रुसमा म्याग्निट्यूड ८.८ को भूकम्प, अभिलेखमा भएकामध्ये 'छैटौँ ठूलो' - www.bbc.com
Reuters रुसमा शक्तिशाली भूकम्पको असर रुसको सुदूरपूर्वी तटनजिकै बुधवार बिहान म्याग्निट्यूड ८.८ को शक्तिशाली भूकम्प गएपछि प्रशान्त महासागरको तटमा रहेका धेरै ठाउँमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ।अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय (यूएसजीएस)का अनुसार उक्त भूकम्प रुसको क्याम्च्याट्का प्रायःद्वीपमा शक्तिशाली भूकम्प गएको हो। यूएसजीएसका अनुसार यो भूकम्प जमिनको सतहभन्दा १८ किलोमिटर तल उत्पन्न भएको थियो। उक्त भूकम्प अहिलेसम्म अभिलेखमा भएकामध्ये छैटौँ ठूलो भएको यूएसजीएसले जनाएको छ। भूकम्पका कारण अहिलेसम्म कसैको मृत्यु भएको विवरण आएको छैन। तर केन्द्रबिन्दुनजिकै भवनहरू भत्किएका र बन्दरगाह पानीमा डुबेको देखिने तस्बिरहरू सार्वजनिक भएका छन्। भूकम्प जाँदा के गर्नुपर्छ, के गर्नु हुँदैन भूकम्पको पूर्वानुमान किन प्रायः मिल्दैन, वैज्ञानिकहरू किन गर्न खोज्दैनन् उक्त भूकम्पपछि जापान, संयुक्त राज्य अमेरिका, पेरू, कोलम्बिया, एक्वडोर र चीनमा सुनामीको चेतावनी जारी गरिएको थियो। फिलिपिन्स, इन्डोनेशिया, क्यानडाको ब्रिटिश कोलम्बियामा पनि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको थियो।अमेरिकाले दक्षिणी प्रशान्त महासागरमा भएका पपुआ न्यूगिनी, सोलोमन आइल्यान्ड्स र भानुआटूमा पनि सुनामी पुग्न सक्ने सूचना जारी गर्यो।उत्तरी प्रशान्त क्षेत्रका अधिकांश स्थानमा जारी गरिएको सुनामीको चेतावनीको स्तरलाई कम गरिएको छ।'इतिहासकै ठूलो' भूकम्प BBC रुसी भौगर्भिक निकायका अनुसार सो क्षेत्रमा सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प मापन गरिएको हो। विगत १० दिनमा सोही क्षेत्रमा निरन्तर भुइँचालो गएको थियो। त्यहाँ जुलाई २० तारिखमा मात्रै पाँचवटा भूकम्प मापन गरिएको थियो। बीबीसीको 'न्यूज डे' कार्यक्रममा बोल्दै हवाई विश्वविद्यालमा जीओफिजिक्स एन्ड टेक्टोनिक्स डिभिजनकी सहायक प्राध्यापक हेलन जेनिसज्वेस्कीले भनिन्, "रुसको आजको भूकम्प इतिहासको सबैभन्दा भीषण भूकम्पमध्ये एक हो।"अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार म्याग्निट्यूड ८.८ को भूकम्प अहिलेसम्मको अभिलेखमा छैटौँ ठूलो हो। सन् २०१० मा चिलीको बायोबाय र सन् १९०६ मा एक्वडोरको एस्मेराल्डासमा पनि त्यतिकै शक्तिशाली भूकम्प मापन गरिएको थियो।यूएसजीएसका अनुसार चिलीको भूकम्प क्विरिह्वे सहरनजिकै समुद्र तटमा आएको थियो। त्यसमा परेर ५२३ जनाको मृत्यु भएको थियो भने ३,७०,००० वटाभन्दा बढी घरहरू नष्ट भएका थिए।एक्वडोरको भूकम्पबारे यूएसजीएस भन्छ, "एक्वडोर-कोलम्बिया भूकम्प भनिने यो भूकम्पले शक्तिशाली सुनामी उत्पन्न गराएको थियो, जसमा परेर १,५०० व्यक्तिको ज्यान गएको थियो भने सुनामी उत्तरमा सान फ्रान्सिस्कोसम्म पुगेको थियो।"शक्तिशाली भूकम्पको सूचीमा पाँचौँ स्थानमा रहेको भूकम्प पनि रुसको क्याम्च्याट्का क्राइमै आएको थियो। सन् १९५२ को उक्त घटना विश्वमा रेकर्ड गरिएको पहिलो म्याग्निट्यूड ९.० को भूकम्प थियो। भूकम्पलाई विनाशकारी बनाउने सात कारक तत्त्वहरू भूकम्प आएको पत्ता लगाउन सक्ने मोबाइल फोन सुनामीका लहरहरू जापान र अमेरिका पुगे Reuters जापानको मौसम विभागले विभिन्न तटीय क्षेत्रमा सुनामीको लहर ३ मिटर अग्लो हुन सक्ने जनाएको छ सुनामीका कारण उत्पन्न छालहरू अमेरिकाको हवाई टापु र उत्तरी क्यालिफोर्नियाको तटीय क्षेत्रमा पुगेको विवरणहरू आएका थिए। यसअघि जापानमा पहिलो सुनामी होक्काइडोमा आएको विवरण सार्वजनिक भएको थियो।जापानको पूर्वी तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानतर्फ लैजान निर्देशन दिइएको थियो। त्यहाँ समुद्रको छाल तीन मिटर अग्लो हुन सक्ने अनुमान गरिएको थियो।जापानको स्थानीय समाचारसंस्था एनएचकेका अनुसार जापानको होक्काइडो प्रान्तको उत्तरी क्षेत्रको तटीय सहर नेमुरोमा सुनामी पुगेको हो। सुनामीको पहिलो लहरको उचाइ लगभग १२ इन्च रहेको बताइएको थियो। यद्यपि जापान, रुस र हवाइमा चेतावनीको स्तरलाई घटाइएको छ। रखा भूकम्प शृङ्खलाको अध्ययनले सिकाएका कुराहरू जापानमा भूकम्पका कारण जमिन कसरी सर्यो तटीय क्षेत्रमा एक दिनभन्दा बढी समयसम्म सुनामीको लहर आउने भन्दै जापानमा १९ लाख मानिसलाई सुरक्षित रहन अग्ला स्थानतिर जान भनिएको थियो। तीमध्ये १०,५०० जनाजति होक्काइडोमा छन्। स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडिओमा होक्काइडोमा मानिसहरू छतमा गएर बसेको देखिन्छ। जापानको मौसम विभागले सुनामीको लहर तीन मिटरसम्म अग्लो हुन सक्ने अनुमान गरेको छ।फुकुशिमास्थित आणविक ऊर्जा केन्द्रबाट कर्मचारीहरूलाई सुरक्षित ठाउँतिर लगिएको जापानी अधिकारीहरूले बताएका छन्। फल्टहरू के हुन् र तिनले कसरी भूकम्पलाई प्रभाव पार्छन्? शक्तिशाली भूकम्प जाँदा पनि जापानमा किन कम क्षति पुग्छ हवाईमा चेतावनीको स्तर घटाइयो Getty Images सुनामी आउन सक्ने सूचना जारी भएपछि मानिसहरू हवाईको तटीय क्षेत्रबाट अन्यत्र जान थालेका थिए यूएसजीएसले रुस र जापानका तटीय क्षेत्रमा खतरनाक सुनामी पुग्न सक्ने चेतावनी दिएको थियो। अधिकारीहरूले अलास्का र हवाईका लागि चेतावनी जारी गरेका थिए। अहिले सुनामी क्यालिफोर्नियाको तटमा पुगेको अमेरिकाको राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस)ले जनाएको छ। यसअघि नै यूएसजीएसले जोखिममा रहेका तटीय क्षेत्रका मानिसहरूलाई सतर्क रहन र स्थानीय प्रशासनका निर्देशनबमोजिम कदम चाल्न सुझाव दिएको थियो।हवाईमा सुनामीको ठूलो खतरा नरहेको भन्दै पछि चेतावनीको स्तर घटाएर 'एड्भाइजरी' जारी गरिएको प्यासिफिक सुनामी वार्निङ सेन्टरले जनाएको छ। त्यसको अर्थ हवाईमा शक्तिशाली छाल र सानोतिनो बाढी आउन सक्ने भए पनि ठूलो सुनामी भने नआउने देखिएको छ। अब तटीय क्षेत्रबाट अन्यत्र गएका मानिसहरू घर फर्किन पाउने त्यहाँको आपत्कालीन सेवा प्रदान गर्ने निकायले बताएको छ। नेपालको हिमाली क्षेत्र किन भूकम्पको उच्च जोखिममा छ? भूकम्पपछि भग्नावशेषमा फसेका मानिस कति दिन जीवित रहन सक्छन् यसअघि एक अमेरिकी भूकम्पविद्ले सुनामीले हवाई र क्यालिफोर्नियका बन्दरगाहमा क्षति पुग्न सक्ने भए पनि अमेरिकाका अन्य स्थानमा ठूलो विनाश नहुने बताएकी थिइन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हवाईमा आउने सुनामीबारे जारी गरिएको चेतावनी र अलास्का तथा अमेरिकामा प्रशान्त महासागरको तटबारे दिइएको सुझाव सम्बन्धमा सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। उनले सामाजिक सञ्जाल 'ट्रूथ सोशल' तथा 'एक्स'मा पोस्ट गर्दै मानिसहरूलाई "दह्रो तथा सुरक्षित रहन" अनुरोध गरे।रुसमा कैयौँ मानिस घाइते Getty Images रुसमा गएको भूकम्पमा परी थुप्रै व्यक्तिहरू घाइते भएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचारसंस्था तासले जनाएको छ।झ्यालबाट हाम फालेकी एक महिलासहित सुरक्षित स्थानतिर जान लाग्दा केही व्यक्ति घाइते भएका छन्।सो क्षेत्रका स्वास्थ्यमन्त्री ओलेग मेल्निकोभले घाइते सबै "सन्तोषजनक अवस्थामा रहेका" बताएका छन्।"गम्भीर घाइतेबारे अहिलेसम्म कुनै विवरण आएको छैन," उनले भने।बुधवारको शक्तिशाली भूकम्पपछि रुसी अधिकारीहरूले "कम्तीमा आउने महिनामा ७.५ म्याग्निट्यूडसम्मको उल्लेखनीय परकम्पको अनुमान गरिएको" बताएका छन्। नेपालको हिमाली क्षेत्र किन भूकम्पको उच्च जोखिममा छ? दुई सातामा ९०० भूकम्प आएपछि अनिदो छन् जापानी टापुका यी बासिन्दा क्याम्च्याट्कास्थित अन्तर्राष्ट्रिय विमानस्थल ठूलो भूकम्पछि पनि यथावत् सञ्चालनमा रहेको सो विमानस्थलले एउटा विज्ञप्तिमार्फत् जानकारी दिएको छ। उडानहरू पुरानो तालिकाअनुसार नै भइरहेका र विमानस्थलको धावनमार्ग "सन्तोषजनक अवस्था"मा भएको सो विमानस्थलले जनाएको छ। तर विमानस्थलका केही 'सिलिङ प्यानल'मा क्षति पुगेको छ। भूकम्प भएपछि विमानस्थलको प्रतीक्षालयमा विमान चढ्ने पालो कुरेर बसेका यात्रुहरूलाई केही समयका लागि अन्यत्र सारिएको थियो। अधिकारीहरूका अनुसार त्यहाँ एक जना घाइते भएका छन्। Reuters सेभेरो-कुरिल्स्कमा सुनामीको लहर सुनामीको लहरले बाढीरुसको आपत्कालीन सेवासम्बन्धी मन्त्रालयका अनुसार सुनामीका लहरहरूका कारण रुसी बन्दरगाह नगर सेभेरो-कुरिल्स्कका कतिपय भागमा बाढी आएको छ।उक्त नगरमा करिब २,००० व्यक्तिको बसोबास छ।सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडिओमा नगरनजिकै जमिनतिर पानीको सतह बढेको देखिन्छ। नेपालमा ८०० वर्षमा ५० वटा ठूला भूकम्प, राजाको पनि ज्यान गएको थियो ७२ सालमा भूकम्प जाँदा यसरी हल्लिएको थियो काठमाण्डू प्रशान्त महासागरका तटीय क्षेत्रमा सुनामीको डररुसमा आएको भूकम्पका कारण प्रशान्त महासागरको तटीय क्षेत्रमा पर्ने विभिन्न स्थानमा सुनामी बज्रिन सक्ने ठानिएको छ। जापानः होक्काइडोदेखि क्युशुका तटीय क्षेत्रहरू अमेरिकाको वेस्ट कोस्टमा अवस्थित क्यालिफोर्नियाका तटीय क्षेत्रहरू अमेरिकाको हवाई अलास्काको दुर्गम अलुशन आइल्यान्ड्सगुआमपेरूएक्वडोरको तटपारि गालापागोसचीन इन्डोनेशिया र फिलिपिन्सका तटीय क्षेत्रमा पनि मानिसहरूलाई सतर्क रहन सुझाव दिइएको छ। भर्चूअल रीयालटी गेमले भूकम्प जाँदा मानिसलाई कसरी जोगाउन सक्छ पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिमबारे विज्ञ यसो भन्छन् बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।