Redirecting...

अप्ठ्यारो परिस्थितिमा पनि निराश हुन हुँदैन : अध्यक्ष ओली - ehimalayatimes.com

अप्ठ्यारो परिस्थितिमा पनि निराश हुन हुँदैन : अध्यक्ष ओली - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अप्ठ्यारो परिस्थितिमा रहे पनि निराश हुन नहुने बताउनु भएकाे छ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल लामो इतिहास बोकेको राष्ट्र भएकाले अनेक उतारचढाव झेलेर अघि बढ्दै आएको उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयो, “हामी त्यति सजिलो परिस्थितिमा छैनौँ, अप्ठ्यारो अवस्थामा छौँ । तर लामो इतिहास भएको देशका बासिन्दा हामी अप्ठ्यारो पर्दा पनि निराश हुँदैनौँ । हाम्रो इतिहास भनेको अनेक जाडो–गर्मी, उकाली–ओराली पार गर्दै आएको इतिहास हो ।” नेपाल भौगोलिक, जैविक तथा सामाजिक रूपमा विविधतायुक्त देश भएको उल्लेख गर्दै ओलीले भौगोलिक उकाली–ओरालीसँगै सामाजिक र विकासका चुनौतीहरू पनि नेपाली समाजले निरन्तर सामना गर्दै आएको बताए। पछिल्लो समय देश पछाडि गएको भन्ने धारणा गलत रहेको उहाँको भनाइ थियो। “पहिले आधुनिक विज्ञान र प्रविधिले उपलब्ध गराएका सुविधा थिएनन्, सवारी साधन पनि थिएनन् । अहिले समय परिवर्तन भएको छ । अग्रजहरूले केही गरेनन् भन्ने होइन, हामीले पनि केही गरेका छैनौँ भन्ने होइन, व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएको छैन भन्ने भाष्य गलत हो,” अध्यक्ष ओलीले भन्नुभयाे । व्यवस्था परिवर्तनसँगै अवस्था परिवर्तन पनि भइरहेको दाबी गर्दै उहाँले देशमा औद्योगिकीकरण बढ्दै गएको र नयाँ नीति, विधि, तरिका तथा स्रोतहरू अपनाइँदै गएको उल्लेख गर्नुभयाे । “मान्छेलाई सुविधा र सहुलियत मात्रै पर्याप्त हुँदैन, उसले अझ सहज जीवन खोज्छ,” ओलीले भन्नुभयाे, “देश यस्तै अवस्थामा रहिरहँदैन, किनभने हामीले थुप्रै नयाँ कामहरू अघि बढाएका छौँ ।”