राष्ट्रियताको सवालमा देशभक्त शक्तिहरूबीच वृहत समझदारी आवश्यक : नेकपा - ehimalayatimes.com
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को परामर्श बैठकले राष्ट्रियताको सवालमा देशभक्त शक्तिहरूबीच व्यापक समझदारी आवश्यक रहेको निष्कर्ष निकालेको छ। मंगलवार काठमाडौँको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न परामर्श बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता अग्निप्रसाद सापकोटाले बैठकका निर्णयबारे जानकारी दिनुभएको हो। उहाँकाअनुसार बैठकमा राष्ट्रिय राजनीतिक परिस्थितिबारे विस्तृत छलफल गरिएको थियो। राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता तथा नेपाली जनताको आत्मनिर्णयको अधिकारको संरक्षणका लागि सक्रिय पहलकदमी आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको छ। संविधान, परिवर्तन, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता तथा समानुपातिक सिद्धान्तको रक्षाका लागि ती मूल्य–मान्यताका संवाहक शक्तिहरूबीच सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याइएको छ। यसका लागि राष्ट्रियताको सवालमा देशभक्त शक्तिहरूबीच वृहत राष्ट्रिय समझदारी निर्माण गर्नुपर्ने बैठकको ठहर छ। नेता सापकोटाले अन्तर्राष्ट्रिय परिप्रेक्ष्यलाई समेत ध्यानमा राख्दै भेनेजुएला लगायतका देशहरूमा देखिएका घटनाक्रमबाट पाठ सिक्नुपर्ने उल्लेख गर्नुभयो। बैठकले आगामी २९ गते पार्टीका सबै केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोह आयोजना गर्ने निर्णय गरेको छ। साथै आन्तरिक तथा संगठनात्मक कार्यहरूलाई तदारुकताका साथ अघि बढाउँदै सोही मितिसम्म पार्टीका सम्पूर्ण संगठनात्मक संरचनाहरू तयार गरिसक्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो।