लघुकथा: पोस्टमार्टम - sahityapost.com
चिसो स्टिलको टेबलमा मेरो शरीर मुडा जस्तै लम्पसार थियो । मट्टितेल र फर्मालिनको गन्धबीच म पहिलोपटक आफैँलाई एउटा ‘वस्तु’ को नजरले हेर्दै थिएँ । डाक्टर सुवेदीले पन्जा तान्दै सहयोगीलाई भने, “रामबहादुर, यसको टाउको अलि उठाऊ, काम धेरै छ ।” हिजोसम्म नाम र ओहोदा भएको म, आज छिटो सक्नुपर्ने एउटा ‘केस’ मात्र भएँ । डाक्टरले मेरो छातीमा पहिलो चिरो लगाए । रामबहादुरले सोधे, “सर, भर्खरको केटो रहेछ, के भएर मरेछ ?” डाक्टरले भित्री अङ्ग नियाल्दै भने, “बाहिरबाट त सग्लो देखिन्छ तर भित्र कतै गहिरो चोट हुनुपर्छ । मान्छे बाहिर जति सग्लो देखिन्छ, भित्र त्यति नै टुटिसकेको हुन्छ । ” म सोच्न थालेँ— डाक्टर साब, तपाईंको चक्कुले के मेरो त्यो ‘पीडा’ फेला पार्न सक्छ, जसले मलाई रातभरि सुत्न दिँदैनथ्यो ? जब डाक्टरले मेरो मुटु जोखे, रामबहादुरले भने, “मुटु त ठूलो रहेछ है ?” डाक्टरले चिसो स्वरमा जवाफ दिए, “यो त मासुको डल्लो मात्र हो रामबहादुर, भावना त केवल मस्तिष्कको रसायन हो । कति निर्मम विश्लेषण ! जसलाई मैले प्रेमको मन्दिर ठानेँ, त्यो विज्ञानका लागि पुर्जा मात्र भयो । अन्त्यमा, मेरो शरीर सिलाउँदै डाक्टरले लामो सास फेरे, “मान्छे शरीर सजाउन कति मेहनत गर्छ, तर अन्त्यमा यो एउटा खोल मात्र त हो ।” मेरो रहस्य र अधुरा सपना अब यो सिलाइएको छालाभित्र सधैँका लागि बन्द भए । जिउँदो छँदा मलाई लाग्थ्यो म शरीर हुँ, तर आज थाहा भयो—म त केवल एउटा क्षणिक अनुभव मात्र रहेछु । कोठाको बत्ती निभ्यो र म आफ्नो ‘शून्य’ अस्तित्वसँग शान्त भएर मुस्कुराएँ ।