Redirecting...

हिमालपारिको मित्रता - ehimalayatimes.com

हिमालपारिको मित्रता - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । नेपाल-जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको आइतबार ७०औँ वर्षगाँठ मनाइएको छ । काठमाडौं र बेइजिङमा विविध कार्यक्रम आयोजना गरी ऐतिहासिक मित्रताको यो महत्वपूर्ण युगान्तरण विशेष रूपमा मनाइएको हो । ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा शुक्रबार साँझ काठमाडौंमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सहभागिता रहेको थियो । नेपालका लागि चीनका राजदूत छन सङको आयोजनामा उक्त समारोह भएको थियो । ७०औँ वार्षिकोत्सवको अवसरमा दुवै देशका शीर्ष नेताहरूबीच बधाई सन्देश आदानप्रदान गरिएको छ । दुई देशबीचको ऐतिहासिक पृष्ठभूमि, हालसम्मको प्रगति र भविष्यका सम्भावनाहरूको प्रतिबद्धतासहितका सन्देशहरूले द्विपक्षीय मित्रतालाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले चिनियाँ समकक्षी राष्ट्रपति सी जिनपिङलाई पठाएको सन्देशमा दुई देशबीचको पारस्परिक विश्वास, सार्वभौम समानता र शान्तिपूर्ण सहअस्तित्वमा आधारित सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै सहकार्यलाई अझ फराकिलो बनाउन इच्छाशक्ति व्यक्त गर्नुभएको छ । त्यसको प्रत्युत्तरमा राष्ट्रपति सी जिनपिङले नेपालका राष्ट्रपतिको नाममा पठाएको सन्देशमा दुई देशबीचको परम्परागत मित्रता, समान व्यवहार र सहअस्तित्वको उदाहरणीय सम्बन्धको प्रशंसा गर्नुभएको छ । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छियाङलाई छुट्टाछुट्टै सन्देश पठाउँदै, विगत सात दशकदेखि नेपाल-चीन सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित रही समस्यारहित रूपमा अघि बढिरहेको उल्लेख गर्नुभएको छ । चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि नेपालका प्रधानमन्त्रीलाई बधाई दिँदै बेल्ट एण्ड रोड सहयोग, रणनीतिक साझेदारी र स्थायी मित्रता निरन्तर अघि बढाउने चाहना व्यक्त गर्नुभएको छ । त्यस्तै, परराष्ट्रमन्त्री आरजू राणा देउवाले चिनियाँ समकक्षी वाङ यीलाई पठाएको सन्देशमा नेपालको विकास प्रयासमा चीनको सहयोगको सराहना गर्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालसँगको लामो समयदेखिको पारस्परिक सम्मान र लाभदायक सहकार्यको प्रशंसा गर्दै, दुई देशबीचको रणनीतिक साझेदारीलाई थप गहिरो बनाउने बताउनुभएको छ । यसैबीच, बेइजिङस्थित नेपाली दूतावासले पनि एक विशेष स्वागत समारोह आयोजना गरेको छ । समारोहमा चीनको राष्ट्रिय जनकांग्रेस (एनपिसी) स्थायी समितिका उपाध्यक्ष महामहिम सियाओ जी प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा नेपालका राजदूत डा. कृष्णप्रसाद ओलीले दुई देशबीचको ऐतिहासिक, मैत्रीपूर्ण र सहयोगमूलक सम्बन्धबारे प्रकाश पार्दै नेपालले एक-चीन नीतिप्रति पूर्ण प्रतिबद्धता जनाउने र नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने अडान दोहोर्‍याउनुभएको थियो । सन् १९५५ अगष्ट १ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध बहुआयामिक रूपमा विस्तार हुँदै आएको छ । नेपाल र चीनको सम्बन्ध पारस्परिक सम्मान, समानता, साझा हित र विश्वासमा आधारित मित्रताको एक उत्कृष्ठ नमुना बनेको छ । प्राचीन कालदेखि धर्म, कला, संस्कृति, व्यापार र जनस्तरको आदानप्रदानले गहिरिएको यो सम्बन्ध पछिल्ला सात दशकमा उच्चस्तरीय सहकार्यतर्फ उन्मुख भएको छ । पारस्परिक सम्मान र जनस्तरको आत्मीयताले समृद्ध : प्रधानमन्त्रीप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र जनवादी गणतन्त्र चीनबीचको सम्बन्ध ऐतिहासिक, सभ्यतागत र सांस्कृतिक आधारमा निर्माण भएको उल्लेख गर्दै उक्त सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मीयताले थप समृद्ध बनेको बताउनुभएको छ । नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको विशेष अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतका दशकमा आपसी विश्वास, सहयोग र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तहरूमा आधारित सम्बन्ध अझ गहिरो बनेको धारणा व्यक्त गर्नुभयो । ‘नेपालले सधैँ-एक चीन नीति’लाई दृढ समर्थन गर्दै आएको छ । चीनले पनि नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको निरन्तर सम्मान गर्दै आएको छ । चीन हाम्रो नजिकको छिमेकी मात्र होइन, एक विश्वसनीय विकास साझेदार पनि हो’, प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई ऐतिहासिक मोडको रूपमा स्मरण गर्दै त्यसले नेपाल-चीन सम्बन्धलाई रणनीतिक साझेदारीको स्तरमा पुर्‍याएको बताउनुभयो । प्रधानमन्त्री ओलीले सन् २०२४ को डिसेम्बरमा चीन भ्रमणका क्रममा भएको बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गतको समझदारीले आपसी सहकार्यलाई थप मजबुत बनाएको उल्लेख गर्नुभएको छ । चीनले पूर्वाधार, पारवहन, ऊर्जा, कृषि, डिजिटल प्रविधि, स्वास्थ्य र जलवायु क्षेत्रहरूमा पुर्‍याएको सहयोगले नेपाललाई भौगोलिक सीमाहरू पार गर्न सहयोग पुगेको भन्दै प्रधानमन्त्रीले आगामी दिनमा पनि सहकार्य गहिरो बनाउने प्रतिबद्धता दोहोर्‍याउनुभयो । उहाँले सगरमाथा संवादजस्ता पहल तथा हालै लिंगदे खोलामा आएको बाढीले देखाएको सीमापार विपद् व्यवस्थापनको आवश्यकतालाई उजागर गर्दै संयुक्त प्रयास आवश्यक रहेको धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले चीनको गरिबी निवारण, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यमा नेतृत्वदायी भूमिका विश्वका लागि प्रेरणादायी भएको बताउनुभयो । ‘हामी पनि यिनै प्रेरणाबाट समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षातर्फ अघि बढिरहेका छौँ’, प्रधानमन्त्री ओलीले भन्नुभयो । एकै ठाउँ देखिए नेपाली कम्युनिष्ट दलहरूकाठमाडौंको होटल याक एण्ड यतीमा आयोजना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा नेपाली कम्युनिष्ट दलहरू एकैठाउँ देखिएका छन् । कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी हुनुभएको थियो । चीनले चाहिरहेको कम्युनिष्टबीच एकता हुन नसके पनि दुई देशको कूटनीतिक सम्बन्धको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि कार्यक्रममा देखिनुभएको थियो । कार्यक्रम अगाडि हलमा भेट भएका सबै कम्युनिष्ट नेताले हात मिलाएर आत्मीयता पनि साटेका थिए । एमाले फुटाएर पछुतो मानेका समाजवादी सम्मानित नेता खनाल र प्रधानमन्त्री ओलीबीच पनि सौहार्दता देखिएको थियो । इतिहासको गहिरो जगपाँचौँ शताब्दीमा चिनियाँ भिक्षु फा स्येनको लुम्बिनी आगमनदेखि सातौँ शताब्दीमा राजकुमारी भृकुटी र सम्राट् श्रङ्चन गम्पोको विवाह, अनि तेह्रौँ शताब्दीमा अरनिकोद्वारा बेइजिङमा श्वेतचैत्य निर्माणजस्ता घटनाहरूले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई ऐतिहासिक गहिराइ दिएका छन् । १९६० को शान्ति तथा मैत्री सन्धिदेखि बिआरआई, क्रसबोर्डर रेलवे, ऊर्जा सहकार्य, यातायात र व्यापारिक सम्झौतासम्म, नेपाल–चीन सम्बन्धले संरचनागत स्थायित्व पाउँदै गएको छ । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको ऐतिहासिक नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई ‘पुस्तागत मैत्रीपूर्ण रणनीतिक साझेदारी’ मा उकासेको छ । बिआरआई र आर्थिक सम्भावनाबेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गत नेपाल र चीनबीच पूर्वाधार विकास, ऊर्जा, यातायात र कनेक्टिभिटीमा उल्लेखनीय प्रगति भएको छ । उत्तरबाट रेलको सम्भाव्यता अध्ययन पूरा भइसकेको छ भने चीन आज नेपालको सबैभन्दा ठूलो वैदेशिक लगानीकर्ता र दोस्रो ठूलो व्यापारिक साझेदार बनेको छ । चीनको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभमा नेपालको सहभागिता, पारिस्थितिक संरक्षण, जलवायु संकट समाधान, तथा नवप्रविधिमा सहकार्यले भविष्यको सम्बन्धलाई अझ गहिरो बनाउँदै लग्नेछ । सगरमाथाको संयुक्त उचाइ घोषणा जस्तै, नेपाल-चीन सम्बन्ध उच्चतम शिखरतिर अग्रसर छ । भूपरिवेष्टित नेपाललाई भूजडित बनाउने सपनामा चीन सहयात्री बन्ने संकेत देखिन्छ । तर, यसबीचमा नेपालले दुई छिमेकी राष्ट्रबीच सन्तुलन कायम गर्दै चातुर्यका साथ सहकार्यलाई संस्थागत गर्नु आवश्यक छ । बेइजिङमा आयोजित वार्षिकोत्सव कार्यक्रम, प्रमुख चिनियाँ नेतृत्वको सहभागिता र नेपालद्वारा प्रकाशन गरिएको स्मारिका–यी सबैले मित्रताको नयाँ अध्यायतर्फ संकेत गर्छन् । ७० वर्षको यात्रामा नेपाल-चीन सम्बन्धले मित्रताको गौरवशाली मिसाल राखेको छ । अबको ३० वर्षमा यस सम्बन्धले अझ तीव्र, प्रभावकारी र जनमुखीस्वरूप लिने विश्वासका साथ यो ऐतिहासिक क्षण मनाइँदै छ । नेपालका लागि चीनका पूर्वराजदूत राजेश्वर आचार्यका अनुसार, दुई देशबीचको सम्बन्ध शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान, भौगोलिक अखण्डता, सम्प्रभूता र अहस्तक्षेपका आधारभूत पञ्चशील सिद्धान्तमा आधारित रहेको छ । यिनै आधारमा यो सम्बन्धलाई दुवै मुलुकले उच्च प्राथमिकता दिँदै सुदृढ गर्दै आएका छन् । ‘चीन राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्य भएर विश्व राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्दै आएको छ । विधिमा आधारित विश्व शासन प्रणाली, अन्तर्राष्ट्रिय शान्ति-सुरक्षा तथा साझा भविष्य निर्माणका लागि चीनले सहकार्य र साझेदारीमा विशेष जोड दिएको छ’, उहाँले भन्नुभयो । चीनलाई बुद्धको ७० किलोको मूर्ति उपहारनेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा नेपालले चीनलाई ऐतिहासिक महत्व बोकेको ७० किलो तौलको बुद्धमूर्ति उपहारस्वरूप प्रदान गरेको छ । शुक्रबार चीनको युनान प्रान्तस्थित कुनमिङ सहरमा आयोजित विशेष समारोहमा नेपाल-चीन कार्यकारी परिषद् (एनसिइसी) ले सो मूर्ति युनान बौद्ध संघलाई हस्तान्तरण गरेको थियो । सुनको जलप लगाइएको सो मूर्ति कुनमिङको प्रख्यात युआनतोङ मन्दिरमा स्थापनाको लागि दिइएको हो । ‘नेपाल-चीनबीचको ७० वर्ष लामो कूटनीतिक यात्राको सम्मानस्वरूप यो बुद्धमूर्ति उपहार दिन पाउनु हामी सबैका लागि गर्वको कुरा हो । यो उपहार केवल मूर्ति होइन, साझा अध्यात्म, संस्कार र मित्रताको जीवन्त प्रतीक हो’, समारोहमा बोल्दै एनसिइसीका अध्यक्ष अनुप भट्टराईले भन्नुभएको थियो । भट्टराईका अनुसार, करिब आठ महिना समय लगाएर नेपाली शिल्पकारहरूले मर्मस्पर्शी धार्मिक समर्पणसहित मूर्तिको निर्माण गरेका हुन् । ‘बौद्ध धर्मले दुई देशबीचको सम्बन्धलाई आध्यात्मिक आधार दिएको छ । यो उपहारले सांस्कृतिक कूटनीतिको सेतु निर्माण गर्ने विश्वास लिएको छ’, उहाँले भन्नुभयो । यसअघि ६०औँ वार्षिकोत्सवमा पनि एनसिइसीले बेइजिङको ग्राण्ड बेल मन्दिरमा पाटन दरबार क्षेत्रमा रहेको ऐतिहासिक घण्टीको ६० किलो तौलको प्रतिकृति हस्तान्तरण गरेको थियो । ‘यो पवित्र उपहारले दुई राष्ट्रबीचको युगौँ पुरानो धार्मिक र सांस्कृतिक बन्धनलाई सजीव बनाएको छ । नेपाली कारिगरहरूको समर्पण, कलात्मकता र धार्मिक श्रद्धाले यस मूर्तिमा गहिरो अर्थ भरिदिएको छ’, युनान बौद्ध संघका अध्यक्ष मास्टर सिनमिङले मूर्ति ग्रहण गर्दै भन्नुभएको थियो । उहाँले युनानलाई हान, तिब्बती र थेरवाद बौद्ध धर्मको सहअस्तित्वको अद्वितीय उदाहरण भन्दै नेपालको नजिकको बौद्ध–सांस्कृतिक साझेदारको रूपमा पनि चित्रण गर्नुभयो । समारोहमा बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख रोशन खनालले नेपालको जनताबाट चीनको युनान प्रान्तलाई दिइएको यो बहुमूल्य उपहारले दुई देशबीचको मित्रतालाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।