Redirecting...

विपद्का बेला जनताले भेटेनन् प्रदेश सरकार - www.sutranews.com

विपद्का बेला जनताले भेटेनन् प्रदेश सरकार - www.sutranews.com
Source: sutr

काठमाडौं । केन्द्रीय सरकारमा फेरबदल भए पनि प्रादेशिक सरकार भने जेन–जीको आन्दोलनपूर्वकै सक्रिय छन् । हालैको विपद् व्यवस्थापनमा गैरदलीय केन्द्रीय सरकारले ‘स्याबासी’ पाइरहेका बेला तल्लो तहसम्म जनाधार भएको दाबी गर्ने राजनीतिक दलले नेतृत्व लिएको प्रादेशिक सरकारलाई विपद्का बेला जनताले ‘देख्न’समेत पाएनन्, प्रादेशिक सरकारको अनुभूति गर्न सकेनन् । गत शुक्रबारदेखि कोशी, मधेश, बागमती प्रदेशसहितका क्षेत्रमा लगातार परेको वर्षासँगै आएको बाढीपहिरो, डुबान, दुर्घटनासहित विपद्मा परेर आइतबार दिउँसो साढे १ बजेसम्मको सशस्त्र प्रहरी बलले सार्वजनिक गरेको विवरणअनुसार ४९ जनाले ज्यान ७ जना बेपत्ता भएका छन् भने २० घाइते भएका छन् । आइतबारबाट मनसुन कोशी र मधेश प्रदेशमा सक्रिय भएको छ । जसले उद्धारमा कठिनाइ भइरहेको छ । तर, यो बेला प्रादेशिक सरकारको उपस्थिति ‘शून्यप्राय’ देखिएको पीडितहरुले गुनासो गर्न थालेका छन् । केन्द्रीय सरकारको तदारुकता र सक्रियताले ठूलो धनजनको क्षति हुनबाट जोगाएको छ भने उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनालाई खटाएको छ । सबैभन्दा प्रभावित इलाममा नेपाली सेनाको हेलिकप्टरबाटै पीडितहरुको उद्धार गरिएको छ भने घाइतेलाई अस्पतालसम्म लगिएको छ । आमनागरिक विपद्मा परेका बेला प्रादेशिक सरकार मुख्यमन्त्री, मन्त्रीहरु पीडितसमक्ष गएका छैनन् भने उनीहरुको उद्धार र राहत वितरणसमेत देखिएको छैन ।संघीय व्यवस्थाको मेरुदण्ड नै मानिने प्रादेशिक सरकारको विपद्मा देखिएको ‘बेवास्ता’ प्रवृत्तिले राजनीतिक दल, नेता तथा संघीय व्यवस्थाप्रति नै जनताको रुचिलाई घटाएकोप्रति धेरैले चिन्तासमेत व्यक्त गरेका छन् । स्थानीय सरकार क्रियाशील भएर विपद् व्यवस्थापन कार्यमा क्रियाशील हुँदा प्रादेशिक सरकार ‘हेर र पर्ख’को स्थितिमा देखिएको छ । कतिपयले केन्द्रीय सरकारलाई राजनीतिक दलको ‘अघोषित असहयोग’को नीतिअनुरुप प्रादेशिक सरकार विपद्मा जनताले अनुभूति गर्नेगरी क्रियाशील नभएको अनुमानसमेत गरेका छन् । गत भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनले केन्द्रीय सत्ताबाट दलीय नेतृत्वलाई सत्ताच्यूत गरेको छ । सोही आन्दोलनले गैरराजनीतिज्ञ पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन गरेको छ । सोही सरकारले अहिले विपद् व्यवस्थापनमा आफ्नो उत्कृष्ट क्षमता देखाउँदा प्रादेशिक सरकार विपद् व्यवस्थापनदेखि पीडितको उद्धार कार्यसम्ममा ‘मौनप्राय’ देखिनुले सबैलाई आश्चर्यमात्र पारेको छैन, चिन्तासमेत बढाएको छ ।