एमाले अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै : शिक्षक, धिमाल तथा मुस्लिम समुदायसँग भेटघाट गर्ने कार्यक्रम - janatatimes.com
काठमाडौं, फागुन ३। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज झापा जानुहुने भएको छ। उहाँ आज बिहान १० बजेर २० मिनेटमा काठमाडौँबाट उडान गरी भद्रपुर विमानस्थलमा अवतरण गर्नुहुने र त्यसपछि आफ्नो निर्वाचन क्षेत्रमा जानुहुने कार्यक्रम रहेको छ। अध्यक्ष ओली यसअघि माघ २३ गतेदेखि सात दिनसम्म झापामै बस्दा करिब ८० वटा गाउँमा पुगेर स्थानीयसँग भेटघाट गर्नुभएको थियो। आजको कार्यतालिकाअनुसार उहाँ शिक्षक भेला, धिमाल जातिको भेला तथा मुस्लिम समुदायका नागरिकसँगको भेलामा सहभागी हुनुहुनेछ। त्यसपछि दमक–२ स्थित अस्थायी निवासमा भौगोलिक क्षेत्रका कार्यकर्ता तथा आम नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ । एमाले झापा क्षेत्र नम्बर ५ का चुनावी कमाण्डर तथा पार्टी केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार अध्यक्ष ओली फागुन ६ गतेसम्म झापामै बस्नुहुनेछ। यस अवधिमा दमक क्षेत्रका विभिन्न गाउँ तथा टोलमा पुगेर घरदैलो कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका बनाइएको छ। हरेक दिन कम्तीमा ६ देखि ७ स्थानमा पुग्ने गरी कार्यक्रम मिलाइएको उहाँले बताउनुभएको छ। सोमबार बिहान ११ बजे दमक–५ को यलम्बर चोक, ११ः५० बजे दमक–६ को शंखधर चोक, दिउँसो १ बजे दमक–७ को तबिन चोक, २ बजे दमक–१ को हल्दार चोक, ३ बजे दमक–३ को गजकाली मन्दिर र अपराह्न ४ बजे दमक–३ कै आमचोकमा कार्यक्रम आयोजना गरिएको छ। ती सबै स्थानमा अध्यक्ष ओलीले स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्ने वातावरण मिलाइएको आयोजकले जनाएको छ ।