धर्मान्तरणको धन्दाप्रति कांग्रेस नेता शाहको आपत्ति, गराए सरकारको ध्यानाकर्षण - www.nepaliheadline.com
कृष्णनगर- नेपाल र भारतको सीमा क्षेत्रमा बढ्दो इसाई धर्मान्तरणको धन्दाप्रति कांग्रेस युवा नेता तथा पूर्व सांसद अभिषेकप्रताप शाहले आपत्ति जनाएका छन्। शुक्रबार गृहजिल्ला कपिलवस्तुमा पत्रकार सम्मेलन गर्दै यस्तो धन्दा संलग्नहरू माथि कडा कारवाही गर्न उनले माग गरेका छन्। भारत उत्तरप्रदेशको बलराम जिल्लामा भइरहेको इसाईहरूको गतिविधिको असर नेपालको भारतसँगको सीमामा पनि देखिइरहेको उनको भनाइ छ। खासगरी, हिन्दू धर्मावलम्बी चेलीबेटीहरूलाई आर्थिक, जागिर, गरिबीबाट मुक्ति, विदेश पठाउनेलगायत प्रलोभन दिई इसाई धर्ममा रूपान्तरण गर्ने गिरोह नै सक्रिय देखिएको उनले बताए। ‘नेपालभित्र जबर्जस्ती धर्म परिवर्तन गराउने गिरोहलाई कानूनी दायरामा ल्याई हदैसम्म कारवाही गर्न जोडदार माग गर्छु,’ शाहले भने। नेपाली समाजमा व्याप्त धर्म परिवर्तनका घटनाहरू सामाजिक संरचना, मान सम्मानका कारण पनि बाहिर आउन नसकेको कारण आपराधिक मानसिकताका धर्म परिवर्तनकारीहरू सल्बलाइरहेको उनले उल्लेख गरे। ‘यस्ता गम्भीर विषयका घटनाहरू सुक्ष्म अध्ययन गर्न नेपाल सरकार समक्ष ध्यानाकर्षण गराउन चाहन्छु,’ शाहले भने। पूर्व सांसद शाहले सीमा क्षेत्रमा जारी धर्म परिवर्तनका घटनाबारे संयुक्त छानविन समिति गठन गरी ती जघन्य सामाजिक अपराध न्यूनीकरण गर्न तत्परता देखाउन नेपाल र भारत सरकार दुवैलाई आग्रह गरेका छन्। उनले भने, ‘यदि समयमै धर्म परिवर्तनजस्ता विकृतिलाई समाजबाट हटाउन सकिएन भने भविष्यमा सामाजिक द्वन्द्व बढ्दै जाने मेरो ठम्याइ छ।’ ‘नेपालको संविधानको धारा २६ मा धार्मिक स्वतन्त्रताको उपधारा ३ बमोजिम कसैको धर्ममा खलल पार्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ भनी उल्लेख गरिए पनि सोझा, गरिब जनताको धर्म परिवर्तन गर्ने गराउनेहरूलाई नेपाल सरकारले नियन्त्रण गर्न जरुरी छ,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘नेपालका विभिनन ठाउँमा पनि धर्म परिवर्तनका घटनाहरू बढ्दै गएकाले वर्तमान अवस्थामा भारतमा भइरहेका गतिविधि र बाहिर आइरहेका रिपोर्टलाई नजरअन्दाज गर्न नमिल्ने भएकाले भारतीय सीमासँग जोडिएका जिल्लालगायत धर्म परिवर्तनमा सक्रिय रहेका पहाडी जिल्लामा समेत राष्ट्रीय सुरक्षालाई ध्यानमा राखी आवश्यक कारवाही गर्न नेपाल सरकारलाई आग्रह गर्छु।’