Redirecting...

विद्यालयले स्थापना गरेको सामुदायिक पुस्तकालयमा ६ हजार पुस्तक - sahityapost.com

विद्यालयले स्थापना गरेको सामुदायिक पुस्तकालयमा ६ हजार पुस्तक - sahityapost.com
Source: shpt

जीवन लामा, दोलखा —दोलखा । दोलखाको जिरी नगरपालिका–६ मा अवस्थित जिरी माध्यमिक विद्यालयले स्थापना गरेको सामुदायिक पुस्तकालयमा हाल ६ हजारभन्दा बढी पुस्तक सञ्चित छन्। ५९ वर्षअघि केवल एक दर्जन पुस्तकबाट सुरु गरिएको यस पुस्तकालय समयक्रमसँगै समृद्ध हुँदै आज विविध विधाका हजारौं पुस्तकहरूको संग्रहालयमा रूपान्तरण भएको छ। विद्यालयका प्रधानाध्यापक कुमार जिरेलका अनुसार पठन संस्कृतिको प्रवर्द्धनका लागि पाठ्यक्रमभित्रका मात्र होइन, पाठ्यक्रमबाहिरका पुस्तकसमेत पुस्तकालयमा समावेश गरिएका छन्। साहित्य, राजनीति, शिक्षा, स्वास्थ्य, कृषि, इतिहास र विज्ञानजस्ता विविध विषय समेट्ने पुस्तकहरूको समृद्ध संग्रहले पुस्तकालयलाई बहुआयामिक बनाएको छ। पाठकको पहुँच सुनिश्चित गर्न विद्यालयले पुस्तकालयलाई ‘सामुदायिक पुस्तकालय’ नाम दिएको हो। विद्यार्थी मात्र नभई अभिभावक र अन्य अध्ययनप्रेमी सर्वसाधारण पनि यहाँका नियमित पाठक छन । पञ्चायतकालका दुर्लभ पुस्तकदेखि हालसालै प्रकाशित कृति समेत यहाँ उपलब्ध छन्। यो पुस्तकालयको सुरुवात २०२३ सालमा शिक्षाप्रेमी इन्द्रबहादुर खड्का, लक्ष्मी थापा, टेक जिरेल, तीर्थराज सर लगायतको पहलमा ढुंगा–माटोको सानो कोठाबाट भएको थियो। सोही वर्ष जिरी बहुउद्देश्यीय विकास परियोजना (JMUDP) को सहयोगमा विद्यालय परिसरमै नयाँ पुस्तकालय भवन निर्माण गरियो। त्यस भवनको निर्माणमा तत्कालीन शिक्षक बलरामकृष्ण मानन्धर र गङ्गा मानन्धरले आर्थिक सहयोग गर्नुभएकाे थियाे, जसको स्मृतिमा उक्त भवनलाई ‘गङ्गा स्मृति पुस्तकालय भवन’ नाम दिइएको थियो। २०७२ सालको भूकम्पले पुरानो भवन भत्किएपछि अहिले पुस्तकालय जस्तापाताले छाएको टहरामा सञ्चालन भइरहेको छ। एक जना कर्मचारीको व्यवस्था गरिएको यस पुस्तकालयमा हरेक शनिबार आठ जना भन्दा बढी पाठक पुग्ने गरेकाे छ । पुस्तकालयसँग जनअपनत्व बढाउन वार्षिक सदस्यता प्रणाली सञ्चालनमा ल्याइएको छ, जसअन्तर्गत हालसम्म ५९ जना सक्रिय सदस्य रहेका छन्। पठन संस्कृतिको प्रवर्द्धन र अध्ययनको वातावरण सहज बनाउन विद्यालयले पुस्तकालयमा निशुल्क चिया–कफीको सुविधा समेत दिएको प्रधानाध्यापक जिरेलले जानकारी दिनुभयो। The post विद्यालयले स्थापना गरेको सामुदायिक पुस्तकालयमा ६ हजार पुस्तक appeared first on साहित्यपोस्ट.