इरानले ट्रम्पलाई अपराधी घोषणा गर्यो, हिंसा भड्काएको आरोप - nagariknews.nagariknetwork.com
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जनताको हत्यारा र अपराधी घोषणा गरेका छन्। इरानमा जारी विरोध प्रदर्शनहरूको बिचमा शनिबारको सम्बोधनमा खामेनीले ट्रम्पलाई हिंसा उक्साएर हजारौंको ज्यान लिएको भन्दै जिम्मेवार ठहराएका छन्। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उनले प्रदर्शनहरू अमेरिकी षड्यन्त्रको परिणाम भएको भनेका छन्। खामेनीले इरानले उक्त षड्यन्त्रको ढाड भाँचिदिएको दाबी गर्दै अब षड्यन्त्रकारीहरूलाई पनि कडा कारबाही गर्नुपर्ने स्पष्ट पारेका छन्। खामेनीले सामाजिक सञ्जालमा जारी बयानमा हालैको अशान्ति अमेरिकी उत्तेजनाको नतिजा भएको उल्लेख गरेका छन्। उनले इरान युद्ध चाहँदैन तर देशविरुद्ध काम गर्नेहरूलाई छोडिने छैन भनेर चेतावनी पनि दिएका छन्। मानव अधिकार संगठनहरूका अनुसार प्रदर्शनमा दर्जनौं सुरक्षाकर्मीसहित तीन हजारभन्दा बढी मानिस मारिएका छन्। महंगीविरुद्ध सुरु भएको आन्दोलन पछि खामेनी सत्ता अन्त्यको मागमा पुगेको छ। अहिले अवस्था धेरै सामान्य भइसकेको भए पनि प्रदर्शन जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्। इरानले अमेरिका र इजरायलसँग जोडिएका तत्वहरू हिंसाको पछाडि रहेको आरोप लगाउँदै आएको छ। आर्थिक संकटका कारण गत वर्ष डिसेम्बर २८ मा सुरु भएको विरोध प्रदर्शन चाँडै सरकारविरोधी आन्दोलनमा बदलियो। सरकारले आठ दिनसम्म इन्टरनेट बन्द गर्यो। अहिले सडकहरू शान्त देखिए पनि सुरक्षा बलको उपस्थिति र गिरफ्तारीका कारण तनाव कायम छ। एजेन्सी