Redirecting...

रामेछापको जुनार : गाउँकै स्रोत, गाउँकै श्रम र गाउँकै उत्पादन - janatatimes.com

रामेछापको जुनार : गाउँकै स्रोत, गाउँकै श्रम  र गाउँकै उत्पादन - janatatimes.com
Source: jant

रामेछाप, मंसिर १८ । रामेछापको पहिचानका रूपमा स्थापित ‘जुनार’ अब बेचिने–नबेचिने चिन्ताबाट किसानहरू मुक्त हुनुभएको छ । स्थानीयस्तरमै जुनार प्रशोधन उद्योग सञ्चालनमा आएपछि किसानले उत्पादन बेच्ने ठाउँको अभाव भोग्नु नपर्ने भएको हो । गाउँमै उद्योग खुलेसँगै उत्पादन गाउँमै खपत हुने, मूल्य पाउने र गाउँकै बासिन्दाले रोजगारी पाउने वातावरण बनेपछि किसान तथा स्थानीयवासी दुवै उत्साहित भएका छन् । जुनार बिक्री नहुने डरले विगतमा जस्तो काँचै जुनार बेच्नु पर्ने तथा जुनार सडाएर फाल्नु पर्ने समस्याबाट अब रामेछापका किसान मुक्त भएका छन् । रामेछाप, सुकाजोर, ओख्रेनी, सालु, देउराली, गोठगाउँ, रामपुर, हिमगंगा लगायत क्षेत्रका बगैँचामा उत्पादित जुनार अहिले रामेछाप नगरपालिका–७ सुकाजोरमा सञ्चालनमा आएको प्रशोधन उद्योगमार्फत व्यवस्थित रूपमा बजारसम्म पुग्न थालेको छ । उद्योग सञ्चालनमा आएपछि स्थानीय किसानले उत्पादन भएको जुनार आफ्नै गाउँमा बिक्री गर्न पाउँदा ठुलो राहत महसुस गरेका छन् । मन्थली डिलक्स एग्रोफरेष्ट्री प्रालिले किसानका बगैँचामै पुगेर जुनार खरिद गरी उद्योगमा ल्याई जुस उत्पादन गर्दै आएको छ । यहाँ जुनार टिप्ने, छिल्ने, पेल्ने लगायत प्रक्रियामा हाल ७० देखि ८० जना स्थानीयवासी नियमित रूपमा संलग्न रहेको कम्पनीका सञ्चालक लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार किसानहरू स्वयंले पनि रोजगारी पाउनुभएको छ, साथै गाउँका अन्य युवाहरूलाई पनि उद्योगमार्फत आय–आर्जनको स्रोत सिर्जना भएको छ । जुनार जाडो मौसममा कम खपत हुने र गर्मीसम्म नटिक्ने भएकाले यसलाई प्रशोधन गरेर जुसको रूपमा भण्डारण गरिने र गर्मीयाममा बजारमा पठाइने गरिएको सञ्चालक श्रेष्ठले बताउनुभयो । ‘रामेछापको जुनारको जुस केही वर्षयतादेखि देशभरि मात्र होइन, विदेशसम्म पनि पुग्न थालेको छ,’ उहाँले भन्नुभयो, ‘गर्मीयाम तथा चाडपर्वका बेला कोसेलीका रूपमा यसको माग निकै राम्रो छ ।’ यसैबीच वाग्मती प्रदेश सभाका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले उद्योगको स्थलगत अवलोकन गर्नुभएको छ । उहाँले गाउँको कृषि उत्पादनमा आधारित यस्ता उद्यमले ग्रामीण अर्थतन्त्र सुदृढ पार्ने भएकाले प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोगका लागि पहल गर्ने आश्वासन दिनुभएको छ । सरकारी अनुदानमा थप उपकरण प्राप्त भए उद्योगलाई अझै विस्तार गर्ने योजना रहेको सञ्चालक श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार उत्पादन क्षमतासँगै बजार विस्तार पनि समान रूपमा बढाउँदै लैजाने लक्ष्य रहेको छ । स्थानीयस्तरमै उद्योग स्थापना भई कृषि उत्पादनको मूल्य संरक्षण हुनु रामेछापका जुनार किसानका लागि सुखद परिवर्तनको रूपमा देखिएको छ । केही वर्ष अघिसम्म उत्पादित जुनार बिक्री नभएपछि जुनार बगैँचा नै मासेका रामेछापका किसानको लागि जुस उद्योगले उत्पादनको बजार ग्यारेन्टि गरेको छ । गाउँकै स्रोत, गाउँकै श्रम र गाउँकै उत्पादनबाट रोजगार र आय सिर्जना भएको यस मोडलले स्थानीय विकासको नयाँ उदाहरण प्रस्तुत गरेको छ ।