Redirecting...

नियात्रा: प्रकृतिको अनमोल खेल - sahityapost.com

नियात्रा: प्रकृतिको अनमोल खेल - sahityapost.com
Source: shpt

पदयात्राका क्रममा उच्च पहाडी भुगोलमा जाँदा ठुल्ठुला खोँचबाट हिँडेका छौँ, मनको अन्तरकुन्तरमा डर बसे पनि हातैले छुन सकिन्छ कि झैँ गरी लोभ्याउने हिउँसहितको हिमालले मन प्रफुल्ल पार्दैछ । === घामको राप बाँकी नै थियो । हामी नौ जना स्रष्टा-पदयात्री कार्तिक महिनाको पहिलो शनिबार शहरको वातावरणमा बस्न चाहेनौँ । स्रष्टा-पदयात्रा नेपालको नियमित कार्यक्रममा सहभागी भएर विन्देश्वरी मन्दिर हेर्न जाने सल्लाह भयो । बिहानै उठेर आ–आफ्नो जिम्मेवारी अनुसारको खाजा पानीको व्यवस्था गरी बाटो लाग्यौँ । तोकिएको समयमा कलंकी चोक पुग्नु थियो, सार्वजनिक सवारी साधनको गति त्यही हो, बिलम्ब नगरी घरबाट हिँडियो । एकएक जना गर्दै स्रष्टा-पदयात्री मन्दिरा मधुश्री, शीतल गिरी, विमल अर्याल, सुमन पुडासैनी, समीर पाख्रिन, निशा के.सी., आलोक चालिसे, प्रभा बराल र अभय श्रेष्ठ कलंकी चोकमा आइपुगे । बोडे भक्तपुरबाट दुइटा बस चढेर पदयात्रामा सहभागी हुन गएको थिएँ म । कार्तिक महिना, जाडो कलिलै थियो । स्रष्टा-पदयात्राको ६३ औँ यात्रा थियो, २०७९ कार्तिक ५ को । स्रष्टा-पदयात्राका क्रममा स्वीजरल्याण्ड पार्क भएर जाँदा आउँदा सडकमास्तिर डाँडामा रहेको आकर्षक मन्दिर टाढाबाट धेरै पटक देखिएको हो । यस यात्राका लागि हामीले नैकाप भएर जाने निधो गरेकाले बिहान ८ बजेको समयमा नैकापको उकालोतर्फ पाइला सोझिए । नैकापको उकालो उक्लिएपछि थानकोट जाने बाटो छाडेर दाहिनेतर्फको सानो बाटो समात्यौँ । बिहानको ८:३० बज्दा नबज्दै पुरानो नैकापको एउटा गल्लीमा रहेको नेवार्नी बहिनीको पसलमा पसेर चिया चमेना लिन थाल्यौँ । वरिपरि घना बस्ती रहेको पुरानो नैकाप छिचोल्ने बित्तिकै पुगिएको खुला ठाउँबाट हेर्दा पर्वत शृङ्खला, वन–जङ्गल देखिन्थ्यो । पूर्व बाहेक तीन दिशाको हरियाली मन हर्ने थिए । त्यसपछि हामी सडक किनारमा पश्चिमपट्टि रहेको शिव मन्दिर अवलोकनपश्चात् बस्यौँ र कुराकानी हुन थाल्यो । हाम्रो आजको यात्रामा तीन जना नारी स्रष्टाको सहभागिता थियो । अहिले ठिक ३० महिनापछि लेख्न बस्दा, त्यसबेला हामीबीच भएका कुरा सोच्न खोज्दैछु । स्रष्टाहरू आपसमा गफिँदा साहित्यकै बारेमा कुरा चल्ने गर्छ । अथवा अर्को महिना पदयात्रामा कहाँ जाने, यस्तै थियो होला विषय । अंग्रेजीमा प्रकाशित कुनै विदेशी उपन्यासको चर्चा अभय श्रेष्ठ र प्रभा बरालबीच भएको पनि सम्झेको छु । जे भए पनि त्यहाँको गफमा केही रस र आनन्दको नै योग थियो । हामी पदयात्रामा निस्किएका, बसेर गफमा भुल्न पनि भएन । मैले भनेँ, “गफको रस छाडेर बाटो लाग्नु नै बेस हुनेछ । दहचोकमा कालु पाण्डेको समाधीसम्म पुग्नु छ ।” हामी विन्देश्वरी मन्दिर पुग्न पाइला चाल्न थाल्यौँ । हामी गफिँदै हिँड्दा उकालो उक्लिने ठाउँमा एउटी नेवार्नी आमा भेटिइन्, उनले मुसुक्क हाँसेर स्वागत गरिन् । उनको पवित्र मुस्कानले मन रोमाञ्चित भयो । सडकछेउमा व्यायाम गर्ने उपकरणहरू थिए, केही पदयात्री त्यतै लागे र व्यायाम गर्दै गरेको फोटो खिच्न थाले । बाटो किनारमा चर्दै गरेका गाई बाख्रा हाम्रो आगमनले तर्सिएजस्ता पो देखिए । हामी जति जति नजिक जान्थ्यौँ, ती त्यति त्यति पर पो भाग्न थाले । तिनका समीप बसेर फोटो खिच्ने केही पदयात्रीको रहर थियो तर पुरा हुन पाएन । बल्ल तल्ल निशा केशीले सेल्फी लिइहालिन् । सेल्फी लिएपछि निशाको मुहारमा बेग्लै चमक देखिन्थ्यो । अनेक प्रकारको भङ्गिमाले हिमालय चुम्दा हिलारीमा जुन आनन्द प्राप्त भएको थियो, निशाको मुहारको भाव त्यही आशयको थियो । बाटो हिँड्दा धेरै पटक डाँडामा रहेको मन्दिर देखिएकै थियो तर पुगिएको थिएन । यसपटक नजिकबाट देख्ने, चिन्ने र बुझ्ने मौका थियो । धेरै प्रयास गर्दा कार्तिकमा पदयात्राका क्रममा मन्दिर पुग्ने प्रबन्ध मिलाइयो । हामी अहिले बौद्ध गुम्बामा पुगेका छौँ । हतारिँदै हिँडेका हामीले सडक छेउको गुम्बाको बारेमा सोधखोज पनि गरेनौँ । बाटामा हिँड्दा धेरै कुरा देखिन्छ, अनेकन मानिस भेटिन्छ, केहीसँग केही कुरा सोधिन्छ, कोही सोध्ने पनि पाइन्छन् । हामी गुम्बालाई पछाडि छाडेर अघि बढ्यौँ । सामान्य जङ्गल र तिरपाइलो हुँदै अगाडि जाँदा दाहिनेतिर विन्देश्वरी मन्दिर जाने प्रवेशद्वारले हाम्रो स्वागत गर्दै थियो । बडो आनन्दमय थियो त्यो क्षण । हामी नौ जनानै हाँसिरहेका थियौँ र मन्दिरमा पुग्न व्यग्र पनि थियौँ । जङ्गलको बीच भएर कच्ची बाटो थियो, ठाउँ ठाउँमा स–साना चउर जस्ता पनि भेटिए, अलिक फराकिलोमा पिकपनकमा रमाइरहेका पनि भेटिए । बिहान ८ बजेदेखि हामी हिँड्दै थियौँ, अहिले ११ बजिसकेको हुँदा बसेर खान मिल्ने घमाइलो स्थान पाएपछि सहभोजमा जुट्यौँ । भोजनपश्चात् हामीले प्रयोग गरेका सबैकुरा पोको पार्यौं र उपयुक्त स्थानमा राखिदियौँ । कार्तिक महिना मौसम सफा थियो । मन्दिरमा कतिखेर पुगिन्छ, मनमा यही कुरो खेलाउँदै पातलो वन–जङ्गलको बाटोमा यता उति नियाल्दै अघि बढिरह्यौँ । कतिपय स्रष्टा-पदयात्री रमणीय हरियालीमा सेल्फी लिइरहनुभएको थियो । करिब २५ मिनेटको हिँडाइपश्चात् हरियाली डाँडामा रहेको मन्दिर परिसरमा पुग्यौँ । पदयात्राका क्रममा उच्च पहाडी भुगोलमा जाँदा ठुल्ठुला खोँचबाट हिँडेका छौँ, मनको अन्तरकुन्तरमा डर बसे पनि हातैले छुन सकिन्छ कि झैँ गरी लोभ्याउने हिउँसहितको हिमालले मन प्रफुल्ल पार्दैछ । पदयात्रा गर्दै पुग्नुपर्ने स्थानमा जब पुगिन्छ त्यसको आनन्दनै बेग्लै । आजको मौसम मनमोहक रहेको छ । घाम लागिरहेपनि गर्मी अनुभव भएन । मन्दिर आकर्षक थियो, परिक्रमा गरियो र केही समय सुस्ताइयो । मन्दिर परिसरबाट देखिने प्राकृतिक सौन्दर्य नियाल्दै थियौँ । पहेँला र राता पात भएका थरि–थरिका वृक्षको सौन्दर्यमा कोही डुबेका थिए । पहाडको अग्लो स्थानमा मन्दिर रहेकाले टाढा टाढासम्म सहजै देख्न सकिन्थ्यो । कुनै कुना भएको पृथक किसिमले बनाइएको यो मन्दिर अद्भूत लाग्यो । दस मिनेट जति हामी त्यहीँ बस्यौँ । मन्दिरका बारेमा धेरै तथ्य बुझ्न मन लाग्यो । मन्दिर परिसरमा भेटिएका स्थानीयसँग केही भलाकुसारी भए । गोरखाका राजा पृथ्वीनारायण शाह कीर्तिपुर आक्रमण गर्दा नराम्ररी पराजित भए । दूरदर्शी कालु पाण्डे मारिए, भाइ सुरप्रताप शाहको आँखा फुट्यो, उनी स्वयं बल्लतल्ल बाँच्न सके । सोही समयमा एक रात स्वयं भगवती राजाको सपनामा आइछन् । वास्तवमा राजालाई विस्मय भयो— भगवती दाहिने रहेको हुँदा नै आदेश दिएकी हुन् । अनि यहाँ यो मन्दिर बनाएर विधिपूर्वक प्राण प्रतिष्ठा गराइ पूजाआजा गरे । उनी र उनको सेनामा उत्साह भरिएर आयो । विन्देश्वरी भगवतीले सपनामा बताएअनुसार योजना बनाएर कीर्तिपुर आक्रमण गरे र जिते । यस मन्दिरका बारेमा थाहा पाएर हामी स्पष्ट भयौँ । एकीकरणका क्रममा पृथ्वीनारायण शाह र उनका सेनाले बनाएका मन्दिर उपत्यकामा धेरै छन् । जस्तै: दशचोकको मनकामना, दक्षिणकाली नगरपालिकामा पर्ने मनकामना, लेलेको मनकामना, दलचोकी देवी, कोतडाँडामा रहेको मन्दिर आदि आदि । शंका लागेका कतिपय कुरा स्थानीयसँग सोध खोज गरी स्रष्टा पदयात्री सन्तुष्ट भए । तब थाहा भयो यस मन्दिरको इतिहास । हो, यस्तै कुरा थाहा पाउने उत्सुकता, जिज्ञासाले त हो स्रष्टा पदयात्राले निरन्तरता पाएको । यो के ? मन्दिरको उत्तरतर्फ डिलमा रहेको एउटा लालीगुराँसको बोटमा फूल फुल्न ठिक्क थियो कार्तिकको पहिलो सातामै । मौसम परिवर्तनको कारण नै देखिने न हो यस्तो आश्चर्य लाग्दो कुरा । प्रकृतिको अनमोल खेल त हो । कार्तिक महिनामै लालीगुराँसको फूल देख्दा हर्षविभोर भयौँ । उपत्यका वरिपरि यस्ता प्रशस्त रमणीय डाँडाकाँडा छन् । अनि हामी मन्दिरको पश्चिमतर्फ रहेको भीरमा बनाइएको ठाडो सिँढी ओर्लिएर सडकमा आयौँ । सडक छेउमा लमतन्न पल्टिएको स्वीजरलैण्ड पार्कमा मानिसको अत्यधिक भिड थियो— पिकनिकमा रमाउँदै गरेका । उपत्यकामा रहेका यस्ता पिकनिक स्थल भरिभराउ हुन्छ शनिबारको दिन प्राय: । प्राचीन इतिहास रहेको इन्द्रदहको नजिकको यो पार्क पिकनिक मनाउनेको पहिलो रोजाइमा पर्ने गरेको छ । यस पार्कबाट हिमाल सुन्दर देखिन्छ, आज मौसमले साथ दिएको हुँदा हिमालको सौन्दर्यमा मोहित हुनेको मुहार उज्यालिएको महसुस गरेँ । यहाँका मानिसले ऐतिहासिक सम्पदाको द्योतक इन्द्रदह धार्मिक आस्था र विश्वासको केन्द्र मान्दा रहेछन् । यही दहको नामले पाएको दहचोकको डाँडामा पृथ्वीनारायण शाहले उपत्यका आक्रमण गर्न बनाएको किल्लाको अवशेष छ । यो स्थानमा कालु पाण्डेको समाधि, मनकामना मन्दिर, भ्यु टावर पनि छ— हुन त यो डाँडा आफैँमा प्राकृतिक भ्यू टावर हो— जहाँबाट पूर्वमा उपत्यका, पश्चिममा प्रशिद्ध मनकामना, उत्तर नुवाकोटको फाँट र हिमाल अनि दक्षिणमा कीर्तिपुर देख्न पाइन्छ । हामी ढुङ्गाको सिँढी उक्लेर ऐतिहासिक स्थल इन्द्रदह पुग्यौँ । सानो चिटिक्क परेको दह छ, पूर्वतर्फ इन्द्रलगायत अन्य देवीदेवताका मन्दिर र मूर्ति छन्, दक्षिणतर्फ सतल छ, चारैतिर हरियाली छ, उकालो उक्लँदै आएकाको थकान मेटिन्छ । २०७३ माघमा आउँदा देखेकोभन्दा अहिले निकै परिवर्तन भएको पाइयो । २०७३ माघ ७ गते दहचोक डाँडामा कालु पाण्डेको समाधिलाई साक्षी राखेर स्रष्टा-पदयात्री जय छाङ्छाका तीन कृति विमोचन गरिएको थियो । २०७७ पौष ४ गते दहचोक डाँडाको उत्तरी पाखोबाट उक्लिएका थियौँ, डाँडामा भ्यू टावर बन्दै थियो, कालु पाण्डेको समाधि पूनर्निर्माण गरिएको पाएका थियौँ । यसपटक दहचोक डाँडासम्मको मोटरे बाटो, पदमार्ग, भ्यू टावर, कालु पाण्डेको शालिक आदि निर्माण भइसकेको थियो साथै पर्याप्त संख्यामा पर्यटकको आगमनले मेलाको रूप लिएको देखियो । कालु पाण्डेको समाधि, किल्ला भ्यू टावर र त्यहाँको चहलपहल अवलोकन गरेपश्चात् केही तल सडक किनारमा प्रशस्त पसल खुलेछन्, हामी त्यही एउटा पसलमा चिया पिउँदै गफिन थाल्यौँ । चियाखाजासहित स्थानीय उत्पादन पनि बेच्न राखिएको अवस्था, निर्जन डाँडो पर्यटनको केन्द्र बन्न पुगेका बारेमा छलफल भएको थियो । करिब १५ मिनेट पछि हामी पाण्डे खलकका कुलदेवी मनकामना मन्दिर अवलोकन गर्दै ओरालो ओर्लिएर तल सडकमा आएका थियौँ । पहिलो पटक आउँदा हामी दहचोकको पश्चिमतर्फबाट ओरालो ओर्लंदै जङ्गलको बाटो भएर तल दहचोक बस्तीमा पुगी बस चढेर फर्किएका थियौँ । यसपटक जङ्गलको ओरालोबाटो ओर्लन मन मानेन न त आएकै बाटो फर्कन चाह्यौँ— अनि हामीले बाटो पहिल्यायौँ थानकोट, दहचोक बस्तीका मानिस पैदल इन्द्रदह जात्रा हेर्न आउने पुरानो बाटो । ओरालो ओर्लंदै गर्दा एक जना स्थानीय महिलासँग सहयात्री निशा र प्रभाजीले इस्कुसका बारेमा कुराकानी गर्नुभयो, “किनेर लान पाइन्छ ?” उनी रमाउँदै स्कूस टिप्न गइन् । हामी अलिक तल सडक छेउमा फराकिलो चउरमा बसेर खाना खाँदै गर्दा ती महिला इस्कुस लिएर आइपुगिन् । गाउँमा सस्तो पाइन्छ कि भनेर मगाएका थिए मोल नै नसोधी, तर उस्तै उस्तै थियो मोल । मगाएको कुरा आइसकेको थियो, फर्काउन नैतिकताले दिएन अनि झोलामा पाँच पाँच किलोको भारी थपे ती दुइले । अब उकालो उक्लनु थिएन, सामान्य ओरालो मात्र थियो— गाउँघरमा बिक्री नहुने इस्कुस, त्यहीँ गएर किन्न खोज्दा शहर बजारकै मूल्य लगाउने प्रवृत्तिले पनि हो— यहाँ घुम्न आएका मानिसले स्थानीय उत्पादन किन्न नचाहेको । व्यापारीलाई दिने मोल या सो भन्दा अलिक बढी लिए हुन्न र ! अन्ततः हामी दहचोक बजारमा आइपुग्यौँ, सोधखोज गर्दा एउटा बस भरखर गएको अनि अर्को आउन केही समय लाग्ने हुँदा बस पर्खिँदै चिया पिउन थाल्यौँ । चिया पिउँदै त्यहाँका स्थानीयसँग यहाँको स्थानीय उत्पादन तथा नौलो चिज के हो ? भन्दै सोधखोज गर्न थाल्यौँ । तर त्यस्तो त्यहीँको विशेष उत्पादन पाइएन, पाइएको भए किनेर घर लैजान हुन्थ्यो । दहचोक बजारमा बसाइँ व्यवस्थित देखिन्थ्यो । स्वभाविक रूपमा स्वतःस्फुर्त रूपमा बसेको प्रष्टै बुझिन्थ्यो । केही समयपश्चात् बस आयो, हामी बसमा चढ्यौँ । पश्चिम दिशामा नागढुङ्गाको पहाडमा लुक्न लागेको सूर्यको आभामा दहचोक बस्ती राम्रैसँग देखिएको थियो । बसमा भेटिएका अलिक पाका मानिससँग दहचोकका बारेमा बुझ्न चाहे, उनी त दहचोकका इन्साइक्लोपिडिया जस्तै रहेछन्— जंगल छेउमा रहेका पुराना दुई बस्ती उजाडिएर यता सरेको रहेछ, एउटा बस्ती पानीको मूल सुक्नाले अनि अर्को बस्तीमा जंगली जनावर, त्यसमा पनि बाँदरले हायल कायल पारेको हुनाले । प्रशस्त कुराकानी भए यता उताको । पहिले शहर जान पर्यो भने पैदलै जानुपर्दो रहेछ कलंकीसम्म । कि त ठाडो उकालो उक्लने सास्ती खेपेर थानकोट पुगेर मोटर चढनुपर्ने रहेछ । अहिले मोटरले आँगनबाटै लैजाने र ल्याउने रहेछ । भन्दैथे, सुविधा भएर के ? अब पहिलेको जस्तो तागतिलो खानपिन छैन । ढिकी जाँतो, दाउरा घाँस, भारी बोकेर उकालो ओरालो गर्नुपर्ने समस्या रहेछ । हिजोको समयलाई हेर्दा जीवन मजासँग कटदै अलि सहज बनेको रहेछ । प्रकृतिको अनमोल वरदान हो दहचोक डाँडा भन्ने लाग्यो । बस कलंकी पुगेपछि मेरा सहयात्री पाका मानिस ओर्लनुभयो । छ जना पदयात्री विमल अर्याल, सुमन पुडासैनी, निशा केसी, आलोक चालिसे, मन्दिरा मधुश्री र प्रभा बराल पनि हात हल्लाउँदै बिदा हुनुभयो । अँध्यारो भैसकेको थियो, सुनधारा जाने यात्रीलाई बोलाउँथ्यो सहचालक । अन्ततः सुन्धारामा हामी तीन पदयात्री ओर्लियौँ, अभय श्रेष्ठ गोरखापत्र संस्थानतर्फ पाइला बढाउनुभयो । मित्र समीर पाख्रीनलाई रत्नपार्कमा भैँसेपाटी जाने बस चढाएर म बागबजारमा रहेको भक्तपुर बसपार्कतर्फ लम्किएँ ।