Redirecting...

महाधिवेशन प्रतिनिधिसँग आत्मीय भेटघाट नै मेरो चुनावी शक्ति हो -कोमल वली - kendrabindu.com

महाधिवेशन प्रतिनिधिसँग आत्मीय भेटघाट नै मेरो चुनावी शक्ति हो -कोमल वली - kendrabindu.com
Source: kend

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य उम्मेदवार कोमल वलीले महाधिवेशनको माहोल अत्यन्तै सौहार्दपूर्ण र उत्साहजनक रहेको बताएकी छन् । देशभरबाट आएका प्रतिनिधिहरूसँग नजिकबाट भेट्ने, परिचय आदान–प्रदान गर्ने र राजनीतिक संवाद गर्ने अवसर नै महाधिवेशनको सबैभन्दा सुन्दर पक्ष भएको उनको भनाइ छ । कुराकानीका क्रममा वलीले आफूले पोस्टर, पम्प्लेट वा ठूलो खर्च नगरी सामान्य अभिवादन र प्रत्यक्ष संवादमार्फत भोट मागिरहेको बताइन् । “नमस्कार गरेर, कुरा गरेर भोट माग्दा प्रतिनिधिहरूले सकारात्मक प्रतिक्रिया दिनुभएको छ,” उनले भनिन्, “सबैले तपाईं जस्तो नेता चाहिन्छ भन्नु भएको छ, तर परिणाम त मतदानपछि मात्रै थाहा हुन्छ ।” महाधिवेशनमा गोप्य मतदान हुने भएकाले भनिएको कुरा नै अन्तिम सत्य नहुने अनुभव अघिल्ला चुनावबाट सिकेको उनले बताइन् । यद्यपि यसपटक प्रयोग गरिएको इलेक्ट्रोनिक मतदान प्रणाली सहज र पारदर्शी भएको उनको धारणा छ । “पूरा मत नहाल्दासम्म मेसिनले स्वीकार्दैन, त्यसैले मतदान प्रक्रिया स्पष्ट र भरपर्दो छ,” उनले भनिन् । वलीले पार्टीले यसपटक युवालाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै भावी नेतृत्व युवाबाटै विकसित हुने विश्वास व्यक्त गरिन् । प्रत्येक प्रदेशबाट युवाहरूलाई पर्याप्त प्रतिनिधित्व दिइएको र उनीहरूलाई प्रशिक्षण तथा मार्गदर्शनमार्फत नेतृत्वका लागि तयार पार्ने नीति पार्टीले लिएको उनले बताइन् । महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेल सहित नेताहरूको उम्मेदवारीलाई आन्तरिक लोकतन्त्रको सुन्दर अभ्यासका रूपमा व्याख्या गर्दै उनले एमालेभित्र प्रतिस्पर्धा, चुनाव र लोकतान्त्रिक अभ्यास सशक्त रूपमा स्थापित भएको दाबी गरिन् । “प्रतिस्पर्धाबाट उत्कृष्ट नेतृत्व छानिन्छ,” वलीले भनिन् ।