मासिक कथावाचन कार्यक्रमको पचीसौँ शृङ्खला सम्पन्न - sahityapost.com
काठमाडौँ । प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजना हुँदै आएको मासिक कथावाचन कार्यक्रमको पचीसौँ शृङ्खला मिति २०८२ मङ्सिर २६ गते शुक्रबार सम्पन्न भएको छ। साहित्यकारद्वय पुष्कर लोहनी र चन्द्रप्रसाद भट्टराईको परिकल्पनामा २०८० साउनदेखि सुरु भएको यस कार्यक्रमले निरन्तरता पाउँदै आएको छ। कार्यक्रमको सुरुवात दिवङ्गत स्रष्टाको सम्मानस्वरूप कथा वाचन गरेर गरिने परम्पराअनुसार यस पटक ऐतिहासिक साहित्यिक पत्रिका शारदा (वर्ष ८, सङ्ख्या ८–१९९९) मा प्रकाशित दिवङ्गत स्रष्टा केशवराज पिँडालीको कथा ‘परदेशी’ कथाकार इन्दिरा प्रसाईंले वाचन गर्नुभयो। त्यसपछि विभिन्न दशकमा प्रकाशित कथाहरू वाचन गरियो। कथाकार शैलेन्द्र साकारले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा २०५५ मा प्रकाशित आफ्नो कथासङ्ग्रह रामायण र अरू कथाहरू बाट ‘रामायण’ शीर्षकको कथा वाचन गर्नुभयो। त्यस्तै, कथाकार इल्या भट्टराईले साझा प्रकाशनद्वारा २०६३ मा प्रकाशित कथासङ्ग्रह निःशब्द प्रश्नहरू बाट ‘उसको मन परिवर्तन नहोस्’ शीर्षकको कथा प्रस्तुत गर्नुभयो। कथाकार प्रमोद प्याकुरेलले हिमाल खबरपत्रिका (साहित्य विशेष) मा २०७६ सालमा प्रकाशित ‘अनिँदो हिमाल’ शीर्षकको कथा वाचन गर्नुभयो। वाचन गरिएका कथामाथि समीक्षक अनिता कोइरालाले टिप्पणी गर्नुभएको थियो। उहाँले शैलेन्द्र साकार र इल्या भट्टराईका कथामाथि संयुक्त रूपमा तथा प्रमोद प्याकुरेलको कथामाथि अलग्गै समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभयो। कार्यक्रमको अन्त्यमा अभियानका परिकल्पनाकार पुष्कर लोहनीले यस प्रकारका कथावाचन कार्यक्रमको आवश्यकता र महत्वबारे संक्षिप्त धारणा राख्दै अहिलेसम्म प्राप्त सफलताप्रति सन्तोष व्यक्त गर्नुभयो। साथै, कथाकार विजयबहादुर मल्लको शतवार्षिकीका अवसरमा आगामी माघ महिनाको कार्यक्रम उहाँका कथामा केन्द्रित हुने जानकारी पनि गराउनुभयो। कार्यक्रमको सञ्चालन आख्यानकार शुकदेव उपाध्यायले गर्नुभएको थियो। यो मासिक कार्यक्रम आरम्भदेखि नै साहित्यकार पुष्कर लोहनीको निवासस्थित सभाकक्ष, डिल्लीबजार–घट्टेकुलो, काठमाडौँमा हुँदै आएको छ। विसं २०७९ भित्र प्रकाशित आफ्ना पूर्वप्रकाशित कथा वाचन गर्न इच्छुक स्रष्टाहरूले अग्रिम रूपमा नाम दर्ता गराउन सक्ने आयोजकले जनाएको छ। The post मासिक कथावाचन कार्यक्रमको पचीसौँ शृङ्खला सम्पन्न appeared first on साहित्यपोस्ट.