Redirecting...

एमाले ११ औँ राष्ट्रिय महाधिवेशन : दोलखाबाट सहभागी हुन ठूलो संख्यामा नेता-कार्यकर्ताहरूको यात्रा सुरु - janatatimes.com

एमाले ११ औँ राष्ट्रिय महाधिवेशन : दोलखाबाट सहभागी हुन ठूलो संख्यामा नेता-कार्यकर्ताहरूको यात्रा सुरु - janatatimes.com
Source: jant

काठमाडौं, मंसिर २७ । दोलखाबाट नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन शनिबार बिहानैदेखि ठुलो सङ्ख्यामा नेता तथा कार्यकर्ताहरूको यात्रा सुरु भएको छ । करिब तीन दर्जन सवारी साधनमार्फत दोलखाबाट जनसमुदाय भक्तपुरतर्फ प्रस्थान गरेको छ। नेकपा एमाले दोलखा जिल्ला कमिटीका उपाध्यक्ष राजेन्द्र मानन्धरका अनुसार महाधिवेशनमा सहभागी हुने दोलखाका नेता, कार्यकर्ता तथा समर्थकहरू भक्तपुरको जगातीस्थित प्रहरी विटमा बिहान ११ बजेसम्म जम्मा भई त्यहाँबाट संगठित रूपमा कार्यक्रम स्थलतर्फ जाने तयारीमा रहेका छन् । ‘दोलखाबाट ठुलो उत्साहका साथ सहभागिता जनाउने तयारी गरिएको छ, सबै सवारी साधन निर्धारित समयभित्र जगातीमा जम्मा हुनेछन्,’ उहाँले बताउनुभयो । महाधिवेशन उद्घाटन समारोहलाई व्यवस्थित र प्रभावकारी बनाउन जिल्लास्तरबाट मात्रै होइन, काठमाडौं उपत्यकामा रहेका दोलखाका विभन्न सम्पर्क मञ्चहरूले समेत र्‍यालीको तयारी गरिरहेका छन् । सम्पर्क मञ्चमार्फत काठमाडौंमा बसोबास गर्दै आएका दोलखाली एमाले नेता तथा कार्यकर्ताहरूलाई समेटेर अलग्गै र्‍यालीसहित कार्यक्रमस्थलमा सहभागी गराउने योजना रहेको जनाइएको छ । पार्टीका अनुसार दोलखाबाट हुने सहभागितालाई पहिचानसहित प्रस्तुत गर्न ब्यानर, झण्डा तथा अनुशासित जुलुसको व्यवस्था मिलाइएको छ । महाधिवेशनलाई पार्टीको भावी नीति, नेतृत्व र संगठनात्मक दिशाका हिसाबले महत्त्वपूर्ण मानिएको भन्दै दोलखा जिल्लाबाट अधिकतम सहभागिता सुनिश्चित गर्न विशेष पहल गरिएको जिल्ला कमिटीले जनाएको छ । एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि देशभरका विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ताहरू भक्तपुरमा भेला भइरहेका छन् । दोलखाबाट सुरु भएको यो यात्रा पनि त्यसैको हिस्सा हो, जसले उद्घाटन समारोहमा उल्लेख्य उपस्थिति र उत्साह थप्ने अपेक्षा गरिएको छ ।