पहिलो एनपिएलको आय-व्यय - ehimalayatimes.com
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता सम्पन्न भएको आठ महिनापछि नेपाल प्रिमियर लिग (एनपिएल)को आर्थिक हिसाब किताब सार्वजनिक गरेको छ । मूलपानीस्थित क्यान मुख्यालयमा बसेको क्यानको बैठकले पहिलो संस्करणको हिसाब सार्वजनिक गरेको हो । प्रतियोगिता सम्पन्न भएको लामो समय हिसाबकिताब सार्वजनिक नहुँदा क्यानको ठूलो आलोचना खेपिरहेको थियो । आठ महिनाको बहस, आलोचना र विवादपछि क्यानका सचिव तथा एनपिएल आयोजना समितिको संयोजक पारस खड्काले कार्यसमितिमा प्रतियोगिताको हिसाबकिताब प्रस्तुत गर्नुभएको हो । पहिलोपटक आफैंले फ्रेन्चाइज प्रतियोगिता गर्दा क्यानले दुई करोड ४६ लाख ५० हजार ६८९ मुनाफा गरेको छ । प्रतियोगितामा कूल २७ करोड ६९ लाख ६४ हजार ८१८ उठेको क्यानले जनाएको छ । जसमा खर्च २० करोड १५ लाख ६३ लाख ५५९ भएको छ । यस्तै, जसमा क्यानले कूल सात करोड ५३ आय हुँदा फ्रेन्चाइज टिमलाई ५० प्रतिशत दिएको छ । जसमा चार करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ आठ फ्रेन्चाइज टिमले बाँडेका हुन् । बाँकी तीन करोड १६ लाख ५० हजार ७८९ रुपैयाँमध्ये प्रदेशलाई ७० लाख बाँढेको क्यानले जनाएको छ । यसपछि एनपिएलको पहिलो संस्करणबाट क्यानले दुई करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ बचत गरेको हो । उक्त रकम क्यानको खातामा बचत छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा २० दिनसम्म चलेको एनपिएल पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो । अहिले क्यान दोस्रो एनपिएलको तयारीमा जुटिसकेको छ ।