Redirecting...

सिड्नी आक्रमण : भारतीय मूलका साजिदको परिवारसँग सीमित सम्पर्क, के भन्छ तेलंगाना प्रहरी ? - nagariknews.nagariknetwork.com

सिड्नी आक्रमण : भारतीय मूलका साजिदको परिवारसँग सीमित सम्पर्क, के भन्छ तेलंगाना प्रहरी ? - nagariknews.nagariknetwork.com
Source: ngrk

अस्ट्रेलियाको सिड्नीस्थित बोन्डाई बीचमा यहूदी पर्व हनुक्का मनाउने उत्सवमा भएको सामूहिक गोलीकाण्डको अनुसन्धानमा नयाँ जानकारी सार्वजनिक भएको छ। आक्रमण गर्ने बुबा-छोरा मध्ये बुबा ५० वर्षीय साजिद अक्रम मूल रूपमा दक्षिण भारतको हैदराबादका भएको खुलासा भएको छ। जानकारी अनुसार भारतमा उनको परिवारसँग सीमित सम्पर्क मात्र रहेको प्रहरी स्रोतहरूले जनाएका छन्।घटनास्थलमै प्रहरीसँग गोली हानाहानमा मारिएका साजिद अक्रम सन् १९९८ मा अस्ट्रेलिया गएदेखि भारत केवल ६ पटक मात्र आएका थिए। तेलंगाना प्रहरीका एक अधिकारीका अनुसार उनको परिवारले उनको कट्टरपन्थी मानसिकता वा गतिविधिबारे कुनै जानकारी नभएको बताएका छन्।आइतबार सिड्नीको बोन्डाई बीचमा साजिद र उनका २४ वर्षीय छोरा नावेद अक्रमले हनुक्का उत्सवमा गोली चलाएका थिए। सो घटनामा साजिदसहित १६ जनाको मृत्यु भएको थियो। उक्त घटनामा ४० भन्दा बढी घाइते भएका छन्। यो आक्रमण इस्लामिक स्टेट समूहबाट प्रेरित आतंकवादी घटना भएको अस्ट्रेलियाली प्रहरीले जनाएको छ।साजिद अक्रमको परिवार हैदराबादमा बस्छ। तेलंगाना प्रहरी अधिकारीका अनुसार साजिदले अस्ट्रेलिया गएपछि मुख्य रूपमा सम्पत्ति मामिला र वृद्ध आमाबाबु भेट्न भारत आएका थिए। ‘उनी आफ्नो बुबाको मृत्युको समयमा पनि भारत आएनन्,’ एक अधिकारीले भने, ‘साजिद अक्रम र उनका छोरा नावेदलाई कट्टरपन्थी बनाउने कारकहरूको भारत वा तेलंगानामा कुनै स्थानीय प्रभावसँग सम्बन्ध छैन जस्तो देखिन्छ।’अधिकारीले साजिदको भारतमा कुनै आपराधिक रेकर्ड नभएको, उनले व्यापारमा स्नातक पूरा गरेको र युरोपेली मूलकी महिलासँग विवाह गर्नुअघि रोजगारी खोजीमा अस्ट्रेलिया गएको बताए। साजिद भारतीय राहदानी धारक थिए तर उनका छोराछोरी अस्ट्रेलियामा जन्मेका अस्ट्रेलियाली नागरिक हुन्।जानकारी अनुसार आक्रमणभन्दा केही हप्ता अघि बुबा-छोरा फिलिपिन्स गएका थिए। उनीहरू नोभेम्बर १ मा गएर नोभेम्बर २८ मा फर्केका थिए। फिलिपिन्स जान साजिदले भारतीय राहदानी र छोराले अस्ट्रेलियाली परिचयपत्र प्रयोग गरेको अधिकारीहरूले जनाएका छन्।अस्ट्रेलियाली सञ्चारमाध्यमले बुबा-छोराले फिलिपिन्समा सैन्य शैलीको तालिम लिएको आशंका गरेको तर अधिकारीहरूले पुष्टि गर्न नसकेको जनाएका छन्। फिलिपिन्स र अस्ट्रेलियाली अधिकारीहरूले घटनाको अनुसन्धानमा सहकार्य गर्ने सहमति जनाएका छन्।नावेद अक्रमलाई सन् २०१९ मा सिड्नीमा इस्लामिक स्टेटसँग जोडिएको सेलसँग सम्बन्धको आशंकामा अनुसन्धान गरिएको थियो तर हिंसात्मक धम्की नदेखिएकाले छोडिएको अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजले बताएका छन्। एजेन्सीको सहयोगमा