सुदन गुरूङलाई प्रश्न: विपद व्यवस्थापनको बैठकमा तपाईं किन जानुभयो ? - www.onlinepana.com
अविरल वर्षाका कारण उत्पन्न बाढी, पहिरोबीच गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार दिउँसो एउटा बैठक आयोजना गरेको थियो।सुरक्षा तथा अन्य सरोकारवाला निकायहरूसँग विपद व्यवस्थापन तयारी निम्ति डाकिएको उक्त बैठकमा ‘हामी नेपाल’ का संयोजक सुदन गुरूङको सहभागिताले धेरैको ध्यान तान्यो।सुदनले त्यहाँ विपद व्यवस्थापनमा गर्नुपर्ने तयारी र उद्धार कार्यबारे सरकारी अधिकारीहरूलाई सुझावसमेत दिए।पछिल्लो जेन–जी आन्दोलनपछि चर्चामा आएका गुरूङलाई के हैसियतले उक्त बैठकमा निम्ता गरियो? उनलाई एक सामाजिक संस्थाको सञ्चालकका रूपमा डाकिएको भए त्यस्तै काममा संलग्न अन्य संस्थालाई किन डाकिएन? जेन–जी आन्दोलनमा संलग्न व्यक्तिका रूपमा डाकिएको भए त्यही आन्दोलन आह्वान गर्ने अन्य प्रतिनिधिहरू किन त्यहाँ थिएनन्?शनिबारको उक्त बैठकपछि यस्ता धेरै प्रश्न गृह मन्त्रालय र विपद व्यवस्थापन प्राधिकरणतिर सोझिएका छन्।हामीले यिनै प्रश्न मन्त्रालय र प्राधिकरणका अधिकारीलाई सोधेका छौं। सुदन गुरूङलाई पनि उनी त्यो बैठकमा कसरी पुगे भनेर प्रश्न गरेका छौं।सुदनलाई हामीले सोधेका थियौं, ‘सरकारी बैठकमा गैरसरकारी मान्छे कसरी पुग्यो भनेर प्रश्न उठेको छ नि?’जबाफमा उनले भने, ‘हामी गृहमन्त्रीसँग कुराकानी गरेर नै त्यहाँ गएका हौं। मन्त्रीज्यूले ‘प्राधिकरणको बैठक छ, तपाईंहरू पनि आउनुस् न त’ भनेपछि हामी त्यहाँ आफ्नो अनुभव बाँड्न र विशेषज्ञता अनुसार सहयोग गर्न गएका हौं।’बैठकमा सामेल भएर के गर्नुभयो भन्ने प्रश्नमा उनले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा आफ्ना स्वयंसेवकहरू परिचालन गरेको बताए।उनका अनुसार देशभरि ‘हामी नेपाल’ का ९२ च्याप्टर र १६ हजार स्वयंसेवक छन्।‘हामीले हाई–अलर्ट भएका ठाउँमा सिडिओहरूसँग समन्वय गरेर, स्थानीय तहका गाउँ र नगरपालिका प्रमुखसँग समन्वय गरेर बस्ती खाली गराउने काम गर्यौं। बाटोमा फसेकाहरूलाई उद्धार गर्ने र एम्बुलेन्स चाहिएको ठाउँमा एम्बुलेन्स पठाउने काम गर्यौं। हेलिकप्टर स्ट्यान्ड–बाई राख्नेदेखि अरू काममा पनि सहायता गर्यौं,’ उनले भने, ‘कतिपय सिडिओ र पालिका प्रमुखहरूले सहयोग गर्नुभयो, कतिपयले फोन पनि उठाउनुभएन।’यसरी समन्वय गर्दा कसैलाई पनि निर्देशन वा आदेश दिने काम नगरेको उनले बताए।‘विपद बेला सरकारले मात्र गर्नुपर्छ भन्ने छैन। नेपालीको बानी अरूलाई दोष लगाउने छ। तर एक नागरिकका रूपमा हाम्रो पनि जिम्मेवारी हुन्छ। हामी त्यही जिम्मेवारी बोध गरेर गएका हौं,’ उनले अगाडि भने, ‘हामीले सरकारी संयन्त्रकै कमान्डमा आफ्नो विशेषज्ञता र आइडिया राखेर काम गर्यौं।’सुदनले विपद व्यवस्थापनको काममा आफू र आफ्नो टिमसँग नेपाल सरकारको भन्दा धेरै अनुभव भएको दाबी पनि गरे। The post सुदन गुरूङलाई प्रश्न: विपद व्यवस्थापनको बैठकमा तपाईं किन जानुभयो ? appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).