Redirecting...

राष्ट्र बैंक र आइएफसीबीच क्लाइमेट फाइनान्स समझदारी - ehimalayatimes.com

राष्ट्र बैंक र आइएफसीबीच क्लाइमेट फाइनान्स समझदारी - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बीच जलवायु वित्त (क्लाइमेट फाइनान्स) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा सोमबार बैंकमा आयोजित कार्यक्रमबीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । सोसम्बन्धी समझदारीपत्रमा बैंकतर्पmबाट गभर्नर कार्यालयका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनी र आइएफसी साउथ एसियाका कन्ट्री एडभाइजरी एण्ड इकोनोमिक्ससम्बन्धी व्यवस्थापक ग्रेगरी स्मिथले हस्ताक्षर गर्नुभएको हो । समझदारीअनुसार आइएफसीले नेपालमा जलवायु वित्त विकासमा राष्ट्र बैंकलाई प्राविधिक सहायता उपलब्ध गराउनेछ । उक्त परियोजनाअन्तर्गत जलवायु वित्तसम्बन्धी रणनीति र त्यसको मार्गचित्रको मस्यौदा तयार गरिनेछ । साथै रणनीतिलाई चरणबद्धरूपमा कार्यान्वयनका लागि सोसम्बन्धी ढाँचासमेत तयार गरिने बताइएको छ । जसअन्तर्गत जलवायु वित्तको रणनीति तर्जुमा र कार्यान्वयनका सन्दर्भमा राष्ट्र बैंकको र समग्र वित्तीय क्षेत्रको क्षमता अभिवृद्धिका लागि आइएफसीले तालिम तथा क्षमता विकासका कार्यक्रम सञ्चालन हुनेछन् । उक्त परियोजनाको कार्यान्वयनबाट नेपालमा जलवायु सम्बद्ध वित्तीय जोखिम सम्बोधन गर्दै जलवायु अनुकूलनका क्षेत्रमा वित्तीय स्रोत परिचालनलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । परियोजना सन् २०२८ सेप्टेम्बरसम्म सञ्चालन हुनेछ । कार्यक्रममा डेपुटी गभर्नर मिश्रले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणका लागि आइएफसी र राष्ट्र बैंकबीच विगतदेखि नै सहकार्य हुँदै आएको उल्लेख गर्दै नयाँ समझदारीबाट नेपालमा जलवायु वित्तको नीतिगत विकास र कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी आइएफसीका व्यवस्थापक स्मिथले राष्ट्र बैंकसँगको साझेदारीबाट नेपालमा जलवायु वित्तको रणनीतिक विकास र कार्यान्वयन दिशामा परिणाममुखी उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक रामु पौडेल, निर्देशक गोविन्दप्रसाद नागिला, गभर्नरको कार्यालयका कामु निर्देशक सुमन नेउपाने, आइएफसीका आवासीय प्रतिनिधि रथनिजा अरन्दरालगायतको उपस्थिति थियो ।