Redirecting...

कांग्रेस महाधिवेशन विवाद: संस्थापन पक्षका २४ केन्द्रीय सदस्यको ‘मध्यमार्गी प्रस्ताव’ - nagariknews.nagariknetwork.com

कांग्रेस महाधिवेशन विवाद: संस्थापन पक्षका २४ केन्द्रीय सदस्यको ‘मध्यमार्गी प्रस्ताव’ - nagariknews.nagariknetwork.com
Source: ngrk

नेपाली कांग्रेसमा विशेष महाधिवेशन र १५ औँ महाधिवेशनको तिथि मितिबारेको विवाद पेचिलो बनिरहेका बेला ‘मध्यमार्गी प्रस्ताव’ आएको छ। संस्थापन पक्षका २४ जना केन्द्रीय सदस्यले शुक्रबार लिखित रूपमै ७ बुँदे मध्यमार्गी प्रस्ताव केन्द्रीय कार्यालयमा दर्ता गराएका छन्। प्रस्तावको पहिलो बुँदामा १५ औँ महाधिवेशन सम्पन्न गर्न क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण समय सीमा निर्धारण गरेर टुङ्ग्याउनुपर्ने, फागुन २१ को निर्वाचनलाई परिणाममुखी बनाउन त्यस अगावै मंसिरबाटै १५ औँ महाधिवेशन प्रारम्भ गरेर कार्य तालिका बनाई लागु गर्ने कुरा उल्लेख छ। यस्तै युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्न विधान संशोधन, आन्तरिक निर्वाचन समितिलाई पूर्णता दिनुपर्नेदेखि लिएर संविधान संशोधनको विषयलाई वडादेखि केन्द्रसम्म संवाद र छलफलमा ल्याउनुपर्ने विषय लिखित प्रस्तावमा उल्लेख छ। उक्त प्रस्तावमा उल्लेख गरिएको सबै भन्दा महत्त्वपूर्ण विषय भने १५ औँ महाधिवेशनको समयको विषय छ। उक्त प्रस्तावमा कार्य तालिका ल्याएर चुनावअघि नै तहगत रूपमा महाधिवेशन सुरु गर्नुपर्ने विषय समेटिएको छ।यसअघि जारी केन्द्रीय समिति बैठकमा संस्थापन र इतर समूहका नेताबिच निर्वाचन अगावै महाधिवेशन गर्ने वा पछि गर्ने भन्ने विषयमा गहिरो मतभिन्नता चल्दै आएको छ। इतर पक्षका नेताहरूमा महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले फागुन २१ को निर्वाचन अगावै महाधिवेशन सकेर जानुपर्ने अडान राखिरहेका छन्। यदि त्यसो नहुने हो भने विशेष महाधिवेशन गरेरै भए पनि चुनावमा जानुपर्ने भनिरहेका छन्। त्यसका लागि दुवै महामन्त्रीको समेत पहलमा विशेष महाधिवेशन माग गरेर महाधिवेशन प्रतिनिधिहरू हस्ताक्षर संकलन गरेर केन्द्रीय कार्यालयमा बुझाइसकिएको छ। इतर पक्षकै नेता डा. शेखर कोइराला पक्ष पनि निर्वाचन अगावै नियमित महाधिवेशन गरेर फागुन २१ को निर्वाचनमा जानुपर्ने भनिरहेका छन्। उनी विशेष महाधिवेशनले भने पार्टीमा फुट ल्याउने भन्दै त्यसको विपक्षमा छन्। उता संस्थापन पक्षका नेताहरूले भने फागुन २१ अगावै महाधिवेशन गर्न समय नै बाँकी नरहेको र विशेष महाधिवेशनले पार्टीमा विभाजन ल्याउने भन्दै इन्कार गरिरहेका छन्। मध्यमार्गी प्रस्ताववाला पक्षले भन्न खोजेको के हो?मध्यमार्गी प्रस्ताव पेस गर्ने संस्थापन पक्षीय केन्द्रीय सदस्य उदय शमशेर राणाले आफूहरू विशेष महाधिवेशनको पक्षमै नरहेको बताए। ‘हामी विशेष महाधिवेशन गर्न हुँदैन। विशेष महाधिवेशन ग¥यो भने हामी अभिमन्यु परेको चक्रव्यूहमा फस्छौँ। हामी एकचोटी त्यहाँ फसिसकेपछि कसरी निस्किने भन्ने कुरामा अप्ठेरो हुन्छ,’ उनले भने, ‘पुसको अन्तिमसम्म विशेष महाधिवेशन माग गरेको तीन महिना पुग्छ, पुसको २९ गते। त्यो भन्दा अगाडि नै हाम्रो नियमित १५ औँ महाधिवेशन हामीले सुरु गर्न सक्यौँ भने सबैलाई मिल्छ कि भन्ने हाम्रो एउटा धारणा हामीले राखेका छौँ।’ उनले आफूहरूले पेस गरेको प्रस्ताव दबाब नभई एउटा धारणा मात्र रहेको बताउँछन्। ‘यो धारणा मात्रै हो, जुन केन्द्रीय समितिमा उठेको, जोजो साथीहरूले त्यो धारणा उठाए ती साथीहरूलाई हामीले छुट्टाछुट्टै बसेर पनि के गर्ने भनेर सल्लाह गर्दा खेरी केन्द्रीय समितिमा पनि हामीले धारणा राख्यौँ र सकिसकेपछाडि लिखित रूपमा पनि हामीले पार्टी अफिसमा दर्ता गरौँ,’ राणाले भने। २४ जना प्रस्तावकर्तामा राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डा. डिला संग्रौला, उदय शमशेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सतार, मोहन आचार्य, अमृत अर्याल, जिप छिरिङ लामा, राम जनम चौधरी, चम्पादेवी खड्का र नारायणबहादुर कार्की छन्।