Redirecting...

कोहलपुरमा पुस्तक विमोचन तथा स्रष्टा संवाद सम्पन्न - sahityapost.com

कोहलपुरमा पुस्तक विमोचन तथा स्रष्टा संवाद सम्पन्न - sahityapost.com
Source: shpt

कोहलपुर। कोहलपुरमा आयोजित एक समारोहबीच कवि रवि गिरीको कविता सङ्ग्रह ‘शान्तिको खोज’ विमोचन गरिएको छ। हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानद्वारा प्रकाशित उक्त कृति मदन पुरस्कार विजेता स्रष्टा युवराज नयाँघरे, प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजाल तथा प्राज्ञद्वय महानन्द ढकाल र शशिराम कार्कीले संयुक्त रूपमा विमोचन गर्नुभएको हो। विमोचन समारोहमा प्रमुख अतिथि युवराज नयाँघरेले कोहलपुर साहित्यिक रूपमा उर्वर भूमि भएको उल्लेख गर्दै नयाँ स्रष्टाहरूलाई अगाडि ल्याउन पूर्णिमा साहित्य प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। पुस्तक र कविको परिचय साहित्यकार सागर गैरेले प्रस्तुत गर्नुभएको थियो। सो अवसरमा आयोजित स्रष्टा संवाद कार्यक्रममा साहित्यकार युवराज नयाँघरेले आफ्ना साहित्यिक अनुभव र लेखनशैलीबारे विचार व्यक्त गर्नुभयो। उहाँले लुम्बिनी र कर्णाली क्षेत्र भाषा, साहित्य र लोकसंस्कृतिको धनी भए पनि अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो। विभिन्न देशको भ्रमण अनुभव सुनाउँदै उहाँले नेपाली संस्कृति र गौरवपूर्ण इतिहासको अनुपम विशेषता अन्यत्र भेट्न नसकिएको धारणा राख्नुभयो। नयाँघरेले निबन्ध र नियात्रा केवल तथ्यात्मक विवरण नभई अनुभूतिको सरस अभिव्यक्ति हुनुपर्ने बताउँदै ससाना जीवनअनुभव समेटिन सके निबन्ध अझ प्रभावकारी हुने उल्लेख गर्नुभयो। निबन्धमार्फत २०६५ सालको मदन पुरस्कार प्राप्त गरेको प्रसङ्ग स्मरण गराउँदै डा. पुष्कर रिजालले नयाँघरेका निबन्ध मौलिक, प्रयोगशील, सरल र विशिष्ट रहेको टिप्पणी गर्नुभयो। उहाँले नयाँघरेका निबन्धमा भाषिक कौशल र नेपाली जातीयताको सौन्दर्य जीवन्त रूपमा प्रस्तुत हुने बताउनुभयो। कार्यक्रममा कोहलपुर, नेपालगन्ज र बर्दिया क्षेत्रका चार दर्जनभन्दा बढी स्रष्टाहरूको उपस्थिति रहेको थियो। प्रतिष्ठानका उपाध्यक्ष डा. खोपीराम वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव केशव निमेषले गर्नुभएको थियो। The post कोहलपुरमा पुस्तक विमोचन तथा स्रष्टा संवाद सम्पन्न appeared first on साहित्यपोस्ट.