Redirecting...

महाकाव्य ‘कल्प’ केन्द्रित ‘काव्य साँझः कल्प’ सम्पन्न - sahityapost.com

महाकाव्य ‘कल्प’ केन्द्रित ‘काव्य साँझः कल्प’ सम्पन्न - sahityapost.com
Source: shpt

काठमाडौँ । महाकाव्यकार नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ केन्द्रित प्रस्तुति ‘काव्य साँझः कल्प’ सम्पन्न भएको छ । ए क्युब प्रमोसनद्वारा सोमबार साँझ आयोजित कार्यक्रममा लम्सालले ‘कल्प’ महाकाव्यका चयनित हरफहरू वाचन गर्दा बाँसुरीवादक निरञ्जन भण्डारीले सजीव संगीत साथ दिनुभएकाे थियाे । ललित कला क्याम्पसका बाँसुरी प्राध्यापक भण्डारीको बाँसुरी र लम्सालको काव्य वाचनले कार्यक्रमलाई विशेष बनाएको थियो । प्रकृति, संस्कृति र मानवताको त्रिवेणीका रूपमा परिचित ‘कल्प’ महाकाव्यका हरफहरूसँग दर्शकहरू भावविभोर हुनुभएकाे थियाे । काव्य वाचनका क्रममा लम्सालले केही निजी सन्दर्भहरू पनि प्रस्तुत गर्दा दर्शकदीर्घा थप रोमाञ्चित देखिएको थियो । यसरी बाँसुरीसहित महाकाव्य लिएर लम्साल पहिलोपटक मञ्चमा प्रस्तुत हुनुभएकाे हाे । लामो समय रेडियो प्रसारण क्षेत्रमा सक्रिय रहनुभएकाे लम्सालको काव्य वाचनले धेरै दर्शकलाई रेडियो नेपाल र बीबीसीमा सुनेका दिनहरूको स्मरण गराएको थियो । ललितपुरको झम्सिखेलस्थित मोक्षमा आयोजित काव्य साँझमा साहित्य, शिक्षा र संस्कृति क्षेत्रका अगुवासहित विभिन्न पेसा र व्यवसायका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । साहित्य र आधुनिक सञ्चारका अगुवाका रूपमा परिचित लम्सालका हालसम्म चार महाकाव्यसहित १० कृति प्रकाशित छन् । The post महाकाव्य ‘कल्प’ केन्द्रित ‘काव्य साँझः कल्प’ सम्पन्न appeared first on साहित्यपोस्ट.