‘गाजा शान्ति प्रस्ताव’को अन्तिम म्याद आज सकिँदै, हमासको हातमा गाजाको भविष्य - www.sutranews.com
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै प्रस्तुत गरेको ‘गाजा शान्ति प्रस्ताव’को अन्तिम म्याद आज (आइतबार) सकिँदै छ । यो प्रस्ताव हमासले स्वीकार गर्ने कि नगर्ने भन्ने प्रश्नले अहिले विश्व राजनीतिलाई तताएको छ। ट्रम्पको प्रस्तावअनुसार, गाजामा तीन चरणमा स्थायी युद्धविराम हुनेछ । जसअनुसार, १. हमासले बन्धकहरूलाई तत्काल मुक्त गर्नुपर्ने। २. इजरायलले सैन्य आक्रमण रोक्ने र पुनर्निर्माणका लागि सहयोग दिने । ३. कतार, इजिप्ट र संयुक्त राष्ट्रसंघको निगरानीमा नयाँ ‘गाजा प्रशासन परिषद’ गठन गर्ने । तर, हामासका नेताहरूले यो प्रस्तावलाई ‘इजरायली नियन्त्रणमा आधारित झुटो शान्ति’ भन्दै अस्वीकारको संकेत दिएका छन्। आज अर्थात् अक्टोबर ५ हमासलाई दिइएको निर्णयको अन्तिम समय हो । यदि, उनीहरूले प्रस्ताव अस्वीकार गरे भने इजरायली सेनाले ‘पूर्ण सैन्य कारबाही’ पुनः सुरु गर्ने चेतावनी दिएको छ । इजरायली रक्षा मन्त्रालयका एक अधिकारीले भनेका छन् कि यदि हमासले शान्तिको बाटो रोजेन भने गाजाको इतिहासको सबैभन्दा ठूलो सैन्य अध्याय हुनेछ । यसबिच, कतार, इजिप्ट र टर्कीले पनि शान्तिपूर्ण समाधानका लागि संयुक्त प्रयास जारी राखेका छन्। तर, इजरायल र अमेरिकाबिचको नयाँ ‘सुरक्षा सम्झौता’ले अन्य अरब मुलुकहरूमा शंका पैदा गरेको छ । नेपालले भने सधैंजस्तो ‘विश्व शान्ति र मानव अधिकार’को पक्षमा रहने नीति दोहोर्याएको छ । गाजा जस्तो मानव संकटको समाधान शक्तिले होइन संवेदना र संवादले मात्र सम्भव छ। नेपालका हजारौँ नागरिकहरू पनि मध्यपूर्वमा कार्यरत भएकाले यो क्षेत्रको स्थायित्व नेपालका लागि आर्थिक र मानवीय दृष्टिले महत्वपूर्ण छ। आजको दिन निर्णायक दिन हुनेछ यदि हमासले सम्झौता स्वीकारेको अवस्थामा मध्यपूर्वमा नयाँ अध्याय खुल्नेछ र विश्वमा शान्तिको सन्देश जानेछ र राष्ट्रपति ट्रम्पको शान्ति सन्देश र प्रस्तावलाई विश्वले प्रशंसा गर्नेछ। तर, अस्वीकार गरेमा रक्तरञ्जित अध्याय सुरु हुन पनि सक्छ। गाजा क्षेत्रका बालबालिकाको आँसुले फेरि पृथ्वीको विवेकलाई प्रश्न सोधिरहेको छ– शान्ति सधैं किन सस्तो र युद्ध सधैं किन महंगो ?