Redirecting...

राजनीतिक दल वा निर्वाचन प्रतिनिधिले अब सवारीसाधनको प्रयोग गर्न अनुमति लिनुपर्ने - kendrabindu.com

राजनीतिक दल वा निर्वाचन प्रतिनिधिले अब सवारीसाधनको प्रयोग गर्न अनुमति लिनुपर्ने - kendrabindu.com
Source: kend

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले सवारीसाधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनिवार्य अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ । आयोगद्वारा आज जारी गरेको ६४ बुँदे निर्देशनमा एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारीसाधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने उल्लेख गरिएको छ । निर्वाचन अधिकृतले अनुमति दिएको सवारीसाधनबाहेक अन्य कुनै किसिमको साधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न नहुने पनि आयोगको निर्देशन छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गरेकाे विज्ञप्तिमा मतदातालाई मतदान गर्नबाट वञ्चित गर्ने उद्देश्यले मतदाता परिचयपत्र कब्जा गरी राख्न, बिगार्न वा खरिद गर्न, मतदान अधिकृतको स्वीकृतिविना निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएको मतपत्र, मतपेटिका वा अन्य सामग्री निर्वाचनमा प्रयोग हुन नदिन मतदान केन्द्रबाट बाहिर वा अन्यत्र कतै लैजान नहुने विषयमा आयोगले ध्यानाकर्षण गराएको छ । “निर्वाचनमा संलग्न कर्मचारीले टाँसेको वा टाँस्न लगाएको निर्वाचनसम्बन्धी कुनै विवरण, सूचना, सूची वा अन्य कुनै कागजातमा कुनै व्यहोरा थप्न, केरमेट गर्न, सच्याउन, हटाउन वा त्यस्तो कागजात च्यात्न वा कुनै किसिमले बिगार्न, नोक्सान गर्न वा नष्ट गर्न वा त्यस्तो कार्य गर्न लगाउन हुँदैन”, विज्ञप्तिमा भनिएको छ,“मतपत्र नष्ट गर्न, मतपत्रमा लागेको निर्वाचन अधिकृत वा मतदान अधिकृतको सही वा छाप वा मतपत्रमा अङ्कित कुनै चिन्ह वा सङ्केत मेट्न, केर्न, सच्याउन, किर्ते गर्न, बिगार्न वा नष्ट गर्न वा अन्य कुनै किसिमले मतपत्रमा नोक्सान पुर्याउन वा दुरूपयोग नगर्न वा नगराउन स्पष्ट निर्देशन छ ।” यस्तै, नक्कली मतपत्र तयार गर्न वा त्यस्तो मतपत्र ओसारपसार गर्न वा मतपत्र खरिद बिक्री गर्न नहुने, प्रचलित सङ्घीय कानुन बमोजिम मत दिन पाउने अधिकारविना कुनै मतदान गर्ने, अर्को मतदाताको मतपत्र बुझिलिने वा अर्काको नामबाट मतदान गर्न वा एउटै निर्वाचनका लागि एकभन्दा बढी मतदान गर्न, मतपत्रमा मत सङ्केत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत सङ्केत गर्ने स्थलमा मत सङ्केत नगरी त्यसभन्दा बाहिर गई प्रचलित सङ्घीय कानुन वा आयोगले तोकेको प्रक्रिया उल्लङ्घन गर्न, मत सङ्केत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक नगर्न भनिएको छ । यसैगरी मतपत्रबाहेक अन्य कुनै वस्तु मतपेटिकाभित्र खसाल्न वा राख्न र मतदाताले मतदान गरी मतपेटिकाभित्र खसालेको मतपत्र बिगार्न वा नष्ट गर्न वा नष्ट गराउने कुनै वस्तु वा पदार्थ मतपेटिकाभित्र खसाल्न वा राख्न नहुनेतर्फ पनि आयोगले सचेत गराएको छ । मतदातालाई मतदानस्थलमा प्रवेश गर्न नदिन गौँडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन नहुने, मतदानको दिन मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी बाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नहुने, उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि वा आयोगबाट अनुमति प्राप्त व्यक्ति बाहेक अन्य कुनै पनि व्यक्ति मतगणनास्थलमा प्रवेश गर्न सचेत गराइएको छ । साथै, मतपत्रमा मतदाताले सङ्केत गरेको मत वा तत् सम्बन्धमा आफूलाई जानकारी रहेको वा हुन आएको अन्य कुनै कुरा कसैलाई भन्न, लेख्न, प्रकट गर्न वा प्रकाश गर्न नहुने पनि आयोगले स्पष्ट पारेको छ । यसैगरी मतगणना भइरहेको अवस्थामा मतपेटिका वा मतपत्र वा निर्वाचनसम्बन्धी अन्य कुनै पनि कागजपत्र बल प्रयोग गरी वा नगरी खोस्न, लुट्न, बिगार्न वा कुनै किसिमले नोक्सान गर्न वा निर्वाचन अधिकृतको अनुमतिविना मतगणना स्थलबाट अन्यत्र लैजान नहुने पनि आयोगले जनाएको छ । मतदान केन्द्र वा मतगणनास्थल र त्यसको वरिपरि कुनै प्रकारको विस्फोटक पदार्थ वा रासायनिक वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी, बन्दुक, पेस्तोल वा यस्तै प्रकारका अन्य हातहतियार लिएर हिँड्न प्रदर्शन गर्न वा प्रयोग गर्न गराउन पनि आयोगले निर्देशन दिएको छ ।