Redirecting...

नेपालगन्ज-कोहलपुर सडकको दुर्दशा : सम्झौता सकियो, योजना अलपत्र - nagariknews.nagariknetwork.com

नेपालगन्ज-कोहलपुर सडकको दुर्दशा : सम्झौता सकियो, योजना अलपत्र - nagariknews.nagariknetwork.com
Source: ngrk

नेपालगन्जबाट कोहलपुरतर्फ फर्कंदै गरेका ३६ वर्षीय सरोज मरासिनीको यात्रा जेठ २२ गतेको राति जीवनकै अन्तिम बन्यो। कोहलपुर नगरपालिका–६ का स्थायी बासिन्दा पेसाले फार्मासिष्ट मरासिनीले न त मादक पदार्थ सेवन गरेका थिए, न त सवारीसाधनको गति नियन्त्रणभन्दा बाहिर थियो। उनी त बस सामान्य यात्रामा निस्केका थिए, तर उनको यात्रा अलपत्र बन्यो, मृत्युमा टुंगियो। कारण थियो, ‘रत्नराजमार्गमा ठेकेदारले खनेर छाडेका खाल्डो।’यो घटना कुनै अपवाद होइन। दिनहुँजसो ज्यान जोखिममा पार्ने खाल्डाखुल्डीहरूले भरिएको नेपालगन्ज–कोहलपुर सडक खण्डले कयौं यात्रुलाई घाइते बनाइरहेको छ। धेरै भाग्यमानी हुन्छन्, जसले ज्यान जोगाउँछन्, तर चोटपटक र मानसिक आघात उनीहरूको जीवनमा गहिरो छाप छोडेर जान्छ। मरासिनीले ज्यान गुमाए, बेलाबेला अरू धेरै घाइते भए, तर सडक मर्मतको गति भने कछुवाको जस्तै छ। नेपालगन्ज र कोहलपुरलाई जोड्ने यो खण्ड रत्नराजमार्ग अन्तर्गत पर्छ, जुन लुम्बिनी प्रदेशलाई कर्णाली र सुदूरपश्चिमसँग जोड्ने महत्वपूर्ण लाइफलाइन हो। यात्रा सजिलो बनाउनु पर्ने यो राजमार्ग अहिले नागरिकका लागि झन् पीडादायी बनेको छ। बरु यसले दुर्घटनाको जालो बुन्दै गइरहेको छ।उक्त सडकको मर्मतको जिम्मा ‘महात्रिपुरा पञ्चकोशी नागदेव जोइन्ट भेन्चर’ नामक निर्माण कम्पनीलाई दिइएको थियो। सम्झौता कात्तिक २०८१ मा भएको थियो, जसअनुसार कम्पनीले वैशाख २०८२ भित्र खाल्डाखुल्डी पुर्नुपर्ने थियो। सम्झौतामा एक करोड २४ लाख रुपैयाँको रकम तोकिएको थियो। तर, यो योजना समयमै सम्पन्न हुने नाममा छैन। साउन महिनाको दोस्रो सातासम्म आइपुग्दा पनि सडकका खाल्डाखुल्डी यथावत छन्। कतै खाल्डा माटोले भरिएका छन्, जसले पानी पर्दा दलदलजस्तै अवस्था बनाउँछ। कतै त ठूला खाल्डो खुलेर सडकको एकतर्फको लेन नै बन्दजस्तै बनाइएको छ। यस्ता परिस्थितिमा यात्रु, चालक र पैदल यात्रु तीनैजना जोखिममा छन्।सडक डिभिजन कार्यालय, नेपालगन्जले पाँचदेखि सातपटक चेतावनीपत्रसमेत पठाइसकेको छ। तर निर्माण कम्पनीले बेवास्ता गरिरहेको देखिन्छ। डिभिजन प्रमुख निरज शाक्य भन्छन्, ‘हामीले बारम्बार अनुरोध गर्यौं। चेतावनीपत्र पनि पठायौं। अहिले हर्जाना मात्र तिराइरहेका छौं।’ शाक्यका अनुसार निर्माण कम्पनीले अहिलेसम्म कुल लागतको ०.०५ प्रतिशत मात्र दैनिक हर्जाना तिरेको छ। तर, नागरिकको पीडा र जोखिमलाई कुनै मौद्रिक सन्तुलनले मापन गर्न सक्दैन। सडक मर्मत हुन नसक्दा व्यवसाय, शिक्षा, स्वास्थ्य, आपतकालीन सेवा सबै प्रभावित भएका छन्।यो अवस्था नियमनकारी निकायको कार्यशैलीमाथि प्रश्न खडा गर्छ। किन समयमै काम सम्पन्न गराउन दबाब सिर्जना गरिएको छैन? नागरिकका आँखै अगाडि अलपत्र सडक हेरेर न त सरोकारवाला बोल्छन्, न त जनप्रतिनिधि दबाब दिन्छन्। सडक निर्माणमा देखिएको यो लापरवाही केवल भौतिक संरचनाको समस्या होइन, यो नागरिक सुरक्षामाथिको गम्भीर हमला भएको स्थानीय बताउँछन्।राज्यले नागरिकका लागि सुरक्षित, सहज र समयमै सम्पन्न हुने पूर्वाधार उपलब्ध गराउनु पर्छ भन्ने संवैधानिक दायित्वमाथि प्रहार भएको मोटरसाइकल चालक रमेश गौतम बताउँछन्। ‘योजना विफलताको नतिजा केवल आर्थिक हानि मात्र होइन, मानवीय क्षति पनि हो। सरोज मरासिनीको मृत्युले त्यो कुरालाई प्रत्यक्ष देखाएको छ,’ उनले भने, ‘उनको मृत्युले न त निर्माण कम्पनीलाई झट्का दिएको छ, न त नियमनकारी निकायलाई नै झकझकाएको छ।’यो अवस्थाले दूरदराजका योजनाको अवस्था झनै भयावह हुनसक्ने संकेत भएको स्थानीय जगदिश सोनीले बताए। ‘जहाँ आँखा पुग्दैन, पत्रकार पुग्दैन, त्यहाँका योजना कति अलपत्र छन् होला भन्ने अनुमान गर्न कठिन छैन,’ उनले भने।सरोज मरासिनीको मृत्यु केवल एउटा दुर्घटना होइन, यो हाम्रो पूर्वाधार प्रणाली, निर्माण प्रक्रिया र नियमन संयन्त्रको असफलताको चिरफार गर्ने अवसर हो। योजनाको ढिलाइमा सरोकारवाला मौन रहनु भनेको अप्रत्यक्ष रुपमा नागरिकको पीडामा साथ दिनु हो। अब समय आएको छ, नियमनकारी निकायले कडा निर्णय लिने, निर्माण कम्पनीलाई जवाफदेही बनाउने, राजनीतिक नेतृत्वले स्वार्थभन्दा माथि उठेर जनताको पीडा बुझ्ने र नागरिक समाजले आफ्नो आवाज बुलन्द बनाउने। यदि आज सुधार भएन भने, भोलि पनि अर्को सरोज मरासिनी सडकमा ढल्नेछ, अनि हामी फेरि पनि लेख्नेछौं, ‘सामान्य यात्रा, असामान्य अन्त्य।’