कविता : जिम्मल्नी बज्यै - sahityapost.com
फाट्यो कोट पुरानो त्यो समयको लाखा र पाखा सबै,लाग्यो ओट पीडा अनेक तरहका लागेर आँखा सबै ।जम्मै लोक–समाजमा जिम्मलको वा ! क्या थियो रज्गजैनेटो काटिसके पनि समयले कल्पेकी कल्प्यै बज्यै । ब्वाँसो, चित्तल, बाघ, बाज, उपियाँ, ती फ्याउरा,उडुस, मुसा सर्प अनि बिच्छी र खजुरा, जुम्रा, झिँगा, पिउसा ।जम्मै आइ शरण परी हजुरमा बिन्ती बिसाउँदथेमेरा जिम्मलका अगाडि त सबै थर्थर भै काँप्तथे । आउँथ्यो उपहार सधैँ चरणमा मुड्की र चुड्की थियोधौ–धौ केही थिएन कत्ति घरमा हाँसो र फुर्ती थियो ।नोकरचाकर ती थिए घरभरि आदेश खाँचो थियोखर्चै गर्नुपरे कति सहज थ्यो यो हात साँचो थियो । ज्युनार भोजनको खुसी मन गरी ती प्रभुका साथमा,गर्थे चुम्बन ती लुगा र गहना पट्याउँदै खातमा ।टीका–गाजलले चिटिक्क सजिई बस्थेँ नि कुर्ची महाँहात्ती शिर झुकाई त्यो गजबले पर्थ्यो शरण गाथमा । जग्गा टन्न थियो मकै घरभरि खानपान साह्रै ठुलोमस्ती मोज थियो सधैँ खुसी थियो फुल्थ्यो सधैँ ह्याकुलो ।हिजोका सब ती कुरा मनभरि खेल्छन् अझै जोडलेनिल्नै छैन सहज यसै समयमा रुँदै छ मन तोडले । जिम्मल स्वर्ग गए भुराभुरी पनि छाडेर निस्के उठीबदल्यो शासन नि यसै मुलुकमा सुनसान बन्यो कुटी ।बारी खेत बने मरुभूमिसरी क्यै छैन खनजोत पनिसुको छैन कमाइ यो समयमा के तिर्नु मालपोत पनि । भूजा सम्झी पकापकी खुसी हुँदै च्याँख्ला यी पुकाउँदैएक्लै आँसु चुहाउँदै अतीतको त्यो गल्छीमा अल्झिँदै ।उस्तै सोच छ दिलमा अझै पनि सन्तान खै सम्पत्ति ?यस्ती शान्त मिजासिली करुण छिन् यिनकै भयो दुर्गति । नाति–नातिनी छन् सबै सहरमा निल्दै छिन् उनी ढिँडोभेटै गर्न पनि कसो गरी पुगूँ त्यति छ यो घिडघिडो ।पारिपट्टि पहाडको पथभरि ओछ्याउँदै ती नजरएक्लै पीपलझैँ नहल्चल गरी बित्दै छ हरेक प्रहर । साँची राख्न घुमाउने घर पनि हम्मे पर्यो लौ अबधोती खुम्ची मुजा परे पटपटी फुट्दै छ त्यो मादल।कौडा तास अझै पनि अमर छन् भैँसी मर्यो लाहुरीकाम्छन् हात बजै अझै रहरमा गाला परे चाउरी । जम्मै बाघसरी बने ती भुसुना क्वै छैन सोझो ढुकुरजुध्छन् आइ यसै बिना कसुरमा भुक्दै ती गाउँका कुकुर ।नेता फेरि मुसा चिची गरी–गरी झ्वाम्मै चढे पातमाजुम्रा उडुसको गजब चचहुई ब्वाँसा लिँदै साथमा । आयो है गणतन्त्र यो मुलुकमा ल्याएर एक कानुनदुर्गम स्थानभरि अभाव नुनको भित्रेर देशमा सुन ।बक्रे स्वाँठ सबै ठुला पद पुगे झोले सबै सन्त तीजनताको पशु ब्याउँदा हरिपले मज्जै दुहे ब्याउँती ।