त्रियासी वर्षमा पाए धान्द्रुके बाजेले नागरिकता - kendrabindu.com
गलकोट। यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन् । २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा ‘बूढेसकालमा नाम खोजिरहेका धान्द्रुके बाजे’ शीर्षकमा समाचार प्रकाशित भएपछि उनी नागरिकताबाट वञ्चित भएका बारेमा उजागर भएको थियो । सो समाचार प्रकाशित भएपछि बागलुङ नगरपालिकाले लामो समयको प्रयासपछि कार्यपालिकाबाटै निर्णय गराएर नागरिकता दिलाउन सफल भएको हो । नाम र जन्म स्थान टुङ्गो नलागेका उनी ‘धान्द्रुके बाजे’ उपनामले चिनिन्छन् । उनले नागरिकता प्राप्त गर्नुभएसँगै पहिलोपटक रु आठ हजार वृद्धभत्तासमेत प्राप्त गरेका बागलुङ नगरपालिकाको पञ्जीकरण शाखाले जनाएको छ । लामो समयदेखि भकुण्डेमा बस्दै आउनुभएका उनी बोल्न नसक्ने र परिवारसमेत सम्पर्कमा नआएका कारण अहिलेसम्म पहिचानविहीन भएका थिए । नागरिकता नहुँदा राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित भएका थिए । नगरपालिकाको कार्यापालिकाले निर्णय गरेपछि संरक्षक राखेर जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाइएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले जानकारी दिए । “सानै उमेरमा बागलुङ नगरपालिका–१० स्थित भकुण्डे आउनुभएको तर बोल्न नसक्ने भएकाले उहाँलाई धान्द्रुके बाजे भनेर गाउँलेले बोलाउने गरेको, अहिले नरमाया थापाको घरमा बस्दै आएकाले उहाँकै संरक्षकत्वमा नागरिकता लिनुभयो”, खड्काले भने । बाँसका सामग्री बनाउँदै आएका उनको जीवनको उत्तराद्र्धमा चन्द्रबहादुर थापा नामकरण गरी नागरिकता उपलब्ध गराइएको हो ।