माैसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव, तीन प्रदेशमा वर्षाको सम्भावना - bishwokhabar.com
काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक/दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्नेछ। बाँकी उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपात तथा पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।