रूसले युक्रेनमा प्रहार गर्यो ५०३ मिसाइल, ११ जनाको मृत्यु र विद्युत् आपूर्ति बन्द - bishwokhabar.com
काठमाडौं– रुसले युक्रेनमा अर्को भीषण आक्रमण गरेको छ । आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । आक्रमणपश्चात् युक्रेनका थप धेरै क्षेत्र अन्धकारमय बनेका छन् । सयौँ रुसी ड्रोनका साथै हावा, जमिन र समुद्रबाट प्रक्षेपण गरिएका मिसाइलले महत्त्वपूर्ण पूर्वाधारलाई निसाना बनाएको युक्रेनको सेनाले शनिबार बिहान (स्थानीय समय) जनाएको छ । युक्रेनको वायुसेनाले रुसी सेनाद्वारा रातभर ५०३ मिसाइल प्रक्षेपण गरिएका पत्ता लगाएको थियो । त्यसमा ४५ मिसाइल र ४५८ ड्रोन समावेश थिए । तीमध्ये अधिकांश मिसाइल प्रतिरक्षालाई छल्दै पार भएका थिए । जम्मा नौवटा मात्र सफलतापूर्वक खसालिएका थिए । ४०६ ड्रोन रोक्न युक्रेनी वायुसेना सफल भएको दाबी गरिएको छ । रुसी आक्रमण मुख्यतया ग्यास र विद्युत् पूर्वाधारमा केन्द्रित थिए । सोही कारण धेरै क्षेत्रमा बिजुली आपूर्ति अवरुद्ध भएको छ । जापोरिझ्झिया क्षेत्रका विभिन्न जिल्लामा आवासीय भवनसहित अरू लक्ष्यमा प्रहार गरिँदा तीनको मृत्यु र ६ जना घाइते भएका गभर्नर इभान फेडोरोभले जानकारी दिए । स्थानीय अधिकारीहरूका अनुसार, डोनेट्स्कका दुई जिल्लामा थप दुईजनाको मृत्यु भएको छ । खेरसनका गभर्नर ओलेक्सान्द्र प्रोकुदिनका अनुसार, धेरै अग्ला भवन, निजी घर र सवारीसाधनमा आक्रमणबाट थप दुईको मृत्यु र १० जना घाइते भएका छन् । करिब चार वर्ष लामो युद्ध अन्त्य गर्न खोजिने कूटनीतिक प्रयास क्रमशः कमजोर हुँदै गएको सन्दर्भमा यी घटनाको भएको अलजजिराले जनाएको छ । युक्रेनमा कठोर जाडो नजिकिँदै गर्दा रुसको यो हमला युद्धको अर्को रणनीतिक अभियानको हिस्सा भएको जनाइएको छ ।