Redirecting...

काठमाण्डूको वायु प्रदूषण अस्वस्थकर तहमा, ध्यान पुर्‍याउनुपर्ने विषय यस्ता छन् - www.bbc.com

काठमाण्डूको वायु प्रदूषण अस्वस्थकर तहमा, ध्यान पुर्‍याउनुपर्ने विषय यस्ता छन् - www.bbc.com
Source: bbcn

काठमाण्डूलगायत देशका हिउँदका सबभन्दा चिसो दिनहरू सुरु भए सँगै विभिन्न सहरमा वायु प्रदूषणको अवस्था अस्वस्थकर अवस्थामा पुगेको छ। अहिलेदेखि नै व्यक्तिगत र सरकारी तवरबाट यससँग जुझ्न विभिन्न उपायहरू अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।नेपालमा खासगरी हिउँद याममा वृद्धि हुने वायु प्रदूषण यो वर्ष पनि बढ्न थालेको भन्दै उनीहरूले सचेत हुन र आफ्नो क्षेत्रबाट वायु प्रदूषण हुन नदिन सुझाव दिएका हुन्।पुष लागेसँगै देखिन थालेको वायु प्रदूषण फागुन चैतसम्म अझ बिग्रँदै जाने भन्दै सरकारले पनि आफूले बनाएका नीति कार्यान्वयनमा जोड दिन विज्ञहरूले सुझाव दिएका छन्।भारत, पाकिस्तानलगायत दक्षिण एसियाका मुलुकमा खतरनाक तहमा वायु प्रदूषण पुग्दा नेपालका काठमाण्डूसहितका केही सहरमा वायु प्रदूषणको तह अस्वस्थकर तहमा पुगेको छ। यो वर्ष मध्य हिउँदमा वायु प्रदूषण कम गर्न सरकार के गर्दैछ?वायु प्रदूषण धूमपानभन्दा खतरनाक 'आईक्यूएअर' भनिने स्विट्जरल्यान्डमा रहेको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) अर्थात् वायुको गुणस्तरको सूचकाङ्क निगरानी गर्ने निकायका अनुसार काठमाण्डूमा वायुको गुणस्तर अस्वस्थकर तहमा पुगेको छ।मङ्गलवार बिहान काठमाण्डू, भक्तपुर, वीरगन्जलगायतका सहरहरूमा एअर क्वालिटी इन्डेक्स एक्यूआई १५० भन्दा माथि पुगेको थियो। जुन विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार अस्वस्थकर तह हो।चिकित्सकको सुझाव के छ?बर्सेनि वायु प्रदूषणका बेला स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने मानिसहरूको सङ्ख्या पाँचदेखि १० प्रतिशत हाराहारीमा बढिरहेको अनुमान लगाउन सकिने भन्दै त्यसबाट जोगिने उपायहरू अपनाउन श्वासप्रश्वाससम्बन्धी एकजना चिकित्सकले सुझाएका छन्।छाती रोग विशेषज्ञ डा. राजु पङ्गेनी वायु प्रदूषणले केवल श्वासप्रश्वासमा मात्रै नभई मुटुरोग, मस्तिष्क रोगमा समेत असर गर्ने बताउँछन्। "विगत एक महिनादेखि नै मकहाँ श्वासप्रश्वासको समस्या लिएर आउने मानिसहरूको सङ्ख्या बढेको छ। हिउँदमा अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्यामात्रै हेर्‍यौँ भने पनि त्यो पहिलाभन्दा बढ्दै गएको देखिन्छ," डाक्टर पङ्गेनी भन्छन्।"वायु प्रदूषणको असर प्रमुख रूपमा श्वासप्रश्वास प्रणालीलाई वा फोक्सोमा पर्ने भए पनि यसले हृदयाघात मस्तिष्काघात वा पक्षाघात हुनसक्ने सम्भावना बढाउँछ। संसारभरि मृत्युका कारण हेर्ने हो भने माथिल्लो दुईमा दम रोगी र मुटुसँग सम्बन्धित रोग छन्। यी दुवैको मूल कारकको रूपमा वायु प्रदूषणलाई लिन सकिन्छ।"पछिल्ला वर्षहरूमा धुमपानका कारण हुने बिरामीको सङ्ख्या कम भएको जस्तो देखिए पनि वायु प्रदूषणको मात्रा उच्च भएकाले दम वा मुटु वा मस्तिष्क वा मिर्गौलासम्बन्धी समस्या बढी देखिएको उनले बताए। त्यसै कारणले गर्दा यो रोग लाग्ने मानिसको सङ्ख्या नघटेको उनले बताए। यस्तो छ मुटुमा वायुप्रदूषणले गर्ने असरअहिले काठमाण्डूको प्रदूषणले 'फोक्सो र आँखामा असर पार्न सक्छ', जोगिने उपाय यस्ता छन् नेपाल स्वास्थ्य अनुसन्धान केन्द्रले केही वर्षअगाडि गरेको एउटा अध्ययन अनुसार नेपालमा दम रोगीहरूको १८ वर्षभन्दा माथिको सङ्ख्या १२ प्रतिशत देखिएको थियो।त्यसमा आधाभन्दा बढी वायु प्रदूषणसँग सम्बन्धित कारणले देखिएको उनले बताए।उक्त अध्ययनमा कर्णाली प्रदेशमा २५ प्रतिशतमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो जुन भनेको प्रत्येक चार जनामध्ये एक जनामा स्वास्थ्य समस्या देखिएको थियो। खासगरी नेपालको ग्रामीण भेगमा आन्तरिक र बाह्य दुवै प्रदूषणका कारण मानिसको स्वास्थ्यमा असर गरिरहेको बताइन्छ।डाक्टर पङ्गेनीले वायु प्रदूषण बढी भएका बेला त्यसले पार्ने असरबाट जोगिन घरबाट खासगरी पहिलादेखि नै रोग भएका, बालबालिका र वृद्धलाई बाहिर निस्किन नहुने बताएका छन्। "घरबाट निस्किनै पर्ने भए मास्कको प्रयोग गर्ने वा घरबाटै बाहिर ननिस्किने, सकिन्छ भने घरमा एअर फिल्टर राख्ने गर्नुपर्छ," उनले भने।"स्वास्थ्य समस्या देखियो भने समयमै डाक्टरलाई देखाउने र औषधि नियमित खान जरूरी हुन्छ।"सरकारले के गर्नुपर्छ?त्रिभुवन विश्वविद्यालय वातावरण विभागबाट अवकाशप्राप्त प्राध्यापक डाक्टर रेजिना मास्के पछिल्लो दशकमा वायु प्रदूषणको प्रवृत्ति बढ्दै वर्षैपिच्छे बढ्दै गएको देखिने बताउँछिन्।उनले खासगरी अङ्ग्रेजी महिनाको डिसेम्बरदेखि एप्रिलसम्म वायु प्रदूषण बढ्ने र स्वास्थ्यलाई नै असर गर्ने तहमा पुग्ने बताइन्।खासगरी हिउँदमा पानी नपर्ने, किसानहरूले धान काटेर बाँकी रहेको ठुटो जलाउने, उद्योगहरूबाट निस्किने प्रदूषण बढ्ने लगायतका कारणले वायुको गुणस्तर खस्किने गरेको पाइएको उनले बताइन्।उनका अनुसार काठमाण्डूमा ६३ प्रतिशत आफ्नै क्रियाकलापले भएको वायु प्रदूषण रहेको छ भने १४ प्रतिशत 'ट्रान्सबाउन्डरी' अर्थात् दक्षिण एसियाका अन्य देशबाट भित्रिएको प्रदूषण रहेको छ।तराईको हकमा भने करिब ६० प्रतिशत देशबाहिरबाट आउने गरेको उनले बताइन्।विगतमा प्रदूषणको कारकका रूपमा इँटा भट्टाहरूलाई हेरिने गरेको भए पनि हालैका वर्षमा मध्यम र कम स्तरका उद्योगहरूले निकाल्ने प्रदूषणले असर गरिरहेको देखिएको उनले बताइन्।"ती उद्योगहरूले वायु प्रदूषण घटाउन खासै काम नगरेकाले त्यस्ता उद्योगलाई 'क्लिन इनर्जी' मा लैजानुपर्‍यो। सरकारले यस्ता उद्योगलाई 'इन्सेन्टिभ' दिने कि वा उद्योग नै यो हिउँद यामभरि बन्द गर्ने हो कि विचार गर्नुपर्‍यो," उनले भनिन्।"त्यसबाहेक जोर वा बिजोर गाडी मात्रै चल्न दिने कि, विद्यालय नै बन्द गर्ने हो कि त्यो सोच्नुपर्छ।" सरकारले गरिरहेको काम कस्तो देखिन्छ?सरकारले सन् २०२० मा काठमाण्डू उपत्यका वायु गुणस्तरको व्यवस्थापन योजना पाँच वर्षका लागि सुरु गरेको थियो।उक्त योजनालाई अहिले संशोधन गरिँदै गरेको र सरकारले खासगरी कार्यान्वयनमा जोड दिनुपर्ने प्राध्यापक डाक्टर मास्केले बताइन्।"सरकारले केही गरेको छैन भन्न मिल्दैन। अहिले न्याश्नल एअर क्वालिटी म्यानेजमेन्ट प्लान भनेर बन्दै छ," उनले भनिन्।"कार्यान्वयनको पाटो नै गाह्रो छ। कसले कति प्रदूषण गरेको छ भन्ने हेरेर त्यसलाई लक्षित गरी बनाइएको व्यवस्थापन मात्रै काम लाग्छ।"टिपर, ट्याङ्करहरूजस्ता ठूला गाडीहरूले समयमा 'सर्भिसिङ' नगर्दा पनि प्रदूषण बढिरहेकाले सरकारले त्यसमा कडाइ गर्नुपर्ने उनले बताइन्। काठमाण्डूको वायु प्रदूषण मापदण्डभन्दा पाँचगुणा खराबवायुप्रदूषणले कसरी मस्तिष्कलाई असर गर्छ बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।