर्ण र व्याकरणिक पक्षलाई पाश्चात्य भाषावैज्ञानिक अध्ययन गरेर आफ्नो मौलिकता गुमाउनु हुँदैन । नेपाली व्याकरणको आफ्नै व्यवस्था, प्रणाली, प्रकृति र स्वभाव हुनाले यसलाई मौलिकता राख्नुपर्दछ । The post ‘नेपाली वर्णमालाका वर्णहरू’ र शर्माको भाषिक चिन्तन appeared first on साहित्यपोस्ट.