एक महिनादेखि अलैँचीको मूल्यमा तीव्र उतार–चढाव, १७ हजारसम्म घट्यो मूल्य - corporatesamachar.com
फुङ्लिङ (ताप्लेजुङ) । पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको छ। मङ्सिरदेखि अलैँचीको मूल्यमा तीव्र उतार–चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ । गत कात्तिक २३ गते फुङ्लिङ बजारमा प्रतिमन (४० केजी) अलैँची एक लाख दुई हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । जुन यस वर्षको सबैभन्दा उच्च मूल्य मानिन्छ । तर यो मूल्य २४ घण्टाभन्दा बढी टिक्न सकेन । त्यसयता क्रमशः घट्दै आएको मूल्य आज प्रतिमन ९२ हजार रुपैयाँमा झरेको छ। बुधबार प्रतिमन ९३ हजारमा व्यापार भएको अलैँची एक दिनमै एक हजार रुपैयाँले घटेको व्यापारी कमल बरालले जानकारी दिए । असोज दोस्रो सातासम्म प्रतिमन ८५ हजार रुपैयाँ मूल्य स्थिर रहेको थियो । एक महिनामै १५ देखि १७ हजार रुपैयाँले वृद्धि भएको थियो भने नयाँ उत्पादन सुरु भएको ८० हजार प्रतिमनबाट एक लाख दुई हजार रुपैयाँसम्म मूल्य पुगेको थियो । तर, उच्च मूल्य नटिकी फेरि तीव्र गतिमा गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारको माग र मूल्यअनुसार अलैँचीको भाउ निर्धारण हुने भएकाले उतारचढाव भएको व्यापारीहरु बताउँछन् । कोशी प्रदेशमा हाल सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रमा अलैँचीखेती हुँदै आएको छ। आर्थिक वर्ष २०८१/८२ मा काँकरभिट्टा नाकाबाट मात्र सात अर्ब ६७ करोड रुपैयाँ बराबरको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा अलैँची निर्यात ३३ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ। साउन, भदौ र असोज महिनामा काँकरभिट्टा नाकाबाट मात्र एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबरको एक हजार ७२ मेट्रिकटन अलैँची भारत निर्यात भएको कार्यालयले जनाएको छ ।