Redirecting...

‘अर्धकट्टी’मा कृष्ण धरावासी - sahityapost.com

‘अर्धकट्टी’मा कृष्ण धरावासी - sahityapost.com
Source: shpt

विषयप्रवेश कृष्ण धरावासी नेपाली साहित्यका पाठकहरूका लागि अपरिचित नाम होइन । कथा, कविता, उपन्यास, निबन्ध, समालोचना आदि विविध विधामा कलम चलाउने धरावासी बहुमुखी प्रतिभा सम्पन्न स्रष्टा हुन् । नेपाली साहित्यमा हालसम्म एकतिस ओटा महत्त्वपूर्ण कृति दिएर उनले आफ्नो ऊर्जाशील व्यक्तित्वको छाप छोडिसकेका छन् । त्यसैको पछिल्लो कडीका रूपमा २०८१ असोजमा उनको ‘अर्धकट्टी’ प्रकाशित छ । आधाबाटोकै तेस्रो भाग मानिएको यस कृतिलाई पैरवी बुक हाउस प्रा.लि. ले बजारमा ल्याएको हो । ‘आधाबाटो’ मा उनले आमाको निधनसम्मको आफ्नो देखाइभोगाइ लेखेका छन् । त्यसैको दोस्रो भाग मानिएको ‘पाण्डुलिपि’मा २०५८ देखि २०६८ सम्ममा आफ्नी अर्धाङ्गिनी सीताजी बिरामी हुँदा पाइएका दुःख र उहाँको निधनपछिको कारुणिक अवस्थासम्मको आत्मवृत्तान्त छ । त्यसै गरी २०६८ देखि २०७८ सम्मका जीवनका सङ्घर्षहरू अर्धकट्टीमा समेटिएको छ । नेपाली साहित्यमा यस्तो किसिमको शृङ्खलाबद्ध आत्मपरक कृति लेख्ने उनी पहिलो पात्र हुन् । १. कथानक सन्दर्भ यस कृतिमा मूलतः दुई खण्ड छन् । जसलाई पुस्तकमा पहिलो अर्धकट्टी नेपाल र दोस्रो अर्धकट्टी अमेरिका भनिएको छ । शुरुदेखि १३३ पृष्ठसम्म फैलिएको पहिलो खण्डमा सीताजीको निधनपछि म पात्रमा देखिएको बेचैनी, निराशा र अनेक मनोसामाजिक समस्याहरूको सन्दर्भ छ । छोरी प्रतिमाले सीताजीको सम्झनामा पुस्तक लेख्न प्रेरित गरेपछि उनलाई समय काट्न र आफैँलाई भुल्याउन केही सहज भएको छ । एक वर्षपछि सीताजी बितेकै दिन उक्त पुस्तक ‘पाण्डुलिपि’को पनि विमोचन हुन्छ । समय बित्दै जाँदा म पात्रलाई आफ्नो विधुर जीवन त्यसै पनि भारी लागिरहेको हुन्छ । त्यसैमा अझ कतिपय साथीभाइहरूको हेराइ र आफ्नो नैतिकतामाथि नै आघात पुग्ने खालको एउटा गलत मेसेजले उनलाई थप तनावग्रस्त बनाउँछ । बिस्तारै छोराछोरी, आफन्त र केही शुभचिन्तकहरूले नयाँ गृहस्थी गर्नुपर्ने भनी दिन थालेको सल्लाह यस खण्डमा आएको विशेष घटना हो । कुराकानी अगि बढ्दै जाँदा खगेन्द्र भट्टराईको पहलमा मञ्जु विमलीसँग नयाँ गृहस्थी जोडिएको महत्त्वपूर्ण प्रसङ्ग पनि यहीँ आउँछ । विवाहको कुरा चल्दाचल्दै मञ्जु र अपूर्वलाई डिभीचिट्ठा पर्छ । विवाहपूर्व नै अमेरिका जाने प्रक्रियाको थालनी हुन्छ । विवाहपछि समाजमा हुने गरेका नकारात्मक टिकाटिप्पणीले म पात्रको दिनचर्या नै कान्तिहीन र तनावग्रस्त भइदिन्छ । त्यति बेला म पात्रले पुनः गृहस्थीमा बाँधिएर पछिसम्म सक्रिय जीवन बाँचेका साथीभाइ, शिवजीको मिथक र बाध्यताले हुने पुनर्विवाहमा समाज सकारात्मक भइदिनुपर्ने कुराहरू सम्झेका छन् । तथापि उनले कार्यक्रममा जान, अन्तर्वार्ता दिन र आफन्तहरूलाई भेट्न भने छोडेका छैनन् । छोरा दिपलेशको विवाह, अमेरिका जाने तयारी, झोला फिल्मको सुटिङ, सुवर्ण शमशेरको जीवनी, सीताजी सम्मान र गेस्टापोको विमोचन जस्ता महत्त्वपूर्ण कामहरू पनि यसै अवधिमा भएका छन् । अनि मे १२, २०१३ मा अमेरिका जाने जहाज चढ्दा उनी आफ्नो विगत, घरपरिवार, आफन्त, साथीभाइ, समाज र देशलाई सम्झेर भावुक भएका छन् । यहीँनिर आइपुगेर कथानकको पहिलो खण्ड समाप्त भएको छ । दोस्रो खण्ड पृष्ठ १३४ बाट शुरु भइ ४३६ मा पुगेर रोकिएको छ । यसमा म पात्रको सपरिवार नै यायावर भएको प्रसङ्ग छ । म पात्रले २०१३ देखि २०२२ सम्म बाह्रपटक नेपाल अमेरिका आउजाउ गरेका छन् । सहयात्री मञ्जु र छोराछोरीहरूको कुरा पनि सँगसँगै जोडिन आउँछन् । त्रिपन्न वर्षको उमेरमा पनि म पात्रले अमेरिकी समाजमा स्थापित हुन गाडी सिकेको, अङ्ग्रेजी कक्षा लिएको र साथीभाइसँग घुलमिल भएको देख्दा पाठकलाई लोभ लाग्छ । निरन्तरको सङ्घर्षलाई नै उनीहरूले सफलताको सूत्र बनाएका छन् । एउटा कुरा चाहीँ गजब लाग्छ कि जहाँ गए पनि म पात्रले लेख्नपढ्न छोडेका छैनन् । ‘झोला’ फिल्मले उनलाई नेपालदेखि अमेरिकासम्म थप परिचित बनाएको छ । जर्ज वासिन्टनदेखि लिङ्कनसम्मको जन्मघरको अवलोकन गर्न पाउनु सामान्य कुरा थिएन । एपोलो एघार र अमेरिकाकै सबैभन्दा ठुलो रकेट सेन्टर हुँदै रुससम्मको यात्रा उनलाई यसै समयमा जुरेको छ । अलाबामा रामकुमार विमली दाइहरूको संरक्षण पाएका म पात्रले भर्जिनियामा पनि पर्शुराम भण्डारीहरूको सहयोग पाएका छन् । उनी जहाँ बस्दा पनि साथीभाइको सहयोग पाउनबाट वञ्चित भएका देखिँदैनन् । अमेरिकी समाज, शिक्षास्वास्थ्य तथा संस्कृतिका विषयमा म पात्रका भोगाइ पनि यसै सन्दर्भमा आएका छन् । छोराछोरीको विवाह, पढाइ, तालिम, जागिर आदिबारेका प्रसङ्ग पनि यही खण्डमा आउँछन् । महेश पौडेलद्वारा अनुवादित ‘राधा’ले गरेको अन्तर्राष्ट्रिय यात्रा तथा केही साहित्यिक सफलताबाहेक म पात्रले यसै अवधिमा डाक्टरबा आमा, सासूआमा, आइबी राई, खालिङ सर, कुमार प्रधान, दुर्गा दाहाल, अमृतलाल श्रेष्ठ, कविराज पोखरेल, राजेन्द्र सुवेदी सरलगायतका आफन्त र शुभचिन्तकहरू गुमाएका छन् । कोरोनाले पतिपत्नी दुवैजनालाई लडाउनु, अनेक रोगले सताउनु, खुट्टा भाँचिनु जस्ता सङ्घर्षका बिचबाट पनि म पात्रले बाह्र ओटा महत्त्वपूर्ण पुस्तकहरूको सिर्जना तथा सम्पादन गरेको सन्दर्भ पनि यहाँ आउँछ । पछिल्लोपटक मार्च ३, २०२२ मा अमेरिका पुगेर छोरीज्वाईँको तरक्की देख्दा म पात्रलाई खुशी लागेको प्रसङ्गसम्म पुगी कथानक समाप्त भएको छ । २. पात्रचरित्र ‘आधाबाटो’ र ‘पाण्डुलिपि’मा जस्तै ‘अर्धकट्टी’मा पनि बहुल पात्रको प्रयोग गरिएको छ । म पात्रकै केन्द्रीयतामा घटनाहरू अगि बढ्दा सन्दर्भअनुसार पारिवारिक एवं थुप्रै सामाजिक पात्रहरूको सक्रिय भूमिका यहाँ देख्न सकिन्छ । कथयिता, भोक्ता र उपस्थितिका दृष्टिले म पात्रलाई प्रमुख र मञ्जुलाई सहायक पात्र भन्न मिल्ला । तथापि घटनाक्रमहरूमा म पात्रका पनि अनेक लीला देखिन्छन् । कतै बिचरो देखिने म पात्र, कतै साहसी लाग्छन् । कतै सिकाउने त कतै सिकिरहने उनी कतै शक्तिशाली लेखक त कतै निरीह पाठक झैँ देखिन्छन् । यस्ता अनेक रूपहरूमा उनी मात्र होइन, अन्य पात्रहरूलाई पनि देख्न सकिन्छ । एउटा कुरा पाठकले भन्नैपर्छ कि म पात्रको शिशिररूपी जीवनको एक कालखण्डमा मञ्जुको उपस्थिति अविस्मरणीय छ । उनको जीवनमा फेरि वसन्त भित्र्याउने पात्र मञ्जु नै हुन् । उसो त म पात्रको जीवनसँग जोडिएका छोराछोरी, भाइबुहारी, दिदीबहिनी र अन्य आफन्तहरूको योगदानलाई पनि भुल्न सकिँदैन । गजब लाग्ने अर्को कुरा पनि छ पुस्तकमा । शुरुमा ढुकुर भएका म पात्र क्रमशः हात्ती, काग र अन्तमा फेरि पनि कर्मी मौरी भएका छन् । जतिपटक ढले पनि उठ्नुपर्छ भन्ने चेत खुलेपछि उनी त्यतिसम्म गतिशील हुन पुगेका हुन् । यसरी पनि भन्न सकिन्छ, म पात्रको पुनर्जागृत भएको आत्मबल र सक्रिय जीवनशैली धेरैका लागि प्रेरणाको स्रोत हुन सक्छ । उनी त्यस्ता हुनुका पछि मञ्जुको कम्ती हात छैन । यति मात्र नभइ कृतिभित्र प्रयुक्त थुप्रै यथार्थ पात्रहरूबाट प्रत्येक पाठकले आफ्नो जीवनमूल्य, अवसर र अस्तित्वबोध गर्न सक्दछ । म पात्रलाई मात्र पनि हेर्न सकिने धेरै आधार छन् यहाँ । कृतिमा उनी आत्मप्रशंसा र परनिन्दाबाट बचेका देखिन्छन् । समग्रमा हेर्दा म पात्रलाई स्पष्ट वक्ता, जुझारु, तटस्थ, ऊर्जावान्, गतिशील, मितव्ययी, साथीभाइ एवं राष्ट्रप्रेमी, विनयी तथा विनोदी व्यक्तिका रूपमा देख्न सकिन्छ । ३. सारवस्तु उपन्यासमा प्रयुक्त घटनाक्रमहरूमा देखिने पात्रहरूको प्रतिक्रिया, स्वभाव एवं जीवन व्यवहार आदिबाट प्रस्तुत हुने सन्देश नै सारवस्तु हो । यस कृतिभित्र पनि एउटा जीवन्त समाज छ । त्यसैले हरेक समाजभित्र घट्ने घटना, पात्रका सुखदुःख र सङ्घर्षका कथाहरू यहाँ पनि छन् । यिनैका माध्यमबाट यस कृतिले पनि पाठकका लागि केही खास सन्देश दिन खोजेको छ । रातदिनको चक्रबाट धर्ती मुक्त नभए जस्तै मानवीय जीवनमा पनि सुखदुःखहरू आइरहन्छन् । तिनलाई लीलाका रूपमा बुझेर आशावादी र क्रियाशील हुन सक्ने मानिसले मात्र जीवनमा सबथोक देख्न, भोग्न र गर्न सक्छ । हाम्रा हरक्षण उत्तिकै अस्थिर, महत्त्वपूर्ण, शिक्षाप्रद र अवसरहरूले युक्त हुन्छन् । तिनलाई उपयोगी बनाउनु नै जीवनको सार्थकता हो । समय र परिस्थितिलाई सार्थक बनाउने कला हामी आफैँले सिक्नुपर्छ । प्रेमबिना त हामी बाँच्नै सक्दैनौँ । असल कर्म, कर्तव्य, मानवता, सिर्जना, समर्पण, सङ्घर्ष जस्ता कुराहरूको जननी पनि प्रेम नै हो । तसर्थ यस उपन्यासले पनि प्रेमपूर्वक सक्रिय जीवन जिउने शिक्षा दिएको छ । गतिशील जीवनप्रतिको म पात्रको धारणा यसरी हेर्न सकिन्छ, “जीवन जिउने क्रममा जेजस्ता कुराहरू आउँछन् सावधानीपूर्वक तिनलाई समाधान गर्दै जानुपर्छ । घटनाहरूका अघि निराश भएर एकै ठाउँ थन्किएर बसिरहन सकिँदैन” (अर्धकट्टी, २०८१:१०३) । नेपाली लोकजीवनमा एउटा भनाइ छ– “घाम छँदै बिस्कुन सुकाउनुपर्छ ।” यो हामी सबैको जीवनमा काम लाग्छ । म पात्रलाई अन्तिमपल्टको भेटमा आइ.बी. राईले भनेका थिए, “घरकी जहान खसेदेखि त लेख्नेपढ्ने सबै कुरा हरायो । गर्नुपर्ने कामहरू कत्ति थियो कत्ति । सप्पै अड्किहाल्यो । पढेको पनि भुलिहाल्छु । लेख्न पनि हात कामेर हुनै छोड्यो । जिउले पनि छिट्टै पो छोड्दो रैछ त ।…ओछ्यानमा ढल्यो, मनमा केके केके कुराहरू आएर खेलिबस्छ, त्यसले निदाउनै दिँदैन । बिहान चार बजेतिर यसो आँखा लाग्छ, फेरि एकैछिनमा खुली त हाल्छ…” (अर्धकट्टी, २०८१:२९२) । यसबाट सबल शरीर र दोकलो जीवनको महत्त्व मात्र नभएर हामीलाई बुढ्यौलीको दुःख र तिर्सनासमेत थाहा हुन्छ । अतः विविध घटना र पात्रहरूको जीवन व्यवहारका माध्यमबाट सान्दर्भिक र क्रियाशील जीवन बाँचेर समाजका लागि सकेको योगदान दिनुपर्छ भन्ने शिक्षा प्रदान गर्नु नै प्रस्तुत कृतिको सारवस्तु हो । ४. परिवेश ‘आधाबाटो’ र ‘पाण्डुलिपि’का तुलनामा ‘अर्धकट्टी’को परिवेश निकै व्यापक छ । काठमाडौँबाट शुरु भइ नेपालका अन्य भूभाग, भारतको दार्जेलिङ, सिलिगुरी तथा अमेरिकाका विभिन्न ठाउँदेखि रुससम्मको विशाल परिवेश लिई पुनः अमेरिकामै पुगेर कथानक टुङ्गिएको छ । समयकालीन परिवेश भने यसले २०६८ देखि २०७८ सम्मको दस वर्षलाई बनाएको छ । नेपाली समाज र संस्कृति, भारतीय नेपालीभाषी समाज, अमेरिकाको नेपाली समाज तथा त्यहाँको सामाजिक जनजीवनका थुप्रै पक्षहरूलाई पनि यस कृतिले सजीव ढङ्गले प्रस्तुत गरेको देखिन्छ । नेपालको साहित्यिक परिवेशदेखि सन् २०१९ मा देखिएर संसारभरि लाखौँ मानिसको ज्यान लिने कोरोना आतङ्कको नेपाल सन्दर्भ पनि यसमा छ । मूलतः पात्रहरूको आन्तरिक द्वन्द्वले यस उपन्यासलाई थप सशक्त बनाएको पाइन्छ । म पात्रका जीवनमा देखिएका आशा निराशा, सुखदुःख, जिज्ञासा, सङ्कल्प, कुण्ठा, ठट्टा, उत्साह, द्वन्द्व, हीनता जस्ता संवेग तथा विभिन्न घटनाहरू यहाँ आन्तरिक परिवेशका रूपमा आएका छन् । साहित्य, कला, सङ्गीत, शिक्षास्वास्थ्य, दर्शन जस्ता विषयगत वातावरण पनि उपन्यासले सन्दर्भअनुसार लिएको छ । आजको विज्ञान प्रविधि, यातायात तथा सूचना सञ्चारका कारण विश्व समुदायले भोगिरहेको विकासको सुविधा पनि यस उपन्यासको सामाजिक परिवेश बनेर आएको छ । पुस्तक पढ्दा पाठकलाई आफैँ पनि अमेरिका-नेपाल गरिरहेको आभास हुन्छ । यसरी यस उपन्यासमा अभिव्यक्त भूगोल, समय र पात्रहरूको गतिविधिले कृतिभित्रको कथ्य विषयलाई स्वाभाविक र जीवन्त बनाएको देखिन्छ । ५. भाषाशैलीगत प्रस्तुति ‘अर्धकट्टी’को भाषा विशिष्ट हुँदाहुँदै पनि अत्यन्त सरल र हृदयस्पर्शी छ । उसो त कतिपय ठाउँमा प्रसङ्गवश भौतिक विज्ञान, दर्शन, अध्यात्म, चिकित्सा जस्ता विषयहरू पनि नआएका होइनन् । तैपनि अत्यन्त सरल र मिठासपूर्ण शब्दशैलीका कारण तिनको बोधमा बाधा सिर्जना भएको देखिँदैन । भाषाशैलीको एउटा सानो उदाहरण- बसेको ठाउँ छोड्नुपर्दा म पात्रको भाव यसरी अभिव्यक्त भएबाट पनि बुझ्न सकिन्छ, “आज मलाई लागिरहेको थियो, अगिपछि दौडिरहने र साइकलमा अत्यन्त तेज गतिका साथ हुँइकिरहनेहरूलाई भनिदिऊँ– ´आज त मलाई आफ्नो साइकल धिमा गरेर भए पनि सोध– ‘म किन दुःखी छु भनेर ।’अनि म भन्नेछु ‘आजको यो मेरो अन्तिम बिहान हो यो बाटोमा हिँडिरहने ।’ भोलिदेखि तिमीहरूले मलाई यहाँ कहिल्यै भेट्ने छैनौ” (अर्धकट्टी, २०८१:३१०) । बाध्यताको विदेश यात्रामा म पात्रले यस्तो प्रतीकात्मक अभिव्यक्ति दिएका छन्, “मैले सतीदेवीको लासबाट क्रमशः अङ्गपतन हुँदै गए झैँ आफ्ना विचार, धारणा, प्रतिबद्धता र आदर्शहरू खस्तैखस्तै गइरहेको देखिरहेको थिएँ” (अर्धकट्टी, २०८१:१३४) । उपन्यासमा प्रयुक्त भाषाले पाठकलाई गम्भीर मात्रै बनाउँदैन, कतै हँसाउँछ पनि । एउटा दृष्टान्त, “अमेरिकाको उपचारले पनि ठिक नहुने मेरो घुँडो अब भने मलाई महत्त्वपूर्ण लाग्यो ” (अर्धकट्टी, २०८१:२२४) । यसरी सन्दर्भअनुसार लेखकले यसमा बोधगम्य, सरसपूर्ण र विम्बप्रतीकयुक्त भाषाशैलीको प्रयोग गरेका छन् । आत्मपरकता, वर्णनात्मकता, व्याख्यात्मकता, काव्यात्मकता र संवादात्मकताले अभिव्यक्तिलाई सुललित र गहन बनाएका छन् । अतः भाषागत सरलता र शैलीगत मिठास नै प्रस्तुत कृतिको शिल्पगत सामर्थ्य हो । ६. शीर्षक सार्थकता आफूले भोग्दै आएका कतिपय कुराहरूलाई हामी सामान्य तरिकाले पनि सोच्न सकिरहेका हुँदैनौँ । जुन कुरा कुनै सिर्जनशील मस्तिष्कले प्याट्ट भनिदिन्छ अनि हामी आफैँलाई कता कता ईर्ष्या, लज्जा र आश्चर्य पनि लागिदिन्छ । यस कृतिको शीर्षक चयनलाई हेर्दा पनि त्यस्तै अनुभूति भइदिन्छ हामीलाई । लेखकले यसको नामकरणका सन्दर्भमा भनेका छन्, “… सीताजीको निधनपछि फेरि बिहे गरिएला भन्ने थिएन, गरियो । गृहस्थी दुइटा भयो । आधा सीताजीको, आधा मञ्जुजीको । बिहेपछि कहिले झापा, कहिले काठमाडौँ गरिएला भन्ने थियो । रहर नहुँदानहुँदै लागियो विदेश (अमेरिका) । आधा देश उता भयो, आधा यता । सबै कुरा बाँडियो आधा आधा …” (आफ्नै कुरा) । यस्ता आधाहरू त हामी जसको जीवनमा पनि त भइरहन्छन् । तर हामी सोचिरहेका हुँदैनौँ । लेखकले तिनै आफ्ना आधाहरूबाट नै शीर्षक रोजेछन् । चयनअनुसार नै कथानकको अथइतिमा रहेको म पात्रको उपस्थिति, सोचाइ र कथ्य विषयवस्तुका सापेक्षतामा यसको शीर्षक आकर्षक र अर्थपूर्ण रहेको पाइन्छ । उपसंहार ‘अर्धकट्टी’ कृष्ण धरावासीको तेस्रो आत्मपरक उपन्यास हो । पछिल्लो दश वर्षको अवधिमा म पात्रको जीवनमा आइपरेका दुःखसुख, सङ्घर्ष र सफलताका प्रेरक प्रसङ्गहरू कृतिका मुख्य विषय हुन् । सम्पूर्ण परिवार नै एकप्रकारले यायावर हुँदाहुँदै पनि आफ्नो कर्म, आफन्त, साथीभाइ र देशप्रतिको माया कहिल्यै नघट्नु मननीय कुरा हो । यो फगत कथा मात्र नभएर एउटा लिखित इतिहास पनि हो । सन्दर्भवश आएका सैद्धान्तिक कुरा, लेख, विचार र विषयगत पुनरावृत्तिहरू कसैलाई बिझाएछ भने त्यो पाठकको छनौटको पक्ष हुन सक्छ । तर मेरो विचारमा तिनले उपन्यासको आयामलाई मात्र विस्तार नगरेर विषयवस्तुलाई सघन र ओजिलो पनि बनाएका छन् । अघिल्लो वर्षतिर नरहरी आचार्यको ‘जीवनको पाठशाला : सम्झना र सम्बन्ध’ पुस्तकले पनि मलाई निकै छोएको थियो । यसपालि पढ्नुपर्ने केही पुस्तकहरूका बिचबाट ‘अर्धकट्टी’ पढ्दा पनि मलाई निकै प्रसन्नता बोध भएको छ । यसले नेपाली साहित्यका पाठकहरूको पठनप्यासलाई एकपटक पुनः तृप्त पार्ने विश्वास लिएको छु । The post ‘अर्धकट्टी’मा कृष्ण धरावासी appeared first on साहित्यपोस्ट.